शनिवार, भाद्र ९ २०८०
नेपाल वाइड
खोटाङ, ९ भदौ । जिल्ला प्रहरी कार्यालय खोटाङमा कार्यरत प्रहरी सहायक निरिक्षक सृजना राई सहित दुई प्रहरी प्रदेशभरीमै साउन महिनाको ‘बेष्ट पोलिस अफ द मन्थ’बाट पुरस्कृत भएका छन् ।
बिभागीय मुल्य, मान्यता, आदेश र निर्देशनको पालना गरी उच्च मनोवलका साथ कर्तब्य निर्वाह गर्ने प्रहरीलाई कोशी प्रदेश प्रहरी कार्यालय बिराटनगरले हरेक महिना प्रदान गर्ने पुरस्कारबाट साउन महिना प्रहरी सहायक निरिक्षक सृजना राई र प्रदेश प्रहरी कार्यालय प्रादेशिक अनुसन्धान समुह (पिआइटी)मा कार्यरत प्रहरी सहायक निरिक्षक किरण मगर पुरस्कृत भएका हुन् ।
२०७८ पुस ८ गते हराएका खोटेहाङ गाउँपालिका–३ का १६ वर्षीय राजेश राईलाई खोजतलास गरेर भारतबाट नेपाल ल्याउने वातावरण निर्माण गरेकामा प्रहरी सहायक निरिक्षक राईलाई सर्वोत्कृष्ट प्रहरी घोषित गरेर पुरस्कृत गरिएको प्रदेश प्रहरी कार्यालय बिराटनगरले जनाएको छ ।
बेपत्ता भएका बालकलाई भारतको जम्मुकाश्मिर उदमपुरको पलास बाल आश्रममा रहेको सुचनापछि प्रहरी सहायक निरिक्षक राईले सिडब्लुसी नाम संस्थासँग समन्वय गरी नेपाल ल्याउने वातावरण बनाएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए ।
यस्तै, धरानको जंगल एरियामा श्रृंखलाबद्ध रुपमा भएको लुटपाट र साउन ५ गते सेउती पुल नजिक लुटपाट गर्ने क्रममा गोली प्रहार गर्ने समुहको सुक्ष्म अनुसन्धान गरी घटनामा संग्लग्नहरुलाई पक्राउ गर्न सफल भएकामा प्रहरी सहायक निरीक्षक मगर पुरस्कृत भएका हुन् ।
प्रदेश प्रहरी कार्यालयले बिगतदेखि नै प्रदेशभरीबाट उत्कृष्ट कार्य गर्ने प्रहरीलाई छनौट गरी प्रत्येक महिना सर्वोत्कृष्ट प्रहरी घोषित गरी पुरस्कृत गर्दै आइरहेको छ ।