सोमवार, भाद्र ११ २०८०
दमन राई
खोटाङ, ११ भदौ । खोटाङको केपिलासगढी गाउँपालिका–३ बासपानीकी ३१ वर्षीय पुष्पा बिकको बिवाहसँगै पढाई रोकियो । राष्ट्रिय माबि बासपानीबाट २०६७ सालमा एसएलसि उत्तिर्ण गरेकी पुष्पाले २०६८ मा गाउँमै विवाह गरेकी थिईन् ।
दुई बच्चालाई हुर्काएपछि पुष्पाले पुःन स्कुले जीवनलाई निरन्तरता दिएकी छन् । गाउँपालिकाले सुरु गरेको बुहारी शिक्षा कार्यक्रम अन्तरगत पुष्पा पुथ्बी माबि बाक्सिलामा कक्षा ११ मा भर्ना भएकी छन् । उनका छोरी रोजनी राष्ट्रिय माबिमा कक्षा ५ मा र छोरा नेल्सन कक्षा ४ मा अध्ययनरत छन् ।
श्रीमान बैदेसिक रोजगारी सिलसिलामा साउदीमा छन् । “बीचैमा पढाई छाडियो । ढिलै भए पनि पढौं भन्ने हो,” पुष्पाले भनिन्, “अहिले पढ्नलाई गाउँपालिकाले सुविधा पनि दिएको छ ।”
यस्तै, केपिलासगढी गाउँपालिका–४ बाक्सिलाकी ३२ वर्षीय लक्ष्मी पौडेलको कक्षा १२ उत्तिर्ण नहुँदै पढाईमा पूर्ण बिराम लागेको थियो । २०६३ सालमा विवाह गरेपनि लक्ष्मीले पढाईलाई निरन्तरता दिँदै २०६५ सालमा एसएलसि गरेकी थिईन् ।
तर इनरुवा बसाई झरेपछि र बच्चा जन्मिएपछि कक्षा १२ को एक विषय ‘ब्याक’ लागेको थियो । उनै लक्ष्मी बुहारी शिक्षा कार्यक्रम अन्तरगत पृथ्बी माबिमा कक्षा ११ मा भर्ना भएकी छन् । “पास भएँ भन्ने लागेको थियो । पछि बुझ्दा ब्याक रहेछ,” लक्ष्मीले भनिन्, “पढ्ने रहर पुरा भएको थिएन । हातमा हतियार बनाउँ भनेर पुःन पढ्न थालेकी हुँ ।”
हाल बाक्सिलामै बस्दैआएकी लक्ष्मी छोरा लजित बस्नेत र लावन बस्नेतलाई स्कुल पठाएर आफु कक्षामा पुग्ने गरेकी छन् । छोरा लजित कक्षा ६ र लावन युकेजीमा सनसाइन बोर्डिङ स्कुलमा पढ्छन् ।
बासपानीकै २५ वर्षीय शान्तिकला राई पृथ्बी माबिमा कक्षा ११ मा भर्ना भएकी छन् । २०७३ सालमा विवाह वन्धनमा बाँधिएकी शान्तिकलाका ५ वर्षका छोरा गाउँकै कालिका आविमा कक्षा १ मा पढ्छन् । काखमा सात महिनाको छोरा हुर्काइरहेकी छन् । शान्तिकला एसएलसि गरेकै साल विवाह बन्धनमा बाँधिएकी थिईन् ।
आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम अनुसार केपिलासगढीले बुहारी शिक्षा कार्यक्रम सुरु गरेपछि ७ जना बुहारीले पुःन विद्यार्थी जीवन सुरु गरेका छन् । गाउँपालिकाका अनुसार २०६५ सालमा सिम्ले माबि जलेश्वरीबाट कक्षा ८ उत्तिर्ण गरेकी बुहारी निरा बिक र सिद्ध आबि बासपानीबाट २०७९ सालमा कक्षा ८ उत्तिर्ण गरेकी सर्मिला राई पृथ्बी माबिमा कक्षा ९ मा भर्ना भएकी छन् ।
यस्तै, २०७८ सालमा विवाह गरेकी पुजा राई राष्ट्रिय माबि बासपानी र दिपा खड्का राष्ट्रिय माबि बासपानीमा भर्ना भएको शिक्षा अधिकृत प्रमुख सुरेन्द्र खनालले बताए । पढ्न मन हुँदाहुँदै वैवाहिक बन्धनमा बाँधिएका बुहारीलाई लक्षित गर्दै गाउँपालिकाले चालु आर्थिक वर्षदेखि बुहारीका लागि शिक्षा कार्यक्रम सञ्चालन गरेको हो ।
सात वडा रहेको गाउँपालिकाले बुहारीलाई कक्षा १२ सम्म निःशुल्क अध्ययन गर्ने नीति तथा कार्यक्रम कार्यान्वयनमा ल्याएको हो । घरमा ‘आमा शिक्षित भए परिवार शिक्षित हुन्छ’ भन्ने भनाई अनुसार बुहारीलाई शिक्षित बनाउने, क्षमता अभिवृद्धिमा सहयोग पुर्याउने र आत्मनिर्भर बन्न प्रेरित गर्ने योजना अन्तरगत बुहारी शिक्षा कार्यक्रम ल्याइएको गाउँपालिका अध्यक्ष समिर राई बताउँछन् ।
पढ्ने बुहारीलाई कक्षा ९ देखि कक्षा १२ सम्म नाम लेखाउन, फर्म भर्न, पुस्तक, पोशाक, स्टेशनरी लगायतमा लाग्ने खर्च गाउँपालिकाले उपलव्ध गराउने कार्यविधिमा उल्लेख छ ।
बुहारी शिक्षामा समेटिन इच्छुक बुहारीले कम्तीमा कक्षा ८ उत्तिर्ण गरेको हुनुपर्ने छ । “आमा शिक्षित भएको परिवार पनि शिक्षित हुन्छ । महिला हरेक हिसावले आत्मनिर्भर बन्नुपर्छ तव मात्रै समाजको परिवर्तन सम्भव छ,” अध्यक्ष राईले भने, “बुहारी शिक्षा कार्यक्रमबाट महिलाको क्षमता वृद्धि हुनेछ ।
कक्षा १२ पास गरेपछि जागिर खोज्लान् वा उच्च शिक्षाका लागि आफै अघि बढ्लान् । समाजमा अगुवाई गर्लान् । खाली पढ्छु भन्ने इच्छाशक्ती भए पुग्छ । त्यस्ता बुहारीलाई पढ्न कुनै खर्च लाग्ने छैन । मात्र पढिदिन पर्यो ।”