Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    टाँडमाथि तरकारी खेती गर्छन् किशोर

    टाँडमाथि तरकारी खेती गर्छन् किशोर


    • बिहिवार, भाद्र १४ २०८०

    • नेपाल वाइड


    टाँडमाथि तरकारी खेती गर्छन् किशोर
    व्यवसायीक कृषि कर्ममा रमिरहेका किशोर राई । तस्बीर : दमन राई

    खोटाङ, १४ भदौ । सामान्यतः तरकारी खेती जमिनमा गरिन्छ । तर, खोटाङको ऐसेलुखर्क गाउँपालिका–३ ऐसेलुखर्कका किसान किशोर राईले टाँडमाथि तरकारी खेती तथा नर्सरी लगाएका छन् ।

    काठबाट बनाइएको एक तले ग्रिनहाउस टनेलको टाँडमा गोलबेँडा, फर्सी, अकबरे खुर्सानी लगायतका तरकारी फलाउने गरेका छन् । टाँडमा तरकारीको नर्सरी उत्पादन गर्ने तथा मुनिको तलालाई हल र स्टोरका रुपमा प्रयोग गर्ने गरी ग्रिनहाउस टनेल निर्माण गरेको राई बताउँछन् । हाइटेकको विकल्पमा काठ र प्लाष्टिक टनेल प्रयोग गरेर ग्रिनहाउस बनाइएको हो ।

    ग्रिनहाउसमाथिका तीन वटा टाँडे नर्सरीमा काउली, बन्दा, फर्सी, प्याज, अकबरे खुर्सानी, भान्टा लगायतका तरकारीको नर्सरी उत्पादन गर्ने गरिएको छ । राईले टाँडमा माटोको ड्याङ बनाएर नर्सरीसँगै तरकारी उत्पादन गर्दै आएका छन् ।

    सिजन अनुसार तरकारीको बेर्ना उत्पादन गर्ने गरिएको राई बताउँछन् । “हाइटेकको विकल्पमा टाँड खेती गर्न सकिन्छ । बिरुवालाई न्यानो कायम गरिदिन्छ । जाडो वा गर्मीले कुनै फरक पर्दैन,” राईले भने, “खुला जमिनमाभन्दा टाँडमाथिको प्लाष्टिक टनेलमा बिरुवा सुरक्षित हुने र राम्रो सप्रने रहेछ । त्यही भएर टाँडमा नर्सरी उत्पादन गर्नेगरेको छु ।”

    कृषिमा जिल्लामा कहलिएका राईले आर्थिक वर्ष २०७१ सालमा नायुमा कृषि तथा वन नर्सरी व्यवस्थापन केन्द्र दर्ता गरेर श्रीमती कमला राईसँग व्यवसायीक रुपमा कृषि कर्म गर्दैआएका छन् ।

    घर वरपरका जग्गामा तरकारी सँगै उनले किबी, अलैंची र वन नर्सरी लगाएका छन् । तरकारीको नर्सरी, तरकारी र फलफुलबाट वार्षिक पाँचदेखि सात लाख आम्दानी हुने राईले बताए । तरकारी खेती, बेर्ना उत्पादन, पशु तथा माछा पालन लगायतका औधोगिक काम गर्ने योजना अन्तरगत राईले घरभन्दा केहीमाथि टाँड खेतीको सफल परिक्षण गरेका हुन् ।

    कृषिको औधोगिक विकासका लागि चार वर्षअघि ६५ रोपनी जग्गा लिजमा लिएर काम सुरु गरे पनि कोभिड–१९ को महामारीका कारण रोकिएको राईले बताए । ऐसेलुखर्क बजार र हरेक हाटमा किशोरकै फर्ममा उत्पादित नर्सरी तथा तरकारी पुग्ने गरेको छ । सप्रिएको हुनाले बजारमा उनको नर्सरी र तरकारीको ‘डिमाण्ड’ हुने गरेको छ ।

    ऐसेलुखर्कस्थित नेपाली सेना र प्रहरीले उनकै तरकारी ठेगेर लैजाने गरेका छन् । धेरैजसो तरकारी ग्राहक घरैमा आउने गरेका छन् । हाटका दिन राई दम्पत्ती नर्सरी तथा तरकारी बोकेर बजार पुग्ने गरेका छन् । आमाको पदचाप पछ्याउँदै खेतीपातीमा आमा सञ्चहिरा राईले गर्दैआएको तरकारी खेतीलाई किशोरले थप बृहत बनाएका हुन् ।

    जिल्लाको कृषि क्षेत्रको विकासमा योगदान पुर्‍याएकामा तत्कालिन कृषि विकास कार्यालयले २०६७ सालमा दिक्तेलमा आयोजित जिल्ला स्तरिय कृषक दिवस तथा प्रतियोगीतात्मक कृषि मेला प्रदर्शनीको अवसरमा सञ्चहिरालाई नगद तीन हजार सहित सम्मान गरेको थियो ।

    आमाको पदचाप पछ्याउँदै

    किशोरले २०६६ सालदेखि बगानमा फलफुल र नगदे बाली थप गरे । अलैंची, अम्रिसो, सुन्तला, कागती, निभुवा, अनार, लप्सी, रिठ्ठा लगायतका फलफूल तथा डाले घाँसको बेर्ना उत्पादन गरेर बिक्री गरे ।

    २०७१ देखि २०७४ सम्म तरकारीसँगै अलैंचीलाई प्राथमिकता दिएका उनले त्यस यता किवीलाई प्राथमिकता दिएका छन् । ३२ रोपनी जग्गामा ३५० बोट किबी हुर्काइसकेका छन् । किबी खेतीलाई विस्तार गर्दै कम्तीमा ४० रोपनी पुर्‍याउने राईको योजना छ ।

    किबीको बोट अड्याउन तथा असिनापानी र चिसोबाट बचाउनका लागि राईले आफ्नै डिजाईनमा पिलर गाडेर छाना हाल्न मिल्ने संरचना बनाएका छन् । ‘क्षती पछिको खेती’ पैसा कमाउने सपनामा किशोरले दलालको साथ लागेर दुबई, कतार, थाईल्याण्ड, ईरानलगायतका दर्जन बिदेश चाहारे ।

    तर, आम्दानीको सट्टा घरमा भएका सम्पत्ती समेत सकिए । यद्यपी, बिदेसी मरुभूमीमा खेती लगाएको देखेका राईले आफ्नो गाउँ सम्झे, ‘श्रम गरे गाउँमै सम्भावना छ’ भन्ने शिक्षा लिए । र, बिदेशको मोह त्यागेर २०६३ सालमा घर फर्किएर आफ्नै बगानमा आमासँगै पसिना बगाउन थालेका हुन् । 

    2.jpg

    1.jpg

    4.jpg

    5.png

    व्यवसायीक कृषि कर्ममा रमिरहेका किशोर राई । तस्बीरहरुः दमन राई

    सम्बन्धित समाचार