Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    रावाबेँसीका राडीपाखी व्यवसायी महिलालाई चर्खा र कोरेसो वितरण

    रावाबेँसीका राडीपाखी व्यवसायी महिलालाई चर्खा र कोरेसो वितरण


    • शुक्रवार, भाद्र १५ २०८०

    • नेपाल वाइड


    रावाबेँसीका राडीपाखी व्यवसायी महिलालाई चर्खा र कोरेसो वितरण
    गुरुङ समुदायका महिलालाई चर्खा र कोरेसो वितरण गर्दै रावाबेँसी गाउँपालिकाका उपाध्यक्ष कौशिला गुरुङ । तस्बिर: प्रेम श्रेष्ठ

    खोटाङ, १५ भदौ । खोटाङको रावाबेँसी गाउँपालिकाले राडीपाखी पेशा अपनाउँदै आएका गुरुङ समुदायका महिलालाई चर्खा र कोरेसो वितरण गरेको छ । पुर्खौली पेशा राडीपाखी व्यवसाय गर्दैआएका गुरुङ महिलाको व्यवसायीक विकासमा टेवा पुर्‍याउने लक्ष्यका साथ गाउँपालिकाले पाँच लाख बराबरको ५० थान चर्खा र १७० थान कोरेसो वितरण गरेको हो ।

    भेडाको उनबाट राडी, जमट, चकटी, ब्रुसकोट, लुकुनी, घुमराडी, दोचा लगायतका सामान बुन्ने क्रममा सामग्रीको अभाव झेलिरहेका महिलालाई चर्खा र कोरेसो वितरण गरिएको रावाबेँसी गाउँपालिकाका उपाध्यक्ष कौशिला गुरुङले बताईन् ।

    रावाबेँसी गाउँपालिका–१ कुभिन्डे गोपिनीका राडीपाखी व्यवसायी महिलालाई पाँच थान चर्खा र १२ थान कोरेसो, रावाबेँसी गाउँपालिका–४ डुम्रेधारापानीका महिलालाई छ थान चर्खा र १२ थान कोरेसो, रावाबेँसी गाउँपालिका–५ दुवेकोलका महिलालाई नौ थान चर्खा र २६ थान कोरेसो र रावाबेँसी गाउँपालिका–६ हौंचुरका राडीपाखी व्यवसायी महिलालाई ३० थान चर्खा र ४३ थान कोरेसो वितरण गरिएको छ ।

    गुरुङ समुदायको पुर्खौली पेशाको संरक्षण एबं व्यवसायीक विकासमा सघाउ पुर्याउनका लागि गाउँपालिकाले चर्खा र उन कोर्ने कोरेसो वितरण गरेको हो । गाउँपालिकामा राडीपाखीको काम गरिरहेका १७० महिला व्यवसायीलाई एक/एक थान कोरेसो उपलव्ध गराइएको छ ।

    चर्खा भने दुई तीन जनाले सामुहिक रुपमा चलाउन पाउनेगरी वितरण गरिएको उपाध्यक्ष गुरुङले बताईन् । राडीपाखीको काम गरिरहेका राई, भुजेल, मगर लगायतका समुदायका महिलालाई पनि चर्खा र कोरेसो वितरण गरिएको छ ।

    बुधबार हौंचुरको पोखरी र चाँपखर्क तथा कुभिन्डे गोपिनीका गुरुङ समुदायका राडीपाखी व्यवसायी महिलालाई चर्खा र कोरेसो वितरण गरिएको थियो । शुक्रबार डुम्रेधारापानी र दुबेकोलका राडीपाखी व्यवसायीलाई चर्खा र कोरेसो वितरण गरिएको गाउँपालिकाले जनाएको छ ।

    विशेषगरी गुरुङ समुदायका महिलाले राडीपाखी बुन्ने काम गर्दैआएका छन् । कतिपय गुरुङ परिवारले राडीपाखी बुनेर आएको आम्दानीबाटै घरको गर्जो टार्ने गरेका छन् ।

    राडीपाखी व्यवसाय गुरुङ समुदायको नगद हात लाग्ने मूख्य पेशा हो । जिल्लाको हौंचुर पोखरी र चापखर्क, नेर्पा, दिम्मा, बादुङ, बुईपा, साब्रु, बाक्सिला लगायतका स्थानमा बसोबास गर्ने गुरुङ समुदायले पुर्खादेखि चल्दैआएको पेशा अपनाउँदै आएका छन् ।

    सम्बन्धित समाचार