शनिवार, भाद्र १६ २०८०
नेपाल वाइड
खोटाङ, १६ भदौ । खोटाङमा असोज तेश्रो साता ‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला कला प्रदर्शनी’ गर्ने तयारी गरिएको छ । जिल्लाको धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको आयोजनामा असोज १७ गतेदेखि असोज २१ गतेसम्म ‘मुन्धुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला कला प्रदर्शनी’को तयारी गरिएको हो ।
खोटाङको कला, संस्कृति र पर्यटनको प्रवद्र्धनका लागि १० वटै स्थानीय तहमा भएका पाखा, पखेरा, जंगल, खोल्साखाल्सी, खोँच, लेकबेँसीका साथै प्राकृतिक, साँस्कृतिक, धार्मिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीको सुन्दर पक्षहरुको प्रचारका लागि लाइभ चित्रकला तथा प्रदर्शनी आयोजना गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए ।
लाइभ चित्रकला कार्यशाला एबं प्रदर्शनी अन्तरगत स्वदेश तथा विदेशका गरी ४० जना कलाकारले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायत जिल्लाका अन्य महत्वपूर्ण ठाउँको दृश्यालाई क्यानभासमा प्रत्यक्ष उतार्ने छन् ।
‘जिल्लाको सबै नगरपालिका तथा गाउँपालिकाको महत्व झल्किने स्थान तथा क्रियाकलाप सम्वन्धी प्रत्यक्ष चित्रकला तथा प्रदर्शनी गर्ने तयारी गरेका छौँ,’ मेयर भट्टराईले भने, ‘प्रत्यक्ष चित्रकला, संस्कृति र पर्यटनको माध्यमबाट खोटाङको पहिचान देश विदेशमा गराएर पर्यटन प्रवद्र्धन गर्ने हाम्रो लक्ष्य हो ।’
लाइभ चित्रकला कार्यशाला तथा प्रदर्शनीले खोटाङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थानहरुलाई राष्ट्रिय अन्तर्राष्ट्रिय रुपमा परिचित गराउन र त्यी स्थानको महत्व, संस्कृति, सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा टेवा पुर्याउने दावी गरिएको छ ।
१८ लाख खर्चमा हुने लाइभ चित्रकला कार्यशाला एबं प्रदर्शनीको अवधिमा स्वदेश तथा विदेशका कलाकारले करिब सयको हाराहारीमा क्यानभास पेन्टिङ तयार पार्ने आयोजकले जनाएको छ । कलाकारले उतारेका क्यानभास पेन्टिङलाई राखेर असोज २० गते दिक्तेलमा चित्रकला प्रदर्शनी सहित स्थानीय परिकारको स्टल, साँस्कृतिक झाँकी, नृत्य प्रदर्शन गर्ने तयारी गरिएको छ ।
कलाकारले क्यानभासमा उतारेका लाइभ चित्रकलालाई केही महिनापछि काठमाडौं आर्ट ग्यालरीमा लगेर उच्च पदस्थ व्यक्तिमार्फत उद्घाटन गरेर प्रदर्शनीको योजना बनाइएको मेयर भट्टराईले बताए ।
लाइभ चित्रकला कार्यशाला एबं प्रदर्शनीको तयारीका बारेमा नगरपालिकाले शनिबार विभिन्न पक्षसँग छलफल गर्दै राय संकलन गरेको छ । चित्रकला कार्यशाला एबं प्रदर्शनीका अवधिमा तयार पारिएका क्यानभासलाई संग्रहालय बनाएर राखिने मेयर भट्टराईले बताए ।
चित्रकला कार्यशालामा जिल्लाका छात्र/छात्रालाई पनि सहभागी गराइने छ । गत चैत १९ गते बसेको नगर कार्यपालिकाको बैठकले प्रत्यक्ष चित्रकला कार्यशाला एवं प्रदर्शनी गर्ने निर्णय गरेको थियो ।
लाइभ चित्रकला कार्यशाला एबं प्रदर्शनीका लागि दिक्तेल रुपाकोट मझुवानगरपालिकाका १५ वडाबाट प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीको परिचय र पर्यटकीय महत्व सहितका तस्बिरहरु प्राथमिकीकरण गरिसकिएको छ । यस्तै, जिल्लाका अन्य नौ स्थानीय तहबाट प्राथमिकीकरण गरेका तस्बीरहरु संकलन भइसकेको छ ।



