शुक्रवार, भाद्र २२ २०८०
नेपाल वाइड
खोटाङ, २२ भदौ । खोटाङका प्रदेश सांसद पाँचकर्ण (पिके) राई पर्यटन, वन तथा वातावरण मन्त्री बनेका छन् । सर्वोच्च अदालतको परमादेशमा ७० दिनपछि पुःन मुख्यमन्त्रीको कुर्सीमा फर्किएका एमाले नेता हिक्मतकुमार कार्की नेतृत्वको मन्त्रीपरिषदमा राईले मन्त्रीको जिम्मेवारी पाएका हुन् ।
संविधानको धारा १६८ को उपधारा ३ अन्तरगत सबैभन्दा ठूलो दलको नेताको हैसियतमा कार्कीले शुक्रबार प्रदेश प्रमुख परशुराम खापुङमार्फत मुख्यमन्त्रीको पद तथा गोपनीयताको शपथ लिएका थिए ।
लगत्तै कार्कीले पाँचकर्ण सहित खानेपानी, सिँचाई तथा उर्जा मन्त्री बनाइएका तिलकुमार मेन्याङ्बो, भौतिक पुर्वाधार विकास मन्त्री बनाइएका एकराज कार्की र सामाजिक विकास मन्त्री सिर्जना राईलाई पद तथा गोपनीयताको शपथ खुवाएका छन् ।
पाँचकर्ण वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार नेकपा (एकीकृत समाजवादी)का बिरवलकाजी राईलाई पछि पार्दै खोटाङ प्रदेशसभा (क)बाट बिजयी भएका थिए ।
कार्की मुख्यमन्त्रीको कुर्सीमा फर्किए पनि बिश्वासको मत पाउने र यही सरकारले निरन्तरता पाउनेमा भने शंसय छ । बिश्वासको मत लिने र सत्तामा पुग्ने खेलले प्रदेश सरकार अस्थिर बनेको छ ।
यसअघि संविधानको धारा १६८ को उपधारा २ अन्तरगत दुई वा दुईभन्दा बढी दलको समर्थनमा उद्धव थापा मुख्यमन्त्री बनेसँगै कार्की मुख्यमन्त्रीबाट बाहिरिएका थिए ।
तर थापाले पाएको बिश्वासको मतलाई सर्बोच्चले भदौ २० गते बदर गर्ने फैसला गरेपछि मुख्यमन्त्री थापा सबैभन्दा ठूलो दलको नेताको हैसियतमा मुख्यमन्त्रीको कुर्सीमा फर्किएका हुन् ।