शनिवार, भाद्र २३ २०८०
दमन राई
खोटाङ, २३ भदौ । पहिरोले विस्थापित भएका खोटाङको जन्तेढुंगा गाउँपालिका–२ बोपुङका चन्द्रबहादुर कार्की दुई वर्षदेखि दाजु बीरबहादुर कार्कीको जग्गामा घर बनाएर बसिरहेका छन् ।
अंशमा परेको १० रोपनी जग्गा स्थानीय ‘वासिराङ’ पहिरोले लगेपछि चन्द्रबहादुर दाजुको जग्गामा सरेर सानो झुप्रो बनाएर बस्न बाध्य बनेका हुन् । बारी लगेको पहिरोले घर पनि तान्न थालेपछि चन्द्रबहादुरको परिवार २०७७/०७८ मा विस्थापित भएका हुन् । “आफ्नो नाममा जग्गा बाँकी रहेन,” चन्द्रबहाहदुरले भने, “अशं सबै पहिरोले लगे ।’
बान्तवा राई भाषामा ‘वासिराङ’ नामले चिनिने पहिरोका कारण सोही ठाउँका रणबहादुर कार्की तीन वर्षदेखि छिमेकी राजन बस्नेतको जग्गामा छाप्रो बनाएर बसिरहेका छन् । पहिरोले तीन रोपनी जग्गा लग्यो ।
क्रमशः घर नजिक पहिरो आएपछि रणबहादुर विस्थापित भएका हुन् । “अहिले बसिरहेको ठाउँ पनि सुरक्षित छैन । तर यहाँ तत्काल पहिरो आइहाल्ने अवस्था नभएकाले त्रास कम छ,” रणबहादुरले भने, “जाउँ भने कहाँ जानु, पैसा छैन । पहिरोले लगे पनि नलगे पनि पर्खेर बस्नै पर्यो ।” यस्तै, बलबहादुर नेपालीको अवस्था उस्तै नाजुक छ ।
२८ रोपनी जग्गा हेर्दाहेर्दै पहिरोमा परिणत भए । भएभरका जग्गा पहिरोले लगेपछि बटिया गरेर आफन्तको घरमा बसिरहेका छन् । घरधनी अन्यत्र बस्ने भएकाले बलबहादुरले बटियामा बस्न पाएका हुन् । “तलबाट पहिरो निस्कँदैछ, माथि पनि पहिरो छ,” बलबहादुरले भने, “माथिबाट पुर्ने हो की, तलबाट लैजाने हो । डरमर्दो छ ।” खोटाङको चर्चित र ठूलो वासिराङ पहिरो पिडितहरुको सूची लामो छ ।

साबिकको बोपुङ–९ मा रहेको बिशाल पहिरोको कारण दर्जनौं घर विस्थापित भइसकेका छन् भने उत्तिकै जोखिममा छन् । सयौं रोपनी खेतीयोग्य जमिन पहिरोमा परिणत भइसकेका छन् ।
सिरानमा साबिकको बोपुङ–८ लाई छोएको पहिरोको उचाई करिब तीन किलोमिटर र चौंडाई डेढ किलोमिटर फराकिलो बनिसकेको छ । हिउँद र वर्षा दुबै याममा चलिरहने भएकाले वासिराङ पहिरो स्थानीयका लागि टाउँको दुखाईको विषय बनेको वडाध्यक्ष मस्तहाङ राई बताउँछन् ।
दायाँ–बायाँ र सिरानमा आकार फैलाउँदै गएको पहिरोले स्थानीय गोपाल राईको सात रोपनी बारी लगिसकेको छ । पहिरोले जमिन चलेका कारण गोपालको परिवार फुटेको घरमा ज्यान मायाँ मारेर बसिरहेका छन् ।
ललितमान राईको आठ रोपनी जग्गा पहिरोले खाइसकेको छ । पहिरो घर नजिक आइपुगेको छ । उनी त्यही पहिरोको डिलमा बसिरहेका छन् । जगतबहादुर राईको १५ रोपनी जग्गा पहिरोमा परिणत भए ।
घर नजिक पहिरो आए पनि उनी सुरक्षित स्थानमा सर्न सकेका छैनन् । उत्तरमान राई, चतुरमान राई, कुमारसिं राई, भिषण राई, अर्जुन राई, जीतबहादुर राई लगायतका स्थानीयको जग्गा पहिरोले कटान गरेको छ ।
उनीहरु पहिरोले टुक्र्याएको बारीको डिलमा बसिरहेका छन् । पहिरो पुछारमा दानबहादुर राई, बुद्धिमान राई, दुर्गा राई, जसबहादुर राई र उत्तरमान राईको खेत क्रमशः पुरिँदै गएको छ । यस्तै, पहलमान दमाई, जमानसिं राईको जग्गा केही समयपछि नै पहिरोले तान्ने जोखिममा छ ।
पहिरोका कारण विजय आधारभुत विद्यालय, सिर्जनात्मक आधारभुत विद्यालय र सामुदायीक स्वास्थ्य इकाई जोखिममा छ । विजय आधारभुत विद्यालय पहिरोभन्दा केहीमाथि थाप्लोमा छ ।
सिर्जनात्मक आधारभुत विद्यालय केही समयपछि पहिरोको जोखिममा पर्दैछ । गोर्खा वेलफेयरमार्फत सञ्चालित छाङछङगे मुहान भएको खानेपानीको पाईप पहिरोले क्षतविक्षत बनाएको छ । अहिले पाईप जमिन बाहिरै लडाएर खानेपानी आपुर्ती गरिएको छ ।
पहिरो फैलनेक्रम नरोकिएपछि बोपुङबाट बसाई सर्नेक्रम बढ्दो छ । पहिरोको पिरले स्थानीय शंकर कार्की छ/सात वर्षअघि बेलटार झरिसकेका छन् । पहिरोले बारी बगायो, घरसम्म पहिरो आएपछि कार्की परिवार बसाई सरेका हुन् ।
जग्गा पहिरोले लगेपछि वर्ष दिनअघि मात्र कर्णबहादुर राई बेलटार बसाई झरेका छन् । सुरेश राईको परिवार २०६५ तिरै उदयपुर झरिसकेका छन् ।
पहिरोले बारी लगे पनि उनको घर अहिले पनि बाँकी छ । पहिरोले पिरले प्रभावित क्षेत्रबाट हरेक वर्ष बसाई सराई भइरहेको वडा सदस्य सुरेन्द्र राई बताउँछन् । बसाई सरेर जान नसक्नेहरु जोखिम मोलेर बसिरहेका छन् ।
सुरुमा एउटै गाउँकारुपमा रहेको छुवाला र हिउराङलाई वासिराङ पहिरोले टुक्र्याएको छ । अहिले हिउराङ–छुवाला आवत–जावत गर्न पहिरोको सिरानबाट वा पुछारमा रहेको बुवाँ खोला पार गर्नुपर्ने बाध्यता छ ।
पहिरोका कारण एक गाउँबाट अर्को गाउँमा पुग्न डेढदेखि दुई घण्टा लाग्ने गरेको स्थानीय बताउँछन् । भरिभराउ गाउँ क्रमशः डाँडातिर सर्दै गएको छ ।
पहिरोबाट घर जग्ग्गा विहिन बनेका बोपुङका पिडितलाई राष्ट्रिय भूमि आयोगमार्फत जग्गा उपलव्ध गराउने पहल गरियो । पहिरो पिडितलाई जग्गा दिलाउनका लागि प्राथमिकतामा राखेर फारम भरेर आवेदन दिन सुचना गरियो । तर उनीहरु जग्गा प्राप्तीका लागि आवेदन दिन तयार भएनन् ।
आफ्नो नामको लालपुर्जा र जग्गा सरकारलाई बुझाउनुपर्ने तर राज्यबाट जग्गा पाउने/नपाउने टुंगो नभएको आशंकामा पहिरो पिडितले आवेदन दिन मन नगरेको राष्ट्रिय भूमि आयोग जिल्ला समिति खोटाङका अध्यक्ष सुरेश राई बताउँछन् । “जग्गा प्राप्त गर्न दश वर्षअघिदेखि ऐलानी पर्ती जग्गा उपभोग गरिरहेको हुनुपर्छ वा आफ्नो जग्गा जमिन काम नलाग्ने भएको कुरा जनाउँदै कार्यपालिकाबाट निर्णय गराएर आएको खण्डमा जग्गा उपलव्ध गराउने तहमा पुग्नुपर्ने हुन्छ,” अध्यक्ष राईले भने, “यसका लागि आफुसँग भएको जग्गा जमिन राज्यलाई हस्तान्तरण गर्नुपर्ने हुन्छ । उहाँहरुलाई हामीसँग भएको जमिन राज्यलाई बुझायौँ तर राज्यबाट जग्गा नपाउँदै आयोग विघटन भयो भने भइरहेको जग्गा पनि गुम्छ भन्ने डर देखियो ।”

२०४१ सालको बाढी पहिरोका बेला सरकारले बोपुङका पहिरो पिडितलाई बर्दिया तारातालमा स्थानान्तरण गर्न प्रस्ताव गरेको थियो तर उनीहरुले अस्वीकार गरेका थिए । पहिरो पिडितको पुःनस्र्थापना वडा वा पालिकाको सामथ्र्यभन्दा बाहिरको काम भएकाले राज्यले सोच्नुपर्ने वडाध्यक्ष राईले बताए ।
स्थानीयका अनुशार करिब दुई सय वर्ष पुरानो पहिरो नेपालकै ठूलो पहिरोमध्येमा पर्छ । टाढा–टाढाबाट समेत देखिने पहिरोको शुरुवातका बिषयमा स्थानीय यकिन छैनन् ।
तर, बिशाल आकार लिएकाले सो पहिरोलाई जिल्लाकै चिसापानी, बराहपोखरी, मौवाबोटे, पौवासेरा, उदयपुरका विभिन्न ठाउँबाट देख्न सकिन्छ । पहिरो केही वर्ष रोकिँदै पुःन फैलने गरेको छ ।
पहिरो रोकिएको बेलामा उम्रिएको उत्तिसको रुख पुःन जाने पहिरोले पुर्ने गरेको छ । निरन्तर चलिरहने पहिरोले कटान गरेको ढुंगा र माटो झरिरहँदा बुवाँ खोला नै थुनिएको छ । पहिरोको पुछारमा रहेको खोलामा ढुंगा माटो थुप्रिँदा ठूलो खहरे बनेको छ ।
वासिराङ पहिरो चर्चित भएकाले बोपुङका स्थानीयले आफुलाई चिनाउन गाउँको नामसँगै ‘वासिराङ’ पहिरोको नाम समेत जोड्ने गरेका छन् । वासिराङ पहिरो देखेका जो कोहीले बोपुङको नामलाई भन्दा पहिरोलाई याद गरिरहने भएकाले ठाउँको नामसँगै पहिरोको नाम जोडिन थालेको पुर्ववडाध्यक्ष गणेश बिष्ट बताउँछन् । ठाउँको नाम बताउँदा अलमलमा पर्ने व्यक्ती ठूलो वासिराङ पहिरो भएको गाउँ बताएपछि स्पष्ट हुने गरेको स्थानीयको अनुभव छ ।
