आइतवार, भाद्र २४ २०८०
नेपाल वाइड
खोटाङ, २४ भदौ । खोटाङका विभिन्न स्थानमा लगाइएको धान बालीमा रोग तथा किराको संक्रमण फैलिएको छ । रावाबेँसी गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, दिप्रुङ चुईचुम्मा गाउँपालिका, साकेला गाउँपालिका र खोटेहाङ गाउँपालिकाका विभिन्न स्थानमा लगाइएको धान बालीमा रोग तथा किराको संक्रमण फैलिएको हो ।
गाभा सरेर पोटाउने अवस्थामा पुग्न लागेका धान बालीमा गभारो नामको किरा तथा राईस ब्लाष्ट–थ्री, सेथ ब्लाइट–टु र ब्याक्टेरियल फुट रट रोगको संक्रमण देखा परेको कृषि ज्ञान केन्द्र खोटाङका बाली संरक्षण अधिकृत रामनन्द यादवले बताए ।
जिल्लाका १० स्थानीय तहमध्ये रावाबेँसी गाउँपालिकाका किसानले लगाएको धान बालीमा सबैभन्दा बढी रोग तथा किराको प्रकोप देखिएको कृषि ज्ञान केन्द्रले जनाएको छ ।
“खोटाङमा धानबालीमा धेरथोर तीन किसिमको रोग र एउटा किराको संक्रमण फैलिएको पाइएको छ,” बाली संरक्षण अधिकृत यादवले भने, “रोग तथा किराको संक्रमण सबैभन्दा बढी रावाबेँसी गाउँपालिकामा देखा परेको छ ।”
दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको दिक्तेल, खाल्ले र नेर्पामा लगाइएको धान बालीमा रोग तथा किराको संक्रमण देखा परेको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा गभारो, ब्लाष्ट, खैरो थोप्ले रोग र व्याक्टेरियल लिफ ब्लाइटको संक्रमण देखिएको प्राविधिक सहायक मिनबहादुर बुढाथोकीले बताए ।
धान बालीमा लागेको रोग तथा किरा नियन्त्रणका लागि नगरपालिकाले किसानलाई कारटाप हाइड्रोक्लोराईड, कार्बेनडाजिम र एक्जाकोनाजोल नाम विषादि वितरण सुरु गरेको छ ।
धानको कलिलो अवस्थामा गभारोको आक्रमण भएमा मृत गावा देखिन्छ । फूल फूल्ने अवस्थामा आक्रमण भएमा भुस मात्र भएको सेतो बाला देखिने कृषि प्राविधिक बताउँछन् । धानमा ब्लाष्ट नामक रोग लागेपछि पातमा स–साना सेतो टीका बीचमा भएका लाम्चिला खैरो थोप्ला देखापर्छ । बालादेखि तलको डाँठको वरिपरि वा आँख्लामा खैरो रङ भएको दाग पनि देखिन्छ । थोप्ला जोडिँदै जाँदा पुरै पात डढेको देखिन्छ ।
यस्तै, खैरो थोप्ने रोग लागेको धानको पात वा गेडामा स–साना गोलाकार वा लाम्चिला खैरो थोप्लाहरु देखिन्छ । व्याक्टेरियल लिफ ब्लाइट लागे पातको किनाराबाट लामो पहेँला वा खैरा रङका धर्साहरु देखिन्छन् र पात टुप्पोबाट सुकेर मर्छन् ।