सोमवार, भाद्र २५ २०८०
नेपाल वाइड
खोटाङ, २५ भदौ । खोटाङको खोटेहाङ गाउँपालिकामा सुन्तलाको बिरुवा खरिदमा भएको अनियमिततालाई ढोकछोप गरिएको भन्दै एमालेले बिरोध जनाएको छ । खोटेहाङ गाउँपालिका–१ लिकुवापोखरीमा सुन्तला खरिदमा भएको अनियमिततालाई वडा कार्यालयकै रोहबरमा मिलाइएको भन्दै एमाले खोटेहाङ गाउँपालिका कमिटिले बिरोध जनाएको हो ।
एमालेका गाउँपालिका कमिटि इन्चार्ज राजन बञ्जरा र पालिका कमिटि अध्यक्ष बिकास राईले आइतबार गाउँपालिका अध्यक्ष उदिमबहादुर राईलाई ज्ञापन–पत्र बुझाउँदै सो अनियमितताका विषयमा छानबिन गर्न माग गरेका छन् ।
“लिकुवापोखरीमा सुन्तलाको विरुवा खरिदमा भएको अनियमितता वडा कार्यालयको रोहवरमा कसरी मिलापत्र गरिएको हो ?,” ज्ञापन–पत्रमा भनिएको छ, “अनियमितता र भ्रष्टाचार जस्तो जघन्य काममा कुन कानुन अनुसार मिलापत्र गरियो ? गाउँपालिकाले तुरुन्त छानविन गरोस् ।”
एमालेले सुन्तला, कागती, अलैँचीका विरुवा, मौरिका घार कहाँ र कति मूल्यमा खरिद भएको हो, त्यसको जवाफ दिन माग गरेका छन् । बाँडिएका बिरुवाहरु गुणस्तरीय र स्वस्थ नभएको जनगुनासो आएकाले अबिलम्ब छानबिन गर्न माग गरिएको छ ।
एमालेले ठेक्का प्रक्रियामा जनप्रतिनिधीले मिलेमतो गरी आफू र आफ्ना मान्छेलाई मात्र संलग्न गराउने काम बन्द गर्न, विभिन्न सामग्री खरिदमा कमिसन, कार्यक्रममा कमिसन लिनेगरि अमुक संस्था र व्यक्तिलाई दिने काम रोक्न, शिक्षक/कर्मचारीको नियुक्ती, सरुवा र जिम्मेवारी हेरफेरमा योग्यता र क्षमताको आधारमा बिधि र प्रकृया अनुरुप गर्न लगायतका १२ बुँदे ध्यानाकर्षण गराएको छ ।
यस्तै, जनतालाई सूचनाको हकबाट बञ्चित गर्ने काम नगर्न, समय–समयमा पारदर्शि ढंगले सार्वजनिक सुनुवाई गर्न, कक्षा ६, ७, ८ को स्थानीय पाठ्यपुस्तक तत्काल छपाएर पठन–पाठनमा प्रयोग गर्न, जग्गा बर्गीकरण सहि र पारदर्शी ढंगले गर्न, स्थानीय सरकारको ढिलासुस्ती र उदासिनताले जनतालाई परेको मार्का बेलैमा सम्बोधन गर्न माग गरिएको छ । बितरणमुखी कार्यक्रमले निमुखा जनतालाई लाभ पुग्न नसकेको, पहुँचवालाको बोलवाला रहेको एमालेले ज्ञापन–पत्रमा उल्लेख गरेको छ ।