सोमवार, भाद्र २५ २०८०
नेपाल वाइड
खोटाङ, २५ भदौ । खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडामा आयोजना गरिएको टोल स्तरीय घुम्ती शिविरबाट सात सय ५८ जना नागरिकले सेवा लिएका छन् ।
भौगोलिक विकटताका कारण गाउँपालिकाको कार्यालय पुगेर सेवा लिन नसक्ने नागरिकलाई मध्यनजर गर्दै टोल–टोलमा आयोजना गरिएको घुम्ती शिबिरबाट दुई सय ४३ ज्येष्ठ नागरिकको सामाजिक सुरक्षा भत्ता नवीकरण, दुई सय ९० जनाको स्वास्थ्य जाँच एबं औषधि वितरण र दुई सय ५५ घरधुरीले जग्गाको कर बुझाएका छन् ।
सेवाग्राहीलाई गाउँमै सेवा दिने लक्ष्यका साथ टोल स्तरमा सरकारी सेवाको प्रवन्ध मिलाइएको बाँझेच्यानाडाँडाका वडाध्यक्ष हेमन राईले बताए । “गाउँपालिकाको अन्य वडाको तुलनामा यस वडा भौगोलिक रुपमा विकट र ठूलो भएका कारण विभिन्न सेवाहरु टोल तथा वस्तीस्तरबाट प्रदान गर्ने कोशिस गरिनेछ,” वडाध्यक्ष राईले भने, “भौतिक विकास सँगसँगै सरकारबाट प्रदान हुने सेवाहरु क्रमिक रुपमा प्रदान गरिनेछ ।”
टोल स्तरीय घुम्ती शिविरबाट सामाजिक सुरक्षा भत्ता नवीकरण, प्राथमिक स्वास्थ्य सेवा र भूमी कर संकलन सम्बन्धी सेवा पाउँदा नागरिक हर्षित बनेका छन् । भौगोलिक रुपमा विकट टोलहरुमा पुगेर गत शुक्रबारदेखि सुरु गरिएको टोल स्तरिय शिबिर आइतबार सम्पन्न भएको हो ।
टोल स्तरिय शिबिरका लागि वडा सचिव नमी राई, सामाजिक सुरक्षा तथा पञ्जीकरण शाखा संयोजक डिएम चाम्लिङ राई, वडाका अन्य कर्मचारी तथा स्वास्थ्यकर्मीको टोली खटिएका थिए । जनताको आवश्यकतालाई पहिचान गरि अन्य सेवाहरु पनि क्रमिक रुपमा टोल–टोलबाटै प्रदान गरिने साकेला गाउँपालिका अध्यक्ष रविप्रकाश राईले बताए ।