मंगलवार, भाद्र २६ २०८०
नेपाल वाइड
काठमाडौं, २६ भदौ । प्रतिनिधिसभा सदस्य एवं नेकपा एमालेका उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको हृदयघातबाट निधन भएपछि उनको मेडिकल हिस्ट्रीबारे चासो बढेको छ । उनले लामो समयदेखि मधुमेह र उच्च रक्तचापको औषधि सेवन गर्दै आएका थिए ।
हृदयाघातअघि नेम्वाङको मुटुमा कुनै समस्या नरहेको संघीय संसद सचिवालयका चिकित्सक डा।पुष्प रिजालले नेपाल प्रेसलाई जानकारी दिए । पाँच वर्षदेखि नेम्वाङको नियमित स्वास्थ्य परीक्षण गर्दै आएका डा।रिजालले भने, ‘मैले हेर्नुभन्दा पहिलेदेखि नै उहाँले सुगर र प्रेसरको औषधि नियमित खाइरहनुभएको थियो । कहिलेकाहीं मुटुको चाल तलमाथि हुन्थ्यो ।
तर, अरू जटिल समस्या उहाँलाई केही पनि थिएन ।’संसद सचिवालयको स्वास्थ्य सेवा इकाइका पारामेडिक्स हेल्थ असिस्टेन्ट प्रदीप घिमिरेले करिब १५ वर्षदेखि नेम्वाङको स्वास्थ्य अवस्थाबारे नजिकबाट हेर्दै आएका थिए । उनका अनुसार नेम्वाङमा उच्च रक्तचापको समस्या पहिलेदेखि भएको भए पनि मधुमेह भने पहिलो संविधानसभाको सभामुख भएपछि देखिएको हो ।
उच्च रक्तचाप र मधुमेहको समस्या देखिएपछि नेम्वाङले आफ्नो स्वास्थ्यको एकदमै ख्याल गर्दै आएको उनको भनाइ थियो । घिमिरेका अनुसार नेम्वाङले काठमाडौं मोडल अस्पतालमा कार्यरत डा.अरुण सायमी र डा.यादव भट्ट तथा वीर अस्पतालमा कार्यरत डा.बुद्धि कार्कीसँग मात्रै आवश्यकअनुसार चेकजाँच गर्दै आएका थिए ।
औषधि पनि तिनै चिक्सिकको सल्लाहअनुसार मात्रै सेवन गर्दै आएका थिए ।परिवारिक स्रोतका अनुसार उच्च रक्तचापसँगै मधुमेह देखिएपछि नेम्वाङले घर बाहिर खान छोडेका थिए । संसदीय दलको कार्यालय र प्रतिनिधिसभा बैठकमा सहभागी हुन आउँदा संसद सचिवालयमा रहेको स्वास्थ्य सेवा इकाइका स्वास्थ्यकर्मीले उनको खाजा व्यवस्थापन गर्दै आएका थिए ।
सचिवालयले कुन दिन के खाजा खुवाउने भनेर तालिका नै बनाएको थियो ।पारामेडिक्स घिमिरेका अनुसार करिब १० वर्षअघि संविधानसभाको बैठक सकेर राति ११ बजे घरतर्फ लागेका नेम्वाङ बेहोस भएका थिए । घर पुगेपछि चालकले ढोका खोल्दा नेम्वाङ ढोकासँगै हुत्तिएर आएका थिए । लगत्तै चालकले समातेकाले गम्भीर घटना हुनबाट जोगिएको थियो ।
त्यसपछि चालकले पारामेडिक्स घिमिरेलाई नै बोलाएका थिए । उनले सामान्य चेकजाँच गरेर आराम गर्न लगाएपछि नेम्वाङको होस खुलेको थियो । होस खुलेपछि राति नै घिमिरेलगायतको टोलीले नेम्वाङलाई काठमाडौं मोडल अस्पताल लगेको थियो । चिकित्सकले उच्च रक्तचाप र मधुमेह नियन्त्रण गर्न सुझाव दिए ।
लामो समय नेम्वाङको सवारी हाँकेका एक चालकका अनुसार २०५६ सालदेखि नै उनी बाटोमा सकेसम्म केही पनि खाँदैन थिए । उनको खानेकुरा सबै गाडीमै व्यवस्था हुन्थ्यो । काठमाडौं बाहिर जाँदा नेम्वाङको खाना र खाजा खाने एउटै ठाउँ थियो, मकवानपुरको हेटौंडास्थित राष्ट्रिय वाणिज्य बैंक नजिकै रहेको एक होटल । त्यहाँ आफू पकाउन लगाएरमात्रै उनले खाना तथा खाजा खाने गर्थे ।
संसद सचिवालयको स्वास्थ्य सेवा इकाइका पारामेडिक्स घिमिरे प्रायः शनिबार निवासमा र आवश्यकअनुसार जहाँ बोलायो, त्यही पुगेर नेम्वाङको स्वास्थ्य अवस्था बुझिरहन्थे । आवश्यकअनुसार घिमिरे भेटिरहन्थे र नेम्वाङले पनि उनलाई बोलाइरहन्थे । तर, १५ दिनअघि घिमिरेले मानसरोवर जाने योजना बनाए ।
नेम्वाङले घिमिरेलाई मानसरोवर जान एकदमै गाह्रो हुने भएकाले नजान सुझाव दिएका थिए । घिमिरेले जाने योजना बनाइसकेकाले उनी गए । त्यसबीचमा संसद सचिवालय स्वास्थ्य सेवा इकाइका डा.पुष्प रिजालले आवश्यकअनुसार नेम्वाङको स्वास्थ्य चेकजाँच गर्दै आएका थिए ।घिमिरे १५ दिनको मानसरोवर यात्रा सकेर आइतबार काठमाडौं आइपुगे ।
सोमबार बिहानै नेम्वाङले घिमिरेलाई फोन गरेका थिए । घिमिरेका अनुसार नेम्वाङले उनलाई भनेका थिए, ‘प्रदीपजी, मलाई के भएको होला रु सुतिरहन मात्रै मन लाग्छ, अल्छीमात्रै लागिरहेको छ । ’त्यसपछि घिमिरे सीधै नेम्वाङ निवासमा पुगे । उनका अनुसार त्यस वेला नेम्वाङको अक्सिनजको मात्रा ९५, मधुमेहको मात्रा १२८, ज्वरो १०० डिग्री फरेनहाइट र रक्तचाप १२०र८० थियो ।
घिमिरेका अनुसार यो सामान्य नै हो । त्यसपछि आफू फर्केको घिमिरेले बताए ।त्यस्तै संसद सचिवालयका डा। रिजालले सोमबार साँझ ६ बजे नेम्वाङलाई टेलिफोन सम्पर्क गरेका थिए । रिजालले आफू आउनुपर्छ कि भनेर सोधेका पनि थिए ।
तर, नेम्वाङले आउन नपर्ने जवाफ दिएको उनले बताए ।डा.रिजालले भने, ‘मैले साँझ ६ बजे फोन गरेर कस्तो छ हजुरलाई, म आउनुपर्छ कि भनेर सोधेको थिएँ । उहाँले सबै कुरा सामान्य छ । म ठीक छु, आउनु पर्दैन भन्नुभएको थियो ।
तर, एकै पटक राति यस्तो खबर सुन्नुपर्यो ।’घिमिरे पनि सोमबार साँझ नेम्वाङको अवस्था बुझ्न निवासमा पुगेका थिए । ‘साँझ ५ बजे त्यहाँ पुग्दा अक्सिजनको मात्रा ९५, मधुमेहको मात्रा १५२, ज्वरो १०० डिग्री फरेनहाइट र रक्तचाप १३०र८० थियो’, उनले भने, ‘उहाँले भोलि ९मंगलबार० बिहान ७ बजे फेरि आउन भनेपछि म त्यहाँबाट घर निस्किएँ ।
तर, राति १ बजे नेम्वाङको छोरीले फोन गरेर बाबालाई गाह्रो भयो के गर्ने होला भनेपछि मैले तत्काल शिक्षण अस्पताल महाराजगञ्ज लैजान सुझाव दिएँ र म पनि शिक्षण अस्पताल महाराजगञ्ज गएँ । ’घिमिरे अस्पताल पुग्दा नेम्वाङको अवस्था गम्भीर भइसकेको थियो । घिमिरेसँगै संसद सचिवालयका डा.रिजालले नेम्वाङलाई बचाउन धेरै प्रयास गरे । तर, त्यो प्रयास सफल हुन सकेन । नेम्वाङले यो संसारबाट बिदा लिए । नेपाल प्रेस