बिहिवार, भाद्र २८ २०८०
नेपाल वाइड
खोटाङ, २८ भदौ । खोटाङको साकेला गाउँपालिका–२ रतन्छास्थित धन्नेश्वरी गुफा र गुफा परिसर सरसफाई गरिएको छ । तीज नजिकिँदै गर्दा स्थानीय धन्नेश्वरी आमा समुह र लालिगुराँस आमा समूहको अगुवाईमा बुधबार धार्मिक तथा पर्यटकीय स्थल धन्नेश्वरी गुफा र गुफा परिसर सरसफाई गरिएको हो ।
आमा समूहका सदस्य, निर्वाचित जनप्रतिनिधि, कर्मचारी, प्रहरी र स्थानीयको सक्रियतामा गुफासम्म पुग्ने बाटो र गुफा परिसर सरसफाई गरिएको छ । नेपाली नारीहरुको महान पर्व तिज नजिकिँदै जाँदा धन्नेश्वरी गुफा जाने बाटो, धन्नेश्वरी गुफा र गुफा परिसर सरसफाई गरिएको रतन्छाका वडाका वडाध्यक्ष जितेन्द्रकुमार राईले बताए ।
गुफाभित्र र गुफा वरिपरि उम्रिएका झारपातले धन्नेश्वरी कुरुप बन्दै गएको अवस्थामा गाउँपालिकाले सञ्चालन गरेको पूर्ण सरसफाई कार्यक्रम अन्तरगत गुफा सरसफाई गरिएको हो ।
तिजमा ब्रत बस्ने नारीहरुले बिहानैदेखि धन्नेश्वरी मन्दिरको पूजा गर्ने र दिनभरी नाचगान गर्ने भएकाले मन्दिरसम्म पुग्ने बाटो र गुफा सरसफाई गरिएको हो ।
ओझेलमा रहेको धन्नेश्वरी गुफामा महाशिवरात्री, रामनवमी, बालाचतुर्दशी, एकादशी, तिज लगायतका पर्वमा मेला लाग्ने गरेको छ । स्थानीय तीर्थयात्रीले रामनवमी र बालाचतुर्दशीमा पितृको सम्झनामा धन्नेश्वरीमा सतवीउ, पलवीउ छर्ने गरेका छन् ।
धार्मिक आस्था तथा पर्यटकीय दृष्टिले महत्वपूर्ण मानिने धन्नेश्वरी गुफा प्रचार–प्रसारको अभावमा ओझेलमा परिरहेको छ । यसको प्रचार–प्रसार गरि विकास गर्न सके साकेला गाउँपालिका आन्तरिक श्रोतमा बलियो हुन सक्ने सम्भावना छ ।
ढुंगाको कापभित्र अवस्थित गुफाभित्र छिरिसकेपछि ढुंगामा थुप्रै ठूलाठूला नाग हिँडेको पाईला देख्न र नागको आकृति अवलोकन गर्न सकिन्छ । गुफाभित्रबाट तल र माथि जाने भित्रि सुरुङ पनि रहेको छ, तर उक्त सुरुङ कहाँसम्म पुगेर टुंगिन्छ, आजसम्म पत्ता लाग्न छैन । धार्मिक तथा पर्यटकीय स्थल हलेसीमहादेवस्थान पछिको दोश्रो ठूलो गुफा धन्नेश्वरी भएको स्थानीय बताउँछन् ।