Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सडक स्तरोन्नतीको काम अलपत्र छाडेर लैजाँदै गरेको ग्रेडर मेसिन नगरको नियन्त्रणमा

    सडक स्तरोन्नतीको काम अलपत्र छाडेर लैजाँदै गरेको ग्रेडर मेसिन नगरको नियन्त्रणमा


    • मंगलवार, आश्विन २ २०८०

    • नेपाल वाइड


    सडक स्तरोन्नतीको काम अलपत्र छाडेर लैजाँदै गरेको ग्रेडर मेसिन नगरको नियन्त्रणमा
    दिरुमनपा ७ दोर्पाचिउरीडाँडाको ढिकुरेबाट नियन्त्रणमा लिइएको ग्रेडर ।

    खोटाङ, २ असोज । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले सडक स्तरोन्नतीको काम अलपत्र छाडेर भाग्ने ठेकेदारको ग्रेडर मेसिन नियन्त्रणमा लिएको छ ।

    दिक्तेल–खोटाङबजार सडक अन्तरगत अस्पताल चोक–लफ्याङको दुबेचिवा (३ किलोमिटर) सडक स्तरोन्नतीको काम अलपत्र छाडेर हिँड्ने ढुकुछु/बगाले/बिएनटी जेभीको ग्रेडर नियन्त्रणमा लिएको हो ।

    सडक स्तरोन्नतीको काम अलपत्र पारेर छाडेको केही समयपछि निर्माणस्थलबाट उठाएर भोजपुरतर्फ लैजाँदै गरेको अवस्थामा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–७ दोर्पाचिउरीडाँडाको ढिकुरे पुर्‍याइएको ग्रेडर नियन्त्रणमा लिइएको नगरका प्रवक्ता दिनेश घिमिरेले बताए ।

    निर्माण कम्पनीका प्रतिनिधिले ‘मेसिन कन्डिसनमा भए/नभएको जाँच गर्न आएको’ भन्दै ग्रेडर स्टार्ट गरेर हिँडाएका थिए । ठेकेदार सम्पर्क विहिन बनेको महिनौंपछि मेसिन उठाएर हिँडाएपछि स्थानीयले नगरपालिकालाई खबर गरेका थिए ।

    प्रहरीको टोलीसँग पछ्याउँदै जाँदा नभेटेपछि बाटोमा पर्ने प्रहरीचौकी दोर्पाचिउरीडाँडाका प्रहरीलाई परिचालन गरेर ग्रेडर नियन्त्रणमा लिएको प्रवक्ता घिमिरेले बताए । नगरपालिकाले बाटैमा रोकेपछि ठेकेदारको प्रतिनिधिले ग्रेडरको पांग्राको हावा खुस्काएर हिँडेको पाइएको छ ।

    “रात परिसकेको थियो । ग्रेडर नियन्त्रणमा लिएर फर्कियौं,” घिमिरेले भने, “दिक्तेल फर्काउने भनेपछि हावा खोलेर हिँडेछन् ।” ग्रेडर मेसिन छुटाउनका लागि राजनैतिक दवाव आइरहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए ।

    नगरपालिकाले ढुकुछु/बगाले/बिएनटीको अन्य उपकरणमा ताला हाल्ने तयारी गरेको छ । भ्याटसहित ५ करोड ६ लाख ५५ हजार ५८६ रुपैयाँमा अस्पताल चोक–लफ्याङको दुबेचिवा सडक स्तरोन्नती गर्नेगरी ढुकुछु/बगाले/बिएनटीले ठेक्का लिएको हो । सो निर्माण कम्पनीले २०७९ पुस २८ गतेसम्ममा सम्पन्न गर्नेगरी २०७८ जेठ २० गते ठेक्का सम्झौता गरेको थियो ।

    सडक स्तरोन्नतीको काम अलपत्र छाडेर हिँड्न लागेको अवस्थामा २०७९ कात्तिक २० गते नगरपालिकाले ढुकुछु/बगाले/बिएनटीको एउटा एक्स्काभेटर र एउटा व्याकहो लोडरमा ताला लगाएको थियो । मेसिनमा ताला लगाएको केही समयपछि काम सुचारु गराएको निर्माण व्यवसायीले पुःन काम अलपत्र बनाएका छन् । 

    सम्बन्धित समाचार