मंगलवार, आश्विन २ २०८०
दमन राई
खोटाङ, २ असोज । खोटाङको जन्तेढुंगा गाउँपालिका–६ दिप्लुङस्थित भानु आधारभुत विद्यालयमा नक्कली उत्तरपुस्तिका खडा गरेर आफ्नो मान्छेलाई कार्यालय सहयोगीमा नियुक्त गर्ने प्रयास गरेको खुलेको छ ।
‘सेटिङ’मा आफ्नो मान्छेलाई विद्यालयको कार्यालय सहयोगी नियुक्त गर्नका लागि परिक्षामा सक्कली उत्तरपुस्तिकाको थुप्रोमा चोरी कपी समावेश गरेको खुलेको हो । कार्यालय सहयोगी छनौटका लागि सञ्चालन गरिएको परिक्षामा ६ जना परिक्षार्थी सहभागी भएकामा ७ वटा उत्तरपुस्तिका फेला परेपछि ‘हङ्गामा’ फैलिएको छ ।
एक जना परिक्षार्थीको कापी फालेर त्यसको सट्टामा अर्को ‘रेडीमेड’ उत्तरपुस्तिका राखेर चेक गरेको खुलेपछि परिक्षा नै रद्ध भएको छ । कार्यालय सहयोगीको छनौट परिक्षा गाउँपालिकाकै हलमा सञ्चालन गरिएको थियो । शिक्षा शाखाको कार्यकक्षमा लगेर उत्तरपुस्तिका काट्नेक्रममा परिक्षार्थीभन्दा एक थान बढी उत्तरपुस्तिका फेला परेको परिक्षा समितिका संयोजक एबं विव्यास सदस्य बिणा राईले बताईन् ।
रोष्टर शिक्षक कपिलराज घिमिरे र जीवन राईले उत्तरपुस्तिका चेक गरिरहेकाबेला टेबलमुनि भुइँमा एक थान उत्तरपुस्तिका भेटिएपछि हलमा हल्लाखल्ला सुरु भएको थियो । एक जना परिक्षार्थीको सक्कली उत्तरपुस्तिकाको ठाउँमा नक्कली उत्तरपुस्तिका राखेर सक्कली उत्तरपुस्तिका फालिएको भेटिएको प्रअ रुद्रबहादुर खड्काले बताए ।
उत्तरपुस्तिका चेकजाँच गर्नेक्रममा लुकाइएको सक्कली उत्तरपुस्तिका भुइँमा खसेको पाइएपछि परिक्षामा भइरहेको ‘सेटिङ’ छताछुल्ल भएको हो । परिक्षामा कसलाई नियुक्त गर्न खोजिएको भन्ने खुलेको छैन । उत्तरपुस्तिका लुकाउँदा लुकाउँदै भेटिएको अनुमान गरिएको छ । भुइँमा खसेको उत्तरपुस्तिका टिपेर शौचालयमा लगेर हेर्दा सोही परिक्षार्थीको भएको खुलेको प्रअ खड्का बताउँछन् ।
यसले अन्य विद्यालयको कर्मचारी नियुक्तीका क्रममा पनि ‘सेटिङ’ गरेर आफ्नो मान्छे राख्ने गरेको आशंका गरिएको छ । गाउँपालिकामा भएको छलफलले सो परिक्षा रद्ध गर्ने र पुःन अर्को परिक्षा सञ्चालन गर्ने निर्णय गरेको छ । “६ जना परिक्षार्थी थिए । ६ जनाको कापी टेबलमा काटिदै थियो । टेबलमुनि अर्को एक जना परिक्षार्थीको कापी भेटियो । त्यो कापी एकरात मेरै जिम्मामा रह्यो,” खड्काले भने, “परिक्षा रद्ध गरेर अर्को परिक्षा गराउने निर्णय भएको छ । त्यो कापी शिक्षा शाखामै बुझाएँ । त्यो कापी को, कसको हो थाहा भएन ।” विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रकाश राई भए पनि उनकी श्रीमती परिक्षार्थी भएका कारण विव्यास सदस्य राईलाई परिक्षा समितिको संयोजक बनाइएको थियो । कापी काट्नेक्रममा कोठामा वडाध्यक्ष सागर राई, परिक्षा समितिका संयोजक राई, प्रअ खड्का लगायत थिए ।
“दुई जना रोष्टर हुनुहुन्थ्यो । एक जना रोष्टर काम छ भन्दै परिक्षा हलबाट बाहिर निस्कनुभयो । हामीले कापी त्यही हलमा काटौं भन्यौँ रोष्टरले शिक्षा शाखामा काट्नुपर्छ भन्नुभयो । शिक्षा शाखामा जाँदा अर्को जना रोष्टर हुनुहुँदोरहेछ,” राईले भनिन्, “तीन चार वटा कापी काटेपछि सिम्बोल नम्बर च्यातेको र टिक लगाएको कापी भुइँमा झर्यो । तलको कापी हेर्छु सिम्बोल नम्बर च्यातेको देख्छु । हेर्छु सबै मिल्छ ।
माथि टेबलमा हेर्दा ६ वटै कापी छ । देख्नुमा गल्ती र टिप्नुमा गल्ती भयो भने जहाँ जानपर्छ जान्छु । मसँग धेरैजना रिसाएका छन् ।” परिक्षार्थी संख्याभन्दा बढी उत्तरपुस्तिका भेटिएको विषयमा कतिपय अभिभावकले सामाजिक सञ्जालबाटै बिरोध जनाइरहेका छन् । नेत्र श्रेष्ठले गाउँपालिकामा सञ्चालन गरिने परिक्षाको प्रणालीमाथि नै प्रश्न उठाएका छन् ।
“एउटा उत्तरपुस्तिका गाउँपालिका अध्यक्षको हो कि, उपाध्यक्षको हो ? या प्रमुख प्रशासकीय अधिकृतको हो ? कि शिक्षा शाखा प्रमुखको हो ? त्यो सम्पूर्ण पालिकाबासीको चासो र खुलदुलीको विषय बनेको छ,” श्रेष्ठले लेखेका छन्, “यस पालिकाको परिक्षा प्रणाली फेयर हुन्छ भन्ने आश गर्नुहुन्छ भने इमान्दार र सक्षम व्यक्तिले पालिकाको कुनैपनि पदको लागि प्रतिष्पर्धा गर्नुभन्दा नगर्नु नै राम्रो हुन्छ कि ।” रद्ध परिक्षाको ठाउँमा पुःन पाठ्याक्रम बनाएर अर्को परिक्षा गर्ने तयारी भएको जन्तेढुंगा गाउँपालिका उपाध्यक्ष खेम खड्काले बताए ।