Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    कोशी प्रदेशको स्थायित्वका लागि सबै दल मिल्न आवश्यकः मन्त्री मेन्याङ्बो

    कोशी प्रदेशको स्थायित्वका लागि सबै दल मिल्न आवश्यकः मन्त्री मेन्याङ्बो


    • बिहिवार, आश्विन ४ २०८०

    • नेपाल वाइड


    कोशी प्रदेशको स्थायित्वका लागि सबै दल मिल्न आवश्यकः मन्त्री मेन्याङ्बो
    पत्रकार सम्मेलनमा धारणा राख्दै खानेपानी, सिँचाई, उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बो ।

    खोटाङ, ४ असोज । कोशी प्रदेशका खानेपानी, सिँचाई, उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोले प्रदेशको स्थायित्वका लागि सबै दल मिलेर सरकार बनाउनुपर्ने धारणा राखेका छन् ।

    प्रेस चौतारी नेपाल खोटाङले बिहिबार होटल इन्द्रेणीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री मेन्याङ्बोले हाल प्रदेशमा कसैको पनि एकल बहुमत पुग्ने अवस्था नभएकाले सबै दल मिलेर सरकार बनाएर स्थायित्व दिनुपर्ने धारणा राखेका हुन् ।

    सबै दल मिलेर सहमतीमा प्रदेशको सरकार बनाउन सके मात्र समृद्धि र स्थायित्व प्राप्ती हुने मन्त्री मेन्याङ्बोले बताए । प्रदेशका सबै दल मिलेर सरकार बनाउन सके मात्र प्रदेश, प्रदेश सरकार र राजनीतिक दलप्रतिको नकरात्मक धारणा चिर्न सकिने मन्त्री मेन्याङ्बोको भनाई थियो ।

    “कोशी प्रदेशमा कुनै पनि राजनीतिक दलको बहुमत छैन । त्यसैले भएका सबै दलहरु मिलेर अगाडि जाऔं भनेर आग्रह गरेका छौँ । कोशी प्रदेशका आममतदाताले पनि सबै मिलेर अगाडि जानु भनेरै कसैलाई पनि बहुमत नदिएको अवस्था हो,” मन्त्री मेन्याङ्बोले भने, “त्यसैले हामी के चाहन्छौँ भने सबै दलहरु मिलेर सरकार बनाऔं र बाँकी अवधि स्थायित्व दिऔं जसले गर्दाखेरी अहिले विभिन्न मानसपटलमा उत्पन्न भएका नकरात्मक कुराहरुलाई हामी जित्न सक्छौँ, त्यो प्रदेश प्रतिको होस्, सरकारप्रतिको होस् वा राजनीतिक दलप्रतिको होस् । ती सबैकुरालाई चिरेर जान सकिन्छ भनेर भनेका छौँ ।” मन्त्री मेन्याङ्बोले कोशी प्रदेशको नामांकनका विषयमा असन्तुष्ट बनेका पहिचानपक्षधर समुहलाई वार्ताको माध्यमबाट समाधान खोज्न आग्रह गरेका छन् ।

    शान्तिपूर्ण आन्दोलन परिवर्तनको मुख्य शक्ति भएको उल्लेख गर्दै मन्त्री मेन्याङ्बोले पहिचानको आन्दोलनलाई शान्तिपूर्ण बनाउन आग्रह गरेका छन् । “बिरोध गर्न पाइन्छ तर सुरुदेखि कोशी प्रदेशसँग असहमत राख्ने साथीहरुलाई बारम्बार भनिरहेको छु । आन्दोलन गर्नुहुन्छ भने शान्तिपुर्ण गर्नुस् । शान्तिपूर्ण आन्दोलन गर्न संविधानले रोक्दैन । कुनै नियम कानुनले रोक्दैन । तर बल प्रयोग भयो भने आमनागरिकले पनि मान्दैन,” मेन्याङ्बोले भने, “तमाम परिवर्तन गर्दाखेरी सबभन्दा मुख्य शक्ति हाम्रो शान्तिपूर्ण आन्दोलन नै थियो । त्यही कारण कोशी प्रदेशसँग विमती राख्ने साथीहरुलाई शान्तिपूर्ण आन्दोलन गर्न हार्दिक आग्रह गर्न चाहन्छु र वार्तामा आउन हार्दिक अपिल गर्दछु ।”

    बुधबार साँझ दिक्तेल आइपुगेका मन्त्री मेन्याङ्बोले बिहिबार जिल्ला अस्पताल निरिक्षण गरेका थिए । अस्पतालबाट बाहिरिने क्रममा मन्त्री मेन्याङ्बोलाई पहिचानपक्षधर समुहले कालो झण्डा देखाएका थिए । पत्रकार सम्मेलनपछि मन्त्री मेन्याङ्बो सोलुखुम्बुतर्फ प्रस्थान गरेका छन् । 

    सम्बन्धित समाचार