बुधवार, आश्विन १० २०८०
प्रेम श्रेष्ठ
खोटाङ, १० असोज । खोटाङको रावाबेँसी गाउँपालिका–५ दुबेकोलमा कृषिजन्य सामग्री संकलन केन्द्र स्थापना गरिएको छ । वडामा उत्पादित कृषि उपज बिक्रीका लागि बजारको सुनिश्चितता गर्दै किसानलाई उत्पादनमुखी र आत्मनिर्भर बनाउने लक्ष्यका साथ दुबेकोलमा कृषिजन्य सामग्री संकलन केन्द्र स्थापना गरिएको हो ।
वडा कार्यालयको पहलमा ४८ प्रकारका कृषि उपज खरिद गर्ने र बिक्री गर्ने मूल्या निर्धारण गरेर मंगलबारदेखि कृषिजन्य सामग्री संकलन केन्द्र सञ्चालनमा ल्याइएको वडाध्यक्ष मनकुमार गुरुङले बताए ।
स्थानीय सुगम होटल एण्ड लज दुवेकोलडाँडा र घिमिरे फेन्सी एण्ड किनारा पसल रेग्मीगाउँले कृषिजन्य सामग्री संकलन केन्द्र सञ्चालन गर्ने जिम्मा लिएका छन् ।
तोकिएको मूल्यसूची अनुसार संकलन केन्द्रले कृषि उपज खरिद गर्ने र बिक्री गर्ने तथा बढी भएको कृषि उपज अन्यत्र लगेर बिक्रीका लागि वडा कार्यालयले सहयोग गर्ने वडाध्यक्ष गुरुङले बताए ।
कृषिजन्य सामग्री संकलन केन्द्रमा वर्षमा एक लाखभन्दा बढीको कृषि उपज बिक्री गर्ने किसानको तथ्यांक संकलन गरेर पुरस्कृत गर्ने तयारी गरिएको छ ।
स्थानीयस्तरमा उत्पादित कृषिवस्तुलाई बिक्रीका लागि टाढाका बजारमा लैजानुपर्ने वाध्यतालाई मध्यनजर गर्दै गाउँमै बिक्री गर्ने वातावरण बनाउने र किसानको समयको बचत गरिदिने उद्धेश्यले वडामै कृषिजन्य सामग्री संकलन केन्द्र सुरु गरिएको हो ।
कृषिजन्य सामग्री संकलन केन्द्रको माध्यमबाट कृषकको आयआर्जनलाई वृद्धि गर्न तथा आत्मनिर्भर र स्वरोजगार बन्न सघाउ पुग्ने अपेक्षा गरिएको छ ।
गाउँपालिकामा चिस्यान केन्द्र बन्दैगरेको अवस्थामा वडामा खपत नभएका कृषि उपजलाई सोही चिस्यान केन्द्रसम्म लैजाने लक्ष्य राखिएको छ । कृषिजन्य सामग्री संकलन केन्द्र स्थापनाले वडामा उत्पादित कृषि उपजले उचित मूल्य पाउने आशा पलाएको स्थानीय कृषक बिक्रम घिमिरेले बताए । वडा कार्यालयमा भदौ ५ गते आयोजना गरिएको भेलाले कृषि उपज वस्तुहरुको खरिद गर्ने र बिक्री गर्ने मुल्य निर्धारण गरेको थियो ।