बुधवार, आश्विन १० २०८०
नेपाल वाइड
खोटाङ, १० असोज । खोटाङमा गोरु काटेर भोज खान/खुवाउनमा संलग्न भएको अभियोगमा पक्राउ परेका अभियुक्तको रिहाइको माग गर्दै प्रदर्शन गरिएको छ ।
असोज ८ गते दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाको मसानेडाँडामा गोरु काटेर भोज खान र खुवाउनमा संलग्न भएको अभियोगमा पक्राउ परेका चार जनाको रिहाइको माग गर्दै मंगोल नेशनल अर्गनाइजेसन–डिजीजीको नेतृत्वमा बिहिबार दिक्तेलबजारमा बिरोध प्रदर्शन गरिएको हो ।
मंगोल नेशनल अर्गनाइजेसन–डिजीजीका प्रदेशसभा सचिव रुपेन्द्र तामाङ र जिल्ला अध्यक्ष खिलाकुमार राई नेतृत्वको टोलीले दिक्तेलबजारमा नाराबाजी गर्दै बिरोध प्रदर्शन गर्नुका साथै जिल्ला प्रहरी कार्यालयको प्रांगणमा धर्ना दिएका थिए ।
गोरु काट्नमा संलग्न स्थानीयको बिनाशर्त रिहाइको मागमा बिरोध प्रदर्शन गरिएको मंगोल नेशनल अर्गनाइजेसन–डिजीजीका जिल्ला अध्यक्ष राईले बताए ।
सार्वजनिक स्थलमा गोरु काटेर खान र खुवाउन संलग्न भएको भन्दै प्रहरीले जालपाका तेजबहादुर तामाङ, २१ वर्षीय टिकमान तामाङ, ३५ वर्षीय गोपाल तामाङ र रावाबेँसी गाउँपालिका–६ हौंचुरका २७ वर्षीय बादल गुरुङलाई पक्राउ गरेको थियो । मंगोल नेशनल अर्गनाइजेसन–डिजीजीका कार्यकर्ताले देशव्यपी साँस्कृतिक आन्दोलन अन्तरगत गोरु काटेर स्थानीयलाई भोज खुवाएका थिए ।
बिरोध प्रदर्शनका क्रममा दिक्तेलको हाटडाँडा, जिल्ला प्रहरी कार्यालय र जिल्ला समन्वय समिति अगाडि कोणसभा गरिएको थियो । धर्नाका लागि जिल्ला प्रशासन कार्यालय जान लाग्दा प्रदर्शनकर्तालाई प्रहरीले रोकेको थियो ।
धर्म निरपेक्ष घोषित मुलुकमा साँस्कृतिक परम्परा अनुसार गोरु काट्ने समर्थकलाई गिरफ्तार गरेकाले बिरोधमा उत्रनु गरेको अध्यक्ष राईले बताए । संविधान र मुलुकी ऐन संशोधनका लागि दवाव सिर्जना गर्न गोरु काटेर साँस्कृतिक क्रान्ती सुरु गरिएको मंगोल नेशनल अर्गनाइजेसन–डिजीजीले जनाएको छ ।
खोटाङका डिएसपी पुरुषोत्तम खड्काले भने गोरु काट्न कानूनमा बर्जित गरिएकाले चार जनालाई पक्राउ गरिएको बताए । प्रहरीले गोरु काट्न नेतृत्व गर्नेभन्दा सहयोगी र भोजको भिडियो शेयर गर्नेलाई मात्र पक्राउ गरेको भन्दै आलोचना भइरहेको छ ।