Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सामाजिक सद्भाव भड्काउने ‘स्टाटस’ नलेख्न/नलेखाउन सामुहिक प्रतिवद्धता

    सामाजिक सद्भाव भड्काउने ‘स्टाटस’ नलेख्न/नलेखाउन सामुहिक प्रतिवद्धता


    • बुधवार, आश्विन १० २०८०

    • नेपाल वाइड


    सामाजिक सद्भाव भड्काउने ‘स्टाटस’ नलेख्न/नलेखाउन सामुहिक प्रतिवद्धता
    जिल्ला प्रशासन कार्यालयमा बसेकोे सर्वदलीय बैठक ।

    खोटाङ, १० असोज । खोटाङका राजनीतिक दलले सामाजिक सञ्जालमा सामाजिक सद्भाव भड्काउने खालका ‘स्टाटस’ नलेख्न/नलेखाउनका लागि सकरात्मक भूमीका निर्वाह गर्ने प्रतिवद्धता जनाएका छन् ।

    जिल्ला प्रशासन कार्यालयले बुधबार बोलाएको सर्वदलीय बैठकमा जिल्लास्थित राजनैतिक दलका नेताहरुले सामाजिक सद्भाव भड्काउने, आपसमा द्धन्द्ध र झगडा निम्त्याउने खालका स्टाटस नलेख्न/नलेखाउनका लागि सकरात्मक भूमिका निर्वाह गर्ने प्रतिवद्धता जनाएका हुन् ।

    जिल्ला प्रशासन कार्यालयमा भएको बैठकमा जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राई, कांग्रेस सभापति बिष्णुकुमार राई, सचिव ज्ञानेन्द्र जोशी, नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक दिपक पाण्डे, जनता समाजवादी पार्टीका अध्यक्ष पिके खम्बू, राप्रपाका जिल्ला सदस्य गंगा श्रेष्ठ, नेकपा एकीकृत समाजवादीका जिल्ला कमिटि सदस्य ददी श्रेष्ठ, नेपाल आदिबासी जनजाती महासंघ जिल्ला समन्वय समितिका अध्यक्ष फुर्वा शेर्पा लगायतले सामाजिक सद्भाव भड्काउने खालका गतिविधि नगर्न नगराउनका लागि भूमिका निभाउन पहल गर्ने प्रतिवद्धता जनाएका हुन् । बैठकमा सहभागी दलका नेताहरुले जथाभावी नलेख्नका लागि आफ्नो मातहतका कार्यकर्तालाई सर्कुलर गराउनेछन् ।

    पछिल्लो समय राजनीतिक वा अन्य विषयमा फेसबुकमार्फत एक अर्का बिरुद्ध गालीगलौज गर्ने, बदनाम गर्ने, धम्की दिने लगायतका गतिविधि हुन थालेपछि प्रशासनको समन्वयमा सर्वदलीय बैठक आव्हान गरिएको हो । सामाजिक सञ्जालमा तथानाम लेख्ने क्रम बढेकाले नियन्त्रणका लागि सर्वदलीय बैठक राख्नु परेको प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले बताए ।

    गत असोज ४ गते दिक्तेल आइपुगेका कोशी प्रदेशका खानेपानी, सिँचाई, उर्जा तथा स्वास्थ्य मन्त्री तिलकुमार मेन्याङ्बोलाई कालोझण्डा देखाउने क्रममा पहिचानपक्षधर समुहमाथि बल प्रयोग भएको भन्दै हाल डिएसपी पुरुषोत्तम खड्का र प्रजिअ सुनार बिरुद्ध सामाजिक सञ्जालमा गालीगलौज भइरहेको छ ।

    डिएसपी खड्का बिरुद्ध जथाभावी लेखेको अभियोगमा एक युवा असोज ८ गते पक्राउ परेर रिहा भइसकेका छन् । अहिले पहिचानको पक्ष र विपक्षमा एक अर्का विरुद्ध गालीगलौज भइरहेका छन् ।

    यस्तै, असोज ८ गते मंगोल नेशनल अर्गनाइजेसन–डिजीजीको नेतृत्वमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपाको मसानेडाँडामा गोरु काटेर सामुहिक भोज खाए÷खुवाएको भिडियो सामाजिक सञ्जालमा राखिएपछि पनि पक्ष र विपक्षमा स्टाटसहरु आइरहेका छन् । विद्यमान कानूनी दुविधा भएका कारण गोरु काटेको विषयले विवाद निम्त्याइरहेको कांग्रेस खोटाङका सभापति राईले बताए ।

    मन्त्रीलाई कालो झण्डा देखाएको र गोरु काटेको घटनापछि कतिपय स्टाटसहरु सामाजिक सद्भाव भड्काउने खालका लेखिएका कारण प्रशासनले सर्वदलीय बैठक बोलाएको हो । सामाजिक सञ्जालमा एक अर्का बिरुद्ध धम्की र अश्लिल शव्द समेत प्रयोग गर्नेगरिएको देखिएको छ ।

    बैठकमा आगामी असोज १७ गतेदेखि असोज २१ गतेसम्म हुने अन्तर्राष्ट्रिय चित्रकला प्रदर्शनीलाई सफल वनाउन सहयोग गर्ने, विकास निर्माणमा भएका ढिलासुस्ती र लापरवाही बारे सूचना आदान प्रदान गरी सम्बन्धित निकायलाई सजग गराउने पत्रकार तथा संचार माध्यमले सकारात्मक सन्देश जाने खालका सूचना तथा सामाग्रीहरु प्रकाशन र प्रशारण गर्ने निर्णय भएको छ ।

    सम्बन्धित समाचार