Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    साकेलामा सम्झौता नवीकरण भएन

    ज्येष्ठ नागरिकलाई दिइदै आएको निःशुल्क यातायात सेवा कटौती

    ज्येष्ठ नागरिकलाई दिइदै आएको निःशुल्क यातायात सेवा कटौती


    • शनिवार, आश्विन १३ २०८०

    • नेपाल वाइड


    ज्येष्ठ नागरिकलाई दिइदै आएको निःशुल्क यातायात सेवा कटौती
    दिप्रुङ चुईचुम्मा गाउँपालिकाको कार्यालय याङ्सोलाटार र साकेला गाउँपालिकाको कार्यालय माक्तिममाभञ्ज्याङ खोटाङ ।

    खोटाङ, १३ असोज । खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिकामा ज्येष्ठ नागरिकलाई दिइदै आएको निःशुल्क यातायात सेवा कटौती गरिएको छ । गाउँपालिकाका ६५ वर्षमाथिका ज्येष्ठ नागरिकको निःशुल्क यात्राका लागि आर्थिक वर्ष २०७४/०७५ देखि सुरु गरिएको ज्येष्ठ नागरिक निःशुल्क यातायात सेवा कटौती गरिएको हो ।

    लक्ष्यित बर्गको नाममा परिवारका अन्य व्यक्तिले पनि सुविधा लिएको पाइएका कारण ज्येष्ठ नागरिक निःशुल्क यातायात सेवा २०७९ असार मसान्तदेखि कटौती गरिएको गाउँपालिका अध्यक्ष लोकेन्द्र राईले बताए । प्रभावकारी मापदण्ड अभावमा कतिपय ज्येष्ठ नागरिकका आफन्तले टिकट देखाएर निःशुल्क यातायात सेवा लिएको खुलेको गाउँपालिकाले जनाएको छ ।

    दिप्रुङ चुईचुम्मा गाउँपालिका र खोटाङ यातायात प्रालीबीचमा भएको सम्झौता अनुशार निःशुल्क यातायात सेवा पाउने ज्येष्ठ नागरिकलाई परिचय–पत्र वितरण गर्ने र सोही परिचय–पत्र देखाएर निःशुल्क यात्रा गर्ने व्यवस्था गरिएको थियो ।

    तर, ज्येष्ठ नागरिकलाई वितरण गरिएको परिचय–पत्र देखाएर परिवारका अन्य सदस्यले दुरुपयोग गरेको पाइएको गाउँपालिका अध्यक्ष राईले बताए । तत्कालिन गाउँपालिका अध्यक्ष भूपेन्द्र राई र उपाध्यक्ष सपना राई नेतृत्वको स्थानीय सरकारले ज्येष्ठ नागरिक निःशुल्क यातायात सेवा सुरु गरेका थिए ।

    यातायात प्रालि र गाउँपालिकाबीचमा गाउँपालिकाले पालिकाभित्रका ज्येष्ठ नागरिकलाई निःशुल्क यातायात उल्लेख भएको टिकटको व्यवस्था गर्ने, निशुल्क यातायात सुबिधा लिनका लागि ज्येष्ठ नागरिकले गाउँपालिकाले जारी गरेको ज्येष्ठ नागरिक निःशुल्क यातायात परिचय–पत्र बोकेको हुनुपर्ने, भुक्तानी लिन आउँदा यातायात व्यवसायीले उपयोग भएको सोही टिकटको अर्धकट्टी लिएर आउने, गाउँपालिकाले भुक्तानी समिति गठन गरेर सोही समितिमार्फत यातायात प्रालिलाई मासिकरुपमा भुक्तानी दिने, सम्झौता बार्षिकरुपमा नवीकरण गर्ने लगायतका सम्झौता भएको थियो ।

    साकेलामा सम्झौता नवीकरण भएन

    यस्तै, साकेला गाउँपालिकामा ज्येष्ठ नागरिक तथा ‘क’ र ‘ख’ वर्गको परिचय–पत्र पाएका अपांगता भएका व्यक्तिलाई दिइदै आएको निःशुल्क यातायात सेवाको सम्झौता नवीकरण नभएको पाइएको छ ।

    साकेला गाउँपालिकाका तत्कालिन गाउँपालिका अध्यक्ष अर्जुन खड्का र उपाध्यक्ष सरिता खड्काको पालामा आर्थिक वर्ष २०७६/०७७ देखि ज्येष्ठ नागरिक तथा ‘क’ र ‘ख’ वर्गको परिचय–पत्र पाएका फरक क्षमता भएका व्यक्तीलाई सडक यात्रामा शतप्रतिशत छुट दिने व्यवस्था मिलाइएको थियो ।

    चालु आर्थिक वर्ष भने ज्येष्ठ नागरिक तथा ‘क’ र ‘ख’ वर्गको परिचय–पत्र पाएका फरक क्षमता भएका व्यक्तीका लागि निःशुल्क यातायात सेवाको सम्झौता नवीकरण नभएको खोटाङ यातायात प्रालिका महासचिव रामकुमार हिङमाङले बताए । प्रालिले सम्झौता नवीकरणका लागि २०७९ चैत २२ गते प्रतिनिधि सुन्दर तामाङलाई साकेला गाउँपालिका पठाएको थियो ।

    साकेला गाउँपालिका र खोटाङ यातायात प्रालिबिच साकेला गाउँपालिका–रसुवाघाट–गाईघाट सडक तथा साकेला गाउँपालिका–दिक्तेल–काठ्माण्डौं सडकमा यात्रा गर्ने ज्येष्ठ नागरिक र अपांगलाई भाडामा शतप्रतिशत छुट दिने सम्झौता भएको थियो ।

    साकेला गाउँपालिका अध्यक्ष रबिप्रकाश राईले भने ज्येष्ठ नागरिक तथा ‘क’ र ‘ख’ वर्गको परिचय–पत्र पाएका अपांगता भएका व्यक्तिलाई दिइदैआएको निःशुल्क यातायात सेवाले निरन्तरता पाइरहेको बताए ।

    गाउँपालिका अध्यक्ष राईका अनुसार हाल वडा–वडामा टोकन वितरण भइरहेको छ । साकेला गाउँपालिकामा पनि ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तिका लागि उपलव्ध गराइएको टोकन प्रयोग गरेर अन्य व्यक्तिले निःशुल्क यातायात सेवा लिएको पाइएको छ ।

    साकेलामा यातायात प्रालिको बसबाट यात्रा गर्ने ज्येष्ठ नागरिक र अपांगता भएका व्यक्तीले सम्वन्धित वडाको वडाध्यक्ष वा वडा सचिवले प्रमाणित गरेको र वडा कार्यालयको छाप हालिएको टोकन लिएर यात्रा गर्ने व्यवस्था मिलाइएको थियो ।

    dff.jpg

    यातायात व्यवसायिले सम्झौता नवीकरणका लागि २०७९ चैत २२ गते प्रतिनिधि तोकेर साकेला गाउँपालिका पठाएको पत्र ।

    सम्बन्धित समाचार