Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    सुनौलो सपना कोईलाखादभित्रै अस्ताए

    सुनौलो सपना कोईलाखादभित्रै अस्ताए


    • आइतवार, आश्विन १४ २०८०

    • दमन राई


    सुनौलो सपना कोईलाखादभित्रै अस्ताए
    सिलोङको कोईलाखादभित्र पानीमा डुबेर ज्यान गुमाएका भुवन घिमिरे ।

    खोटाङ, १४ असोज । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाका–५ दुर्छिम छोकमालाका २१ वर्षीय भुवन घिमिरे पैसा कमाउनका लागि कक्षा छाडेर भारतको सिलोङस्थित कोईलाखाद पुगेका थिए ।

    पैसा कमाउनका लागि भन्दै गत कात्तिकमा बुवा शिव घिमिरेसँग सिलोङ पुगेका भुवन पानीमा डुबेर कोईलाखाद भित्रै अस्ताएका छन् । असोज ७ गते कोईलाखादभित्र पसेर कोईला निकाल्ने क्रममा छेकेको पानीको भेल फुटेर बगाउँदा भुवन सहित तीन नेपाली मजदुर वेपत्ता भएका थिए ।

    उनीहरुको शव ६ दिनपछि शनिबार बाहिर निकालिएको छ । अवैध रुपमा सिलोङ पुगेका मजदुरको शव गाउँमा ल्याउन कानूनी कठिनाइ भएका कारण त्यही दाहसंस्कार गरिएको छ ।

    ज्यान गुमाउनेमा एक जना पाँचथर र एक जना इलामका छन् । भुवन हलेसी तुवाचुङ नगरपालिकाका–३ च्यास्मीटारस्थित च्यास्मीटार माबिमा कक्षा १२ मा अध्ययनरत थिए । पढाई लगायत घर खर्च जुटाउनका लागि उनी कक्षा छाडेर सिलोङ पुगेका थिए ।

    कोईलाखादमा बुवा शिवले कोईला काट्ने र भुवनले कोईला तानेर निकाल्ने काम गर्दैआएका थिए । भुवनका छिमेकी एबं पुर्व वडासदस्य फलामसिं राईका अनुसार जमिनभित्र कोईला काट्ने क्रममा निस्किएको पानीलाई छेकेर अन्यत्र बग्ने व्यवस्था मिलाइएको हुन्छ । कोईला काट्दैजाँदा त्यही थुनेको पानी खोलिएर उनीहरुलाई बगाएको हो ।

    खोलिएको पानीको भेलले बगाएका शिवलाई भने सुरुङको प्रवेशद्धारमा बाहिर निकालेका कारण ज्यान जोगिएको छ । उनी घाईते भएका छन् । भुवन घरका पाँच भाईमध्ये कान्छो हुन् ।

    उनी सिलोङ जानुअघि विद्यालयका नियमित छात्र थिए । उनको निधनमा आइतबार शोकविदा गरिएको च्यास्मीटार माबिका प्रअ तेजकुमार राईले बताए । उनी विद्यालयमा भद्र र इमान्दार छात्रका रुपमा चिनिन्थे । बुवा शिब एक पटक घर आएर पुःन सिलोङ पुगेका थिए तर भुवनले भने गत जेठको कक्षा १२ को परिक्षा समेत छुटाएका थिए ।

    dd.jpg

    सिलोङको कोईलाखादभित्र पानीमा डुबेर ज्यान गुमाएका भुवन घिमिरे सहित तीन नेपाली ।

    प्रअ राईका अनुसार विद्यालयका १५ प्रतिशत विद्यार्थी मजदुरी गर्न अन्यत्र जाने र परिक्षामा सहभागी हुन आउने गरेका छन् । हलेसी तुवाचुङ नगरपालिकाकाका विभिन्न वडाका स्थानीय रोजगारी खोज्दै सिलोङ पुग्ने गरेका छन् ।

    प्रायः दशैं र तिहार मनाएपछि रोजगार खोज्दै स्थानीय सिलोङ, मिजोरम, कालेङपुङ, जयन्ती, बरबाई, मुक्ते, सिमेन्ट, याङकुलुङ, राँगाघाट लगायतका ठाउँमा जाने गरेका छन् ।

    जमिनमुनी पसेर कोईला काट्ने, निकाल्ने र ओसार्ने जोखिमपूर्ण काम गरेपछि उनीहरु प्रायः चैत्र लागेसँगै खेतीपातीका लागि घर फर्कने गरेका छन् । कतिपय भने वर्षौँसम्म सिलोङमै बिताउने गरेका छन् ।

    सिलोङ पुगेर फर्किएका स्थानीयका अनुसार कोईलाखादभित्र जोखिम मोलेर करिब अढाइ फिट अग्लो चेपमा कोल्टो परेर गैंतीले कोईला काट्ने गरिन्छ । कोईला काट्नका लागि कामदार हातमा गैंती, मैन बत्ती वा टाउकोमा टर्च बाँधेर जमिन भित्रभित्रै करिब दुई अढाई सय फिट टाढा पुग्छन् ।

    सिलोङ जाने आउने क्रममा भारतको बोक्सीघाट, नौगाउँ लगायतका ठाउँमा लुटपाट, दुर्व्यवहार खेप्नुपर्ने वाध्यता छ । कतिपय प्रहरीलाई पैसा खुवाउनुपर्ने वाध्यता रहेको उनीहरु बताउँछन् ।

    सम्बन्धित समाचार