Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङः रसुवाघाट–कालापानी लिफ्टिङ खानेपानी आयोजना बन्द

    खोटाङः रसुवाघाट–कालापानी लिफ्टिङ खानेपानी आयोजना बन्द


    • सोमवार, आश्विन १५ २०८०

    • नेपाल वाइड


    खोटाङः रसुवाघाट–कालापानी लिफ्टिङ खानेपानी आयोजना बन्द
    लिफ्टीङ खानेपानी आयोजनाको उद्घाटन गर्दै दिप्रुङ चुईचुम्मा गाउँपालिकाका तत्कालिन अध्यक्ष भूपेन्द्र राई ।

    खोटाङ, १५ असोज । उपकरण बिग्रँदा खोटाङको खोटेहाङ गाउँपालिका–९ लिच्कीराम्चे कालापानीमा सुनकोसीको पानी निकाल्न सञ्चालन गरिएको लिफ्टिङ खानेपानी आयोजना तीन महिनादेखि बन्द भएको छ ।

    एउटा लिफ्टको मोटर चलाउने पाइनल बोर्ड बिग्रेका कारण गत असारदेखि रसुवाघाट–कालापानी खानेपानी आयोजना बन्द भएको उपभोक्ता समितिका अध्यक्ष कर्णबहादुर राउतले बताए ।

    रसुवाघाट–कालापानी खानेपानी आयोजना खोटाङकै पहिलो लिफ्टीङ आयोजना हो । कहिले बेलामा विद्युत महसुल बुझाउन नसक्दा र कहिले उपकण बिग्रँदा लिफ्टिङ खानेपानी आयोजना बन्द हुने गरेको छ ।

    प्रदेश सरकार खानेपानी तथा सरसफाई डिभिजन कार्यालय खोटाङले उपकरण खरिद गरिदिने र दशैं अघिबाट लिफ्टिङ खानेपानी आयोजना पुःन सुचारु गराउने तयारी भइरहेको उपभोक्ता समितिले जनाएको छ ।

    खानेपानीको चरम अभाव रहेको लिच्कीराम्चेको कालापानीमा करिब एक हजार आठ सय मिटर तल रहेको सुनकोसीबाट २०७६ साल पुस २४ गतेदेखि पानी निकालिएको थियो ।

    साविकको लिच्कीराम्चे–७ का ९७ घरलाई लक्ष्यित गर्दै सम्पन्न रसुवाघाट–कालापानी लिफ्ङि योजना २०७७ पुस ११ गते दिप्रुङ चुईचुम्मा गाउँपालिकाका तत्कालिन अध्यक्ष भुपेन्द्र राईले उद्घाटन गरेका थिए ।

    आयोजना स्वयं राईले नै २०७२ साल चैत्र ११ गते शिलान्यास गरेका थिए । नेपाल सरकार खानेपानी तथा सरसफाई मन्त्रालयको अनुदान तथा उपभोक्ताको ३६ लाख बराबरको श्रमदान गरी एक करोड ८० लाखमा रसुवाघाट–कालापानी खानेपानी आयोजनाको काम सम्पन्न भएको थियो ।

    खानेपानीको समस्या चर्किदै गएपछि कालापानीमा सुनकोसीको पानी लिफ्ट गर्ने प्रयास स्वरुप २०७० सालमा ‘डिटेल सर्भे’ गरिएको थियो । कालापानीमा खानेपानीको समस्या हल गर्न ‘नदीको पानी निकाल्नु वा बस्ती सार्नु’ पर्ने अवस्था देखिएपछि राईकै पहलमा रसुवाघाट–कालापानी लिफ्टीङ आयोजनाको काम अघि बढाइएको थियो ।

    लिफ्टीङ आयोजनाका लागि नदी किनारमा मेसिन राख्ने घर निर्माण गरेर पानी तान्ने बोरिङ उपकरण जडान गरिएको छ । सो बोरिङस्थलबाट विद्युतको सहायतामा ५० एमएमको जिआई पाईपमार्फत १०/१० हजार लिटर क्षमताको दुई वटा सप्लाई ट्यांकीमार्फत सबैभन्दा माथि गाउँमा निर्माण गरिएको ३५ हजार लिटर क्षमताको आरसिसि ट्यांकीमा पानी जम्मा गरेर वितरणको व्यवस्था मिलाइएको अध्यक्ष राउत बताउँछन् ।

    कालापानीमा सुनकोसीको पानी तान्ने योजना सुरु भएसँगै हलेसी क्षेत्रमा दुधकोसीको, रावाबेँसीको डुम्रेधारापानीमा दुधकोसीको र दिक्तेलमै साप्सु खोलाको पानी लिफ्ट गर्ने योजना सुरु भइसकेका छन् ।

    लिफ्टीङ खानेपानी आयोजनाको चर्को महसुल

    लिच्कीराम्चेमा केही समयअघिदेखि दिहुँ खोला खानेपानी योजना सञ्चानलनमा ल्याइएपछि लिफ्टीङ आयोजनाको पानी प्रयोग गर्नुपर्ने वाध्यत्मक अवस्था हटेको छ ।

    लिफ्टीङ गरिएको नदीको पानीभन्दा दिहुँ खोलाको पानीको महसुल सस्तो पर्ने भएकाले पछिल्लो समय उपभोक्ताले लिफ्टीङ गरिएको पानी कम प्रयोग गर्न थालेका छन् ।

    लिफ्टीङ गरिएको पानीको महसुल मासिक न्युनतम पाँच सय पर्छ जवकी दिहुँ खोलाको पानीको महसुल बार्षिक पाँच सय पर्न जान्छ । गत असारअघिको करिब दुई लाख विद्युत महसुलमध्ये अझै ५०/६० हजार महसुल चुक्ता गर्न बाँकी रहेको उपभोक्ता समितिका अध्यक्ष राउत बताउँछन् ।

    “ग्राहकबाट शुल्क उठाइयो, उठाएर पनि साध्य भएन । धान्नै सकिएन । दुई वर्षसम्म तिरिएन, नतिर्दा महसुलको मात्रा धेरै भयो । पैसा नतिरेपछि लाइन काटियो, श्रोत जुटाएर शुल्क तिरेर असारमा जोडियो तर मोटर चलाउने पाइनलबोर्ड बिग्रेको छ,” राउतले भने, “पहिला खोलाको पानी नआउँदा नदीको पानी उपभोग गर्नुपर्ने वाध्यता थियो अहिले त्यो बाध्यता छैन ।”

    स्थानीय तह, प्रदेश र संघीय निर्वाचनका बेला उम्मेदवारहरुले ‘पानीको महसुल नतिर्नु, जितेपछि हामी तिरिदिन्छौँ’ भन्दै भोट मागेपछि महसुल उठाउन सकस परेको उपभोक्ता समितिले जनाएको छ । 

    सम्बन्धित समाचार