बुधवार, आश्विन १७ २०८०
नेपाल वाइड
खोटाङ, १७ असोज । खोटाङमा बुधबार (आज)देखि हुने ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी’ सुरु हुँदैछ । जिल्लाको धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोको आयोजनामा ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी’ सुरु हुन लागेको हो ।
खोटाङको कला, संस्कृति र पर्यटनको प्रवर्द्धनका लागि १० वटै स्थानीय तहमा भएका पाखा, पखेरा, जंगल, खोल्साखाल्सी, खोँच, लेकबेँसीका साथै प्राकृतिक, साँस्कृतिक, धार्मिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीको सुन्दर पक्षहरुको प्रचारका लागि लाइभ चित्रकला तथा प्रदर्शनी आयोजना गरिएको मेयर तीर्थराज भट्टराईले बताए ।
लाइभ चित्रकला कार्यशाला तथा प्रदर्शनीले खोटाङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थानहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा परिचित गराउन र ती स्थानको महत्व, संस्कृति, सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा टेवा पुर्याउने दावी गरिएको छ । ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी’मा सहभागीताका लागि अष्ट्रेलिया, बंगलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका कलाकार काठमाडौंबाट दिउँसो दिक्तेल आइपुग्ने कार्यक्रम छ ।
लाइभ चित्रकला कार्यशाला एबं कला प्रदर्शनी अन्तरगत स्वदेशका १७ जना र विदेशका २० कलाकारले दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका लगायत जिल्लाका अन्य महत्वपूर्ण ठाउँको दृश्यलाई क्यानभासमा प्रत्यक्ष उतार्ने छन् ।
१८ लाख खर्च हुने लाइभ चित्रकला कार्यशाला एबं प्रदर्शनीको अवधिमा स्वदेश तथा विदेशका कलाकारले करिब सय वटाको हाराहारीमा क्यानभास पेन्टिङ तयार पार्ने मेयर भट्टराईले बताए । कलाकारले उतारेका क्यानभास पेन्टिङलाई राखेर असोज २० गते दिक्तेलमा चित्रकला प्रदर्शनी सहित स्थानीय परिकारको स्टल, साँस्कृतिक झाँकी, नृत्य प्रदर्शन गर्ने तयारी गरिएको छ ।
कलाकारले क्यानभासमा उतारेका लाइभ चित्रकलालाई केही महिनापछि काठमाडौं आर्ट ग्यालरीमा लगेर प्रदर्शनीको योजना बनाइएको छ । चित्रकला कार्यशाला एबं प्रदर्शनीका अवधिमा तयार पारिएका क्यानभासलाई संग्रहालय बनाएर राख्ने योजना बनाइएको छ ।
‘जिल्लाको सबै नगरपालिका तथा गाउँपालिकाको महत्व झल्किने स्थान तथा क्रियाकलाप सम्वन्धी प्रत्यक्ष चित्रकला तथा प्रदर्शनी गर्ने तयारी गरेका छौँ,’ मेयर भट्टराईले भने, ‘प्रत्यक्ष चित्रकला, संस्कृति र पर्यटनको माध्यमबाट खोटाङको पहिचान देश विदेशमा गराएर पर्यटन प्रवद्र्धन गर्ने हाम्रो लक्ष्य हो ।’ ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी’को तयारी तथा कलाकार र अथितिको स्वागतमा दिक्तेलबजारदेखि महुरेसम्मका विभिन्न ठाउँमा स्वागत द्धार तयार पारिएको छ ।
बजार तथा सडक सरसफाई एबं सजावट गरिएका छन् । चित्रकला कार्यशालामा जिल्लाका छात्र/छात्रालाई पनि सहभागी गराइने छ । गत चैत १९ गते बसेको नगर कार्यपालिकाको बैठकले प्रत्यक्ष चित्रकला कार्यशाला एवं प्रदर्शनी गर्ने निर्णय गरेको थियो ।
लाइभ चित्रकला कार्यशाला एबं कला प्रदर्शनीका लागि दिक्तेल रुपाकोट मझुवानगरपालिकाका १५ वडाबाट प्राकृतिक, साँस्कृतिक, ऐतिहासिक, भौगोलिक स्थान, क्षेत्र र जीवनशैलीको परिचय र पर्यटकीय महत्व सहितका तस्बिरहरु प्राथमिकीकरण एवं छनौट गरिएको छ । यस्तै, जिल्लाका अन्य नौ स्थानीय तहबाट प्राथमिकीकरण गरेर पठाइएका तस्बीरहरु समेत प्रत्यक्ष चित्रकलाका आकर्षण हुने नगरपालिकाले जनाएको छ ।