Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    एकैघरका भाईलाई ब्रेन क्यान्सर, दिदिलाई ब्रेन ट्युमर

    एकैघरका भाईलाई ब्रेन क्यान्सर, दिदिलाई ब्रेन ट्युमर


    • बिहिवार, आश्विन १८ २०८०

    • नेपाल वाइड


    एकैघरका भाईलाई ब्रेन क्यान्सर, दिदिलाई ब्रेन ट्युमर
    ब्रेन ट्युमर भएकी छोरी अस्मिताको उपचारका क्रममा ब्रेन क्यान्सर भएका छोरा आयुषका साथ उर्मिला परियार ।

    खोटाङ, १८ असोज । खोटाङको खोटेहाङ गाउँपालिका–४ बड्कादियाले (थामखर्क)का २१ महिनाको आयुष परियार ब्रेन क्यान्सरबाट पिडित छन् । उनकै दिदि १३ वर्षीय अस्मिता परियार ब्रेन ट्युमरको समस्याबाट । एकै परिवारका दिदिभाईलाई प्राणघातक रोगले गाँजेपछि बुवा सन्तोष परियार र आमा उर्मिला परियारलाई पर्नुसम्म चोट परेको छ ।

    सन्तोष बैदेसिक रोजगारीका सिलसिलामा मलेसियामा छन् । उर्मिला ब्रेन क्यान्सर भएका छोरा र ब्रेन ट्युमर भएकी छोरीलाई लिएर अस्पताल चाहार्न वाध्य छिन् ।

    बिरामी छोरा र छोरीको उपचारका क्रममा परियार दम्पत्तीको लाखौं रकम खर्च भइसकेको छ । छोराछोरीको थप उपचार खर्च जुटाउनका लागि परियार दम्पत्तीले सहयोगको याचना गरिरहेका छन् । परियार दम्पत्तीका तीन सन्तान छन् । त्यसमध्ये जेठी अस्मितालाई ब्रेन ट्युमर र एक मात्र छोरा आयुषलाई ब्रेन क्यान्सर पूष्टि भएको हो ।

    अस्मिता र आयुषलाई लिएर अस्पताल धाउन परेपछि उर्मिलाले आठ वर्षकी छोरी कन्चनलाई मावली घर उर्लाबारीमा राखेको बताउँछिन् । आयुषलाई अकस्मात बेहोस हुने, वान्ता हुने, झाडापखाला लाग्ने लगायतका समस्या देखिन थाल्यो ।

    सुरु सुरुमा धामी झाँक्रीको भर गरिए । स्थानीय स्वास्थ्य संस्थामा लगिए तर रोग निको नभएपछि आयुषलाई गत चैत १ गते नोबेल अस्पताल बिराटनगर लगिएको थियो । नोबेलले बच्चालाई ‘क्यान्सर भएको, बाँच्दैन’ भनिदियो ।

    अत्तालिदै बिराटनगरकै बिराट मेडिकल कलेज लगियो । बिराट मेडिकलले बीर अस्पताल वा त्रिभुवन बिश्व विद्यालय शिक्षण अस्पताल महाराजगञ्ज लैजान भनेपछि आयुषलाई चैत ३ गते शिक्षण अस्पतालमा भर्ना गरिएको उर्मिला बताउँछिन् । चैत ४ गते शल्यक्रीया गरेर टाउकोबाट पानी निकालियो । चैत २९ गते अर्को शल्यक्रीया गरेपछि आयुषको स्वास्थ्य अवस्थामा सामान्य सुधार आइरहेको छ ।

    शल्यक्रीयापछि बैसाख २० गते अस्पतालबाट निकालेर आयुषलाई बालकान्ती अस्पतालमा किमो गराउने गरिएको छ । सुरुसुरुमा २२ दिनको फरकमा र त्यसपछि १५ दिनको फरकमा किमो दिने गरिएको छ ।

    “आयुषको उपचारका क्रममा आठ लाख खर्च भइसकेको छ । अझ खर्च लाग्छ भनेको छ,” उर्मिलाले भनिन्, “तर मायाँ मारिसकेको बच्चा आशा लाग्दो भएको छ । सुधार भइरहेको छ ।” आयुषलाई निको पारेर अस्पतालको बेडबाट निकाल्न नपाउँदै दिदि अस्मितालाई गत असारदेखि रिसाउने, झर्किने, बेहोस् हुँदै ढल्ने, बायाँ आँखा टेढो हेर्ने, टाउको पछाडिको भाग फुल्दै जाने समस्या देखियो ।

    उर्मिलाले बिरामी आयुषलाई काखमा च्यापेर अस्मितालाई बिराटनगर न्यूरो अस्पतालमा पुर्‍याईन् । एमआरआइ गरियो । तीन लाख डिपोजिट लाग्ने तथा आइसियु, औषधि लगायतका लागि थप पाँच लाख जति जम्मा गर्न लगाइयो । भनेजति खर्च जुटाउन सक्ने अवस्था नभएपछि अस्मितालाई साउन २८ गते काठमाडौं लगिएको थियो ।

    एमआरआई र वायप्सी गरेपछि अस्मितालाई असोज ४ गते टिचिङ अस्पतालमा भर्ना गरिएको उर्मिला बताउँछिन् । अस्मिताको ब्रेन ट्युमरको बिहिबार शल्यक्रीया गरिएको छ । “छोरीको उपचारमा पनि डेढ लाख खर्च भइसकेको छ । अझै छ लाख जति खर्च हुन्छ भनेको छ,” उर्मिलाले भनिन्, “एकातिर छोराको उपचारमा खर्च भइरहेको छ ।

    अर्कातिर छोरीको उपचारमा उत्तिकै खर्च हुँदैछ । आफैले उपचार गर्नसक्ने अवस्था छैन । आफन्त तथा शुभेच्छुकको साथ सहयोगमा उपचार खर्च धानिरहेकी छु ।” अस्मिता भगवती दिनानाथ माबि खोटाङबजारमा कक्षा ८ मा पढ्छिन् ।

    स्वास्थ्यमा समस्या आएपछि उनी विद्यालय जान सकेकी छैनन् । सन्तोष २०७९ मंसिरमा मलेसिया पुगेका हुन् । उनले दुःख गरेर कमाएको पैसा पनि छोरा र छोरीकै उपचारमा खर्च भइरहेको छ ।

    छोराछोरीको उपचारका क्रममा परियार दम्पत्तीको सम्पत्ती सक्किसकेको छ । परियार दम्पत्तीको आफै उपचार खर्च जुटाउने अवस्था नभएका कारण आफन्तबीचमा सहयोग उठाउने अभियान थालिएको छिमेकी रोशन पौडेलले बताए ।

    पौडेलका अनुसार राष्ट्रिय बाणिज्य बैंक शाखा कार्यालय, खोटाङबजारमा उर्मिलाको नाममा खोलिएको खाता नम्बर ११५०१०००४५५९१०१० मा सहयोग संकलन गर्ने व्यवस्था मिलाइएको छ ।

    dadf.jpg

    सम्बन्धित समाचार