शुक्रवार, आश्विन १९ २०८०
दमन राई
खोटाङ, १९ असोज । यूएसएकी चित्रकार प्रोफेसर जोय वल्फले शुक्रबार खोटाङको दिक्तेलबजारस्थित किरातचोकको एउटा घरको बार्दलीबाट देखिने दृश्यलाई क्यान्भासमा उतार्दै थिईन् । बार्दलीमा कुर्सी राखेर बस्दा अगाडि दक्षिणतर्फ जे दृश्य देखियो, त्यही दृश्यलाई चित्रमा उतार्न तल्लिन् थिईन् प्रोफेसर वल्फ । नभन्दै एक डेढ घण्टामा अगाडि देखिएका दृश्यको दुरुस्त चित्र क्यान्भासमा तयार पारिन् ।
यस्तै, काठ्माडौंबाट आएका चित्रकार बिजय थापा पनि घरको बार्दलीबाट अगाडि देखिएका दृश्यलाई क्यान्भासमा जस्ताको तस्तै उतार्ने प्रयासमा थिए । चित्रकार थापाले घरी–घरी दृश्यतिर हेर्थे अनि आर्ट ब्रसलाई रंगमा चोबेर सेतो क्यान्भासमा चलाउँथे । थापाले दिक्तेलबजार प्रवेशद्धार र त्यसको पृष्ठभूमीलाई फोटोझैं उतारेर देखाए । लिथुआनीयका युवा चित्रकार इगिरदास साउलीयस क्रुओपिसले पहाडी भुभागको चित्रलाई क्यान्भासमा दुरुस्त उतारेर देखाए ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका र धनु आर्ट स्टुडियोले आयोजना गरेको ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी’ अन्तरगत शुक्रबार स्वदेश तथा विदेशका चित्रकारहरुले लाइभ चित्र कोरेका हुन् ।
१८ जना विदेसी र २५ जना स्वदेसी चित्रकारले मझुवागढी, भवनगैरा, हाटडाँडा, शंखधर शाख्वा र शुभम फाउण्डेसनमा पुगेर फरक–फरक दृश्यका चित्र कोरेका छन् । कतिपय चित्रकारले अगाडि जे देखिन्छ त्यही दृश्यलाई क्यान्भासमा उतारे । कसैले मोबाइलमा कैंद गरिएका राम्रा दृश्यलाई र कोहीले आफ्नै इच्छा अनुसार चित्रहरु कोरेका छन् ।

शुभम फाउण्डेसनमा चित्र कोर्दाकोर्दै चिनका चित्रकार प्राध्यपक याङ हेप्पङले खुसीको खबर पाए । आफुले तयार पारेको पेन्टिङ फ्रान्समा महंगो मूल्यमा बिक्री भएको खबर पाएपछि उनले फुरुङ्ग भएर रमाउँदै क्यान्भासमा रंग भरेका थिए ।
उनी पेकिङ बिश्वविद्यालयका पुर्वडिन तथा प्राध्यपक हुन् । याङ हेप्पङले तयार पारेको एउटा पेन्टिङले फ्रान्समा दुई करोड (नेपाली रुपैयाँ) भन्दा बढी मूल्य पाएको खबर आएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए ।
जिल्लाको धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी आयोजना गरिएको हो ।
असोज १७ गतेदेखि सुरु भएको चित्रकला तथा प्रदर्शनीमा नेपाल सहित अष्ट्रेलिया, बंगलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका चित्रकार खोटाङ आएका छन् ।
चित्रकारले उतारेका पेन्टिङ चित्रलाई दिक्तेलको सरस्वती माबिको प्रांगणमा प्रदर्शनी, सांगीतिक कार्यक्रम, स्थानीय परिकारको स्टल, साँस्कृतिक झाँकी, नृत्य प्रदर्शन सहित असोज २० गते कार्यक्रम समापन गर्ने तयारी छ ।

चित्रकला प्रदर्शनीमा जिल्लाका छात्र/छात्राले तयार पारेका चित्रलाई पनि समावेश गराइने नगरपालिकाले जनाएको छ । जिल्लाको धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवर्द्धन गर्ने उद्धेश्यले १८ लाख खर्चमा चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी आयोजना गरिएको हो ।
लाइभ चित्रकला कार्यशाला तथा प्रदर्शनीले खोटाङको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय स्थानहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा परिचित गराउन र ती स्थानको महत्व, संस्कृति, सभ्यता, धार्मिक तथा पर्यटकीय क्षेत्रको प्रवर्द्धनमा टेवा पु¥याउने दावी गरिएको छ ।
कलाकारले क्यानभासमा उतारेका लाइभ चित्रकलालाई केही महिनापछि काठमाडौं आर्ट ग्यालरीमा लगेर प्रदर्शनीको योजना बनाइएको मेयर भट्टराईले बताए । गत चैत १९ गते बसेको नगर कार्यपालिकाको बैठकले प्रत्यक्ष चित्रकला कार्यशाला एवं प्रदर्शनी गर्ने निर्णय गरेको थियो ।