Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    रावाबेँसीमा शिक्षक छनौट परिक्षा बीचैमा रोकियो, उत्तरपुस्तिका प्रहरीको नियन्त्रणमा

    रावाबेँसीमा शिक्षक छनौट परिक्षा बीचैमा रोकियो, उत्तरपुस्तिका प्रहरीको नियन्त्रणमा


    • आइतवार, आश्विन २१ २०८०

    • नेपाल वाइड


    रावाबेँसीमा शिक्षक छनौट परिक्षा बीचैमा रोकियो, उत्तरपुस्तिका प्रहरीको नियन्त्रणमा
    हौंचुरको पोखरीस्थित पञ्चकन्य आधारभुत विद्यालय ।
    खोटाङ, २१ असोज । खोटाङको रावाबेँसी गाउँपालिका–६ हौंचुरको पोखरीस्थित पञ्चकन्य आधारभुत विद्यालयको शिक्षक छनौट परिक्षा रद्ध भएको छ । परिक्षा ‘फेयर’ नभएको भन्दै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन गुरुङले उत्तरपुस्तिका नियन्त्रणमा लिएर दिक्तेलतर्फ हिँडेपछि परिक्षा रद्ध गरिएको हो ।
     
    प्रावि करार शिक्षक नियुक्तीका लागि आइतबार गाउँपालिकाको केन्द्र हरमटारमा परिक्षा सञ्चालन गरिएको थियो । पहिलो पत्रको वस्तुगत परिक्षाको रिजल्ट प्रकाशन गर्नेबेलामा परिक्षा हलमा बखेडा निस्किएको हो ।
     
    परिक्षाको नतिजाप्रति असहमती राख्दै विव्यास अध्यक्ष गुरुङले बोकेर हिँडेको उत्तरपुस्तिका प्रहरीले नुनथलाबाट प्रहरीले नियन्त्रणमा लिएको छ । नियन्त्रणमा लिइएको उत्तरपुस्तिकाका विषयमा सबैपक्षलाई राखेर छलफल गराइने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी निरिक्षक बेनु कार्कीले बताए । परिक्षामा ६ परिक्षार्थी सहभागी भएका थिए ।
     
    गाउँपालिकाका शिक्षा शाखा प्रमुख सन्तोष तिमल्सिना र रोष्टर शिक्षक केशव राना मगरले प्रकृयागत कमजोरी गरेकाले उत्तर पुस्तिका नियन्त्रणमा लिइएको विव्यास अध्यक्ष गुरुङले दावी गरे ।
     
    “परिक्षा एकलौटी गर्नुभयो । फोन स्वीचअफ गराइएन, प्रश्नपत्र निर्माण गरेपछि शिल गरिएन, विद्यालयकोतर्फबाट ५० प्रतिशत प्रश्न राख्न पाउने अधिकारमा बन्देज गराइयो,” गुरुङले भने, “मेरो घरमा पनि पढेको छोराबुहारी छ तर मैले मेरो छोराबुहारी राख्न चाहिरहेको छैन । वस्तुगत परिक्षापछि दुई जनाले मात्रै दोश्रो पत्रको परिक्षा दिन पाउँछ भनेकाले मैले उत्तर पुस्तिका लिएर हिँडेको हो । प्रकृयागत कुरामा मेरो विमती हो ।”
     
    प्रअ हिकमतसिं धामीका अनुसार परिक्षाको रिजल्टमा चित्त नबुझेको भन्दै गुरुङले परिक्षा रद्धको प्रस्ताव राखेका थिए । प्रस्ताव अस्वीकार भएपछि गुरुङ रोष्टरको हातबाट उत्तरपुस्तिका खोसेर हिँडेका थिए ।
     
    विव्यास अध्यक्ष गुरुङ उत्तरपुस्तिका लिएर हिँडेपछि परिक्षा समितिको बैठक बसेर अर्को सुचना प्रकाशित नभएसम्मका लागि परिक्षा रद्ध गर्ने निर्णय गरिएको शिक्षा शाखा प्रमुख तिमल्सिनाले बताए ।
     
    हौंचुरका वडाध्यक्ष चिरञ्जिबी कार्कीले भने विव्यास अध्यक्ष गुरुङको कमजोरी देखिएको औंल्याएका छन् । विद्यालयमा आफ्नो मान्छे भर्ती गर्ने ‘इन्ट्रेष्ट’ बाझ्दा खोटाङका विभिन्न विद्यालयको शिक्षक छनौट परिक्षा विवादित भइरहेका छन् ।
     
    केही समयअघि रावाबेँसी गाउँपालिका–३ लामीडाँडास्थित बिश्वज्योती माबिको शिक्षक नियुक्ती बिरुद्ध परिक्षार्थी दानबहादुर राईले गाउँपालिकामा उजुरी दिएका थिए ।
     
     

    सम्बन्धित समाचार