सोमवार, आश्विन २२ २०८०
नेपाल वाइड
खोटाङ, २२ असोज । समाजवादी मोर्चा नेपाल खोटाङले असोज २६ गते सन्देशसभा गर्ने तयारी गरेको छ । नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी आवद्ध जिल्लास्थित समाजवादी मोर्चाले दिक्तेलबजारमा सन्देशसभा गर्ने तयारी गरेको हो ।
समाजवादी मोर्चाले सोमबार नेकपा (माओवादी केन्द्र)को कार्यालयमा पत्रकार सम्मेलन गर्दै सन्देशसभाको तयारी गरेको जानकारी दिएको छ । सन्देशसभालाई माओवादी केन्द्रका केन्द्रीय अनुशासन आयोगका अध्यक्ष एवं पूर्वसांसद टंक राई, नेकपा (एकीकृत समाजवादी) पार्टीका पोलिटब्यूरो सदस्य एवं पूर्वमन्त्री राजन राई, जनता समाजवादी पार्टी (जसपा)का केन्द्रीय कार्यकारिणी सदस्य रकम चेम्जोङ, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) विप्लप समूहका केन्द्रीय सदस्य चन्द्र बुढाथोकी ‘सैलेश सी’ लगायतका नेताहरुले सम्बोधन गर्नेछन् ।
सन्देशसभा कार्यक्रमकै बीचमा समाजवादी मोर्चाको जिल्ला कार्यसमिति घोषणा गर्ने जसपा खोटाङका जिल्ला अध्यक्ष पिके खम्बुले बताए । केन्द्रीय निर्देशन अनुसार मोर्चाको जिल्ला कार्य समितिमा चार वटै दलका दुई/दुई जनालाई सहभागी गराइने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
पत्रकार सम्मेलनमा माओवादी केन्द्रका जिल्ला संयोजक दीपक पाण्डे ‘आकाश’, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष जलसेर राई, जसपाका अध्यक्ष खम्बु, नेकपाका जिल्ला ईन्चार्ज सञ्जिव मगर (सी) लगायतका नेताहरु उपस्थित थिए ।
मोर्चाले जिल्लाको विकास निर्माणमा भइरहेका ढिलासुस्ती बिरुद्ध आवाज उठाउने विषयमा छलफल गरेको जनाएको छ । मोर्चाले जिल्लामा नेकपा (एमाले) बाहेक अन्य सबै राजनीतिक दलसँग सहकार्य गरेर अगाडि बढ्ने नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष राईले जानकारी दिए ।