बिहिवार, आश्विन २५ २०८०
नेपाल वाइड
खोटाङ, २५ असोज । दक्षिण कोरिया रहेका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका युवा बिनेश राईले एसइईमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीलाई नगद पुरस्कार प्रदान गरेका छन् ।
बैदेसिक रोजगारीका सिलसिलामा हाल दक्षिण कोरिया पुगेका राईले २०७९ को एसइई परीक्षामा सबैभन्दा उत्कृष्ट जिपिए ल्याएर उत्तिर्ण हुने कालिका माध्यमिक विद्यालय बाहुनीडाँडाका छात्र तविन राईलाई नगद ३० हजार पुरस्कार प्रदान गरेका हुन् ।
आफ्नो जन्मथलोको विद्यालयमा अध्ययन गर्ने विद्यार्थीको प्रोत्साहन तथा हौसलाका लागि प्रवासबाट नगद पुरस्कार प्रदान गरिएको राईले बताए ।
विद्यालयले बिहिबार आयोजना गरेको वडादशैंको शुभकामना आदान–प्रदान तथा एसइईमा उत्कृष्ट जिपिए प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कार वितरण तथा सम्मान कार्यक्रममा राईका बुवा चहलसिं राईले छात्र राईलाई नगद पुरस्कार हस्तान्तरण गरेका छन् ।
राई २.८५ जिपिए अंक ल्याएर एसइई उत्तिर्ण भएका हुन् । दक्षिण कोरियामा रहेका राईले पाँच वर्षसम्म कालिका माध्यमिक विद्यालयबाट एसइइ उत्तिर्ण गर्ने विद्यार्थीलाई बार्षिक ३० हजार नगद पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । त्यसपछि छुट्टै कोष खडा गरेर एसइईका उत्कृष्ट विद्यार्थीलाई नगद पुरस्कार प्रदान गर्ने व्यवस्था मिलाइने राईले बताए ।