Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images
    अधिकांश ई–हाजिरी कोभिडको निहुमा बन्द

    नगरपालिकाले विद्यालयमा जडान गरेको ई–हाजिरी बिग्रेर थन्किए

    नगरपालिकाले विद्यालयमा जडान गरेको ई–हाजिरी बिग्रेर थन्किए


    • आइतवार, आश्विन २८ २०८०

    • दमन राई


    नगरपालिकाले विद्यालयमा जडान गरेको ई–हाजिरी बिग्रेर थन्किए
    दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको कार्यालय

    खोटाङ, २८ असोज । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १८ माबिमा जडान गरिएको ई–हाजिरी प्रभावहिन बनेको छ । विद्यालयमा शिक्षकको उपस्थितिलाई नियमित गर्नका लागि नगरपालिकाले १५ वटै वडाका एक बाहेक सबै माबिमा जडान गरेको ई–हाजिरीको उपकरण बिग्रेर थन्किएका छन् ।

    नगरपालिकाले शिक्षकको ई–हाजिरी ट्र्याकिङ गर्नेगरी २०७५ असोज १ गतेदेखि नगरका सबै माबिमा लाखौं खर्च गरेर ई–हाजिरी सञ्चालनमा ल्याएको थियो । सामुदायीक बिद्यालयका शिक्षकको उपस्थितिलाई नियमित गर्दै शैक्षिक गुणस्तर उकास्नका लागि माबिमा जडान गरिएको ई–हाजिरीको अवस्थाका बारेमा हाल नगरपालिका नै बेखबर छन् ।

    स्वयं विद्यालयले पनि बिग्रेका ई–हाजिरीको उपकरण मर्मत गरेर पुःन सञ्चालनमा ल्याउने वा नयाँ उपकरण जडान गर्नमा चासो देखाएका छैनन् । बिग्रेको ई–हाजिरी पुःन सञ्चालनमा ल्याउने तदारुकता नदेखिनुले कतिपय शिक्षकलाई ‘हाइसञ्चो’ भएको अभिभावक बताउँछन् ।

    विद्यालयमा हुने शिक्षकको ढिलो उपस्थितिका कारण पठन–पाठनमा पर्ने अशर कम गर्नका लागि नगरपालिकाले ई–हाजिरीको उपकरण खरिद गरेर विद्यालयमा जडान गरेको थियो । ई–हाजिरीमार्फत नगर कार्यालयबाटै बसि–बसि सबै माबिमा कार्यरत शिक्षकको उपस्थितिलाई निगरानी गर्ने व्यवस्था मिलाइएको थियो ।

    ई–हाजिरी ट्र्याकिङले ‘कुन बिद्यालयका शिक्षक, कुन बेला उपस्थित भए, कुन बेला हाजिर गरे, कतिबेला बिद्यालयबाट निस्किए’ भन्ने निगरानी सुरु गरिएको थियो । ई–हाजिरीको सुरुवाती दिनमा शिक्षकलाई नियमित गर्न सघाउ पुगेको पनि थियो तर ई–हाजिरी जडानपछि त्यसको अवस्थाका बारेमा नगरपालिकाबाटै निरन्तर हेरचाह र चासो नपुग्दा ई–हाजिरी बेकम्मा बन्न पुगेको हो । कतिसम्म भने नगरपालिकाले कुनै एउटा निजी कम्पनीको ई–हाजिरी उपकरण बिकाउने भूमीका मात्र निर्वाह गरेको भन्दै आलोचना हुने गरेको छ । कमसल खालको उपकरण जडान गरिएका कारण ई–हाजिरीको उपकरण हाल बिग्रिएको अवस्थामा रहेको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई बताउँछन् ।

    “ती सबै कमसल भएकोले बिग्रिएको अवस्थामा छन्,” मेयर भट्टराईले भने, “कतै चल्छन्, कतै चल्दैनन् ।” तामझामका साथ जडान गरिएको ई–हाजिरी केही विद्यालयमा ६/७ महिना नपुग्दै बिग्रेर थन्किएको सम्वन्धित विद्यालयका प्रअ बताउँछन् ।

    अधिकांश ई–हाजिरी कोभिडको निहुमा बन्द

    दिक्तेलको पञ्च माबिको ई–हाजिरी जडान गरेको वर्ष दिन पनि नटिकेको प्रअ भवकृष्ण ढकाल बताउँछन् । जगदम्बा माबि बुईपामा गत बैसाखसम्म ई–हाजिरी टिकेको थियो । तर ई–हाजिरीले मेनेजर नै ‘रिकग्नाइज’ गर्न छाडेकाले प्रयोग गर्न छाडिएको विद्यालयले जनाएको छ ।

    विद्योद्धय माबि दोर्पाचिउरीडाँडामा कोभिड–१९ को महामारीसँगै ई–हाजिरी चलाउन बन्द गरिएको हो । ई–हाजिरी गर्नेक्रममा कोभिड सर्ने त्रास भएपछि प्रयोग गर्न छाडिएको ई–हाजिरी हालसम्म पुःन प्रयोगमा नल्याइएको प्रअ पेशल आचार्यले बताए । सितला माबि खाल्लेमा भने हालसम्म ई–हाजिरी चलिरहेको छ ।

    एक पटक नचिनिएका व्यक्तिबाट विद्यालय तोडफोड सँगै चोरी भएपछि पुःन एक अभिभावकको सहयोगमा सितला माबिमा ई–हाजिरी जडान गरेर निरन्तरता दिइएको हो ।

    यस्तै, महेन्द्रोद्धय माबि निर्मलीडाँडामा करिब दुई वर्षसम्म ई–हाजिरी चल्यो । चार्जरको प्लक बिग्रेपछि महेन्द्रोद्धयमा ई–हाजिरी चलाउन छाडिएको हो । हिमालय माबि सोल्मामा वर्ष दिनसम्म मात्रै ई–हाजिरी प्रयोग भए । कोभिड–१९ यता ई–हाजिरी प्रयोगमै ल्याइएन । जनजागृति माबि सोल्मामा कोभिडको महामारी अघिसम्म ई–हाजिरी प्रयोगमा थियो । त्यसपछि बिग्रिएको ई–हाजिरी पुःन प्रयोगमा नल्याइएको प्रअ सविता ढकाल बताउँछिन् ।

    कालिका माबि खार्मीमा जडान गरेको डेढ वर्षपछि ई–हाजिरी बिग्रियो । मर्मत गरेर सञ्चालनमा ल्याइए तर नगरपालिकाबाट अनुगमन गर्ने, शिक्षकको उपस्थितिका बारेमा मूल्यांकन गर्ने व्यवस्था नभएपछि ई–हाजिरी चलाउनै छाडिएको हो । जालपा माबि जालपामा कोभिड–१९ को महामारीसम्म ई–हाजिरी चलाइए ।

    ई–हाजिरी गर्ने क्रममा रोग सर्ने डर भएपछि प्रयोग गर्न छाडिएको ई–हाजिरी पुःन प्रयोगमा ल्याइएको छैन । जालपा माबि नुनथलामा दुई वर्षसम्म ई–हाजिरी चलाइयो । वर्षे बिदा पछि चार्ज नहुँदा नुनथलाको ई–हाजिरी प्रयोग विहिन बनेको हो ।

    दिक्तेलकै सरस्वती माबिको ई–हाजिरी जेनतेन कोभिड–१९ को महामारीसम्म चलाइए । बिग्रेको ई–हाजिरी पुःन मर्मत गरे पनि सरस्वती माबिमा वर्ष दिन यता ई–हाजिरी चलेका छैनन् । श्रीमाबि बाँसबोटे लफ्याङमा वर्ष दिन यता ई–हाजिरी ठप्प छ । कालिका माबि नेर्पामा करिब दुई वर्षअघिदेखि ई–हाजिरी प्रयोगमा छैनन् ।

    मनोकामना जनकल्याण माबि निर्मलीडाँडामा जडान गरेकै वर्षबाट ई–हाजिरीले काम गर्न छाडेको थियो । ज्योती माबि जालपामा २०७६ यता ई–हाजिरी चलेका छैनन् । चम्पावती माबि बिजयखर्कमा जडान गरेको करिब डेढ वर्षदेखि नै ई–हाजिरीले काम दिएन । बिग्रेको ई–हाजिरी मर्मत वा नयाँ ई–हाजिरी जडानमा नगरपालिका र विद्यालय दुबैको ध्यान जान सकेको छैन ।

    सम्बन्धित समाचार