बिहिवार, कार्तिक २ २०८०
नेपाल वाइड
खोटाङ, २ कात्तिक । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाले ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी’का क्रममा बनेका चित्रलाई प्रदर्शन गर्ने तयारी गरेको छ ।
जिल्लाको धार्मिक, साँस्कृतिक र पर्यटकीय क्षेत्रको विकास गर्दै पर्यटन प्रवद्र्धन गर्ने उद्धेश्यले नगरपालिका र धनु आर्ट स्टुडियोले गत असोज १७ गतेदेखि असोज २० गतेसम्म दिक्तेलमा आयोजना गरेको मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनीमा सहभागी स्वदेश तथा विदेशका चित्रकारले बनाएको चित्रलाई दोश्रो चरणमा काठमाडौं लगेर प्रदर्शनको तयारी गरेको हो ।
नगरपालिकाले बिहिबार पत्रकार सम्मेलन गर्दै चित्रलाई नेपाल आर्ट काउन्सिल, काठमाडौंमा लगेर १५ दिनसम्म प्रदर्शन गर्ने तयारी गरेको जानकारी दिएको छ ।
चित्रकला कार्यशाला तथा प्रदर्शनीमा सहभागी बनेका नेपाल सहित अष्ट्रेलिया, बंगलादेश, भुटान, चीन, जापान, इजिप्ट, भारत, लातभिया, लिथुआनिया, दक्षिण कोरिया, अमेरिका, युक्रेन र भियतनामका चित्रकारले बनाएका ११८ वटा चित्रलाई लगेर प्रदर्शन गर्ने निर्णय गरिएको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराईले बताए ।
१८ जना विदेसी र २५ जना स्वदेसी चित्रकारले दिक्तेलको मझुवागढी, भवनगैरा, हाटडाँडा, शंखधर शाख्वा र शुभम फाउण्डेसनमा पुगेर उतारेका लाइभ पेन्टिङलाई नेपाल आर्ट काउन्सिलमा लगेर प्रदर्शन गर्ने तयारी गरिएको नगरपालिकाले जनाएको छ ।
नेपाल आर्ट काउन्सिलमा लगेर प्रदर्शन गरिएको चित्रलाई पुःन दिक्तेलमा ल्याएर संग्रहालयको रुपमा विकास गर्ने योजना बनाइएको मेयर भट्टराईले बताए ।
नगरपालिकाले ‘मुन्दुम अन्तर्राष्ट्रिय चित्रकला प्लेन एयर कार्यशाला तथा प्रदर्शनी’का क्रममा १८ लाख खर्च गरेको जानकारी दिएको छ । स्वदेसी तथा विदेसी चित्रकारलाई शुभम फाउण्डेसनले निःशुल्क खाना र बासको व्यवस्था गरेको मेयर भट्टराईले जानकारी दिए । फाउण्डेसन सहित अन्यको योगदानको हिसाव–किताव बारे केही समयपछि सार्वजनिक गर्ने पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
स्वदेस तथा बिदेशका ख्याती प्राप्त चित्रकारको उपस्थितिले जिल्लाका चित्रकलामा रुची राख्ने प्रतिभालाई उर्जा मिलेको, चित्रकला सम्वन्धी ज्ञान आर्जन भएको, बिदेसी चित्रकारको मानसपटलमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको छाप बस्दा पर्यटन प्रवर्द्धनमा सहयोग पुगेको, जिल्लाको संस्कार, संस्कृति र सहिष्णुतालाई अन्तर्राष्ट्रियकरण गर्न योगदान पुगेको, कला र संस्कृतिको प्रवर्द्धनमा टेवा पुगेको दावी गरिएको छ ।