बिहिवार, कार्तिक २ २०८०
नेपाल वाइड
खोटाङ, २ कात्तिक । दशैं तिहारको अवसरमा खोटाङको बराहपोखरी गाउँपालिकाबाट कम्तीमा एक करोड ७५ लाखको खसी निर्यात भएको छ । खसी बाख्रा पालनका लागि उपयुक्त मानिने गाउँपालिकाबाट ठेकेदारको पाँच समुहले ८७५ वटा खसी काठ्माडौं पुर्याएका छन् ।
सरदर एउटा खसीको मूल्य २० हजार मान्दा एक करोड ७५ लाखभन्दा बढी रकम भित्रिएको बराहपोखरी गाउँपालिकाका पशुसेवा शाखा प्रमुख आशिष बञ्जराले बताए ।
खसी खरिदका लागि ठेकेदारको समुह गाउँपालिकाका ६ वटै वडाका किसानको घर–घरमा पुगेका थिए । दशैं तिहारका कारण खसी बिक्री हुँदा कतिपय एकैघरका किसानले घरैमा पाँचरछ लाख हात पारेका छन् ।
कतिपय किसानले ८० केजी तौलसम्मका खसी बिक्री गरेका छन् । किसानबाट खरिद गरिएको खसीलाई धाप्लाङघाटस्थित सुनकोसी पार गराएपछि आठ वटा ट्रक र दुई वटा बोलेरोमा हालेर काठमाडौं लगिएको हो ।
ठेकेदारको समुहले खसीको बथानलाई धाप्लाङघाटसम्म खसीलाई हिँडाएर पुर्याएका थिए । कतिपय खसी कात्तिक १ गते बिहान र कतिपय खसी कात्तिक २ गते बिहान काठमाडौं पुर्याइएको पशुसेवा शाखा प्रमुख बञ्जराले बताए । कतिपय किसानले आफै उदयपुरको गाईघाटमा लगेर पनि खसी बिक्री गरिरहेका छन् ।