Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    घाटामा गएको ठेकेदार उकास्न पुलको डिजाईन परिवर्तन गरिँदै

    घाटामा गएको ठेकेदार उकास्न पुलको डिजाईन परिवर्तन गरिँदै


    • बिहिवार, कार्तिक ९ २०८०

    • दमन राई


    घाटामा गएको ठेकेदार उकास्न पुलको डिजाईन परिवर्तन गरिँदै
    ठेकेदारले अलपत्र पारेको खोटाङ र उदयपुर जोड्ने सुनकोसीको धाप्लाङघाटस्थित पुल । तस्बीरः दमन राई

    खोटाङ, ९ कात्तिक । ठेक्का लागेको नौ वर्षपछि खोटाङ र उदयपुर जोड्ने सुनकोसीस्थित धाप्लाङघाट पुलको डिजाईन परिवर्तन प्रकृया अघि बढाइएको छ ।

    निर्माण कम्पनी रसुवा एसएनएस पप्पु जेभीको अनुकुलमा खोटाङको बराहपोखरी गाउँपालिका–२ सुन्तले र उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने जोड्ने सुनकोसीको धाप्लाङघाटस्थित पुलको डिजाइन ‘रिभ्यु’ प्रकृया अघि बढाइएको हो ।

    रसुवा एसएनएस पप्पु जेभीले २०७६ सालभित्र सम्पन्न गर्नेगरी २०७३ सालमा धाप्लाङघाट पुल निर्माणको सम्झौता गरेको थियो । पुल निर्माणको काम अलपत्र पार्ने ठेकेदारको चार करोड ४२ लाख एडभान्स पेमेन्ट ग्यारेन्टी (अग्रिम भुक्तानी जमानत) तानिसकिएको छ ।

    वेल फाउण्डेसन प्रविधिको पुल निर्माण सुरु गरिएको धाप्लाङघाटमा ठेकेदारले बीचमा आएर पाइल फाउण्डेसन प्रविधिको पुल निर्माण गर्ने गरी डिजाइन ‘रिभ्यु’का लागि गत साउनमा सडक विभाग समक्ष रिभाइज्ड डिजाइन एण्ड ड्रईङ पेश गरेको छ ।

    यद्यपी, पुलको रिभाइज्ड डिजाइन एण्ड ड्रईङ स्वीकृत हुन बाँकी रहेको सडक विभाग पुल सेक्टर धरान, सुनसरीका प्रमुख इन्जिनियर दारोगा प्रसादले बताए ।

    ठेकेदारले हालसम्म धाप्लाङघाटमा नदीको दुई किनारमा पिलर ठड्याएको छ । चार वटा वेल फाउण्डेसन उठाउनुपर्नेमा एउटा मात्र फाउण्डेसन उठाएको देखिन्छ । धाप्लाङघाटमा पुलको रि–डिजाईन गर्नुपर्ने टेक्निकल समस्या नभै घाटामा गएको ठेकेदारलाई उकास्ने षडयन्त्र मात्र भएको खोटाङका निवर्तमान प्रतिनिधिसभा सदस्य एबं एमाले पोलिटव्यूरो सदस्य बिशाल भट्टराई दावी गर्छन् ।

    “धाप्लाङघाट पुलको बारेमा धेरै इन्जिनियरहरुसँग कुरा भएको छ । त्यहाँ पुलको रि–डिजाईन गर्नुपर्नेगरी कुनै टेक्निकल समस्या देखिएको छैन,” भट्टराईले भने, “यो पुलको डिजाईनको समस्या होईन, रि–डिजाईन गरेर ठेकेदारको पक्षमा नयाँ रेट कायम गरिदिने, सम्झौता लम्व्याइदिने र घाटाबाट उक्साउने षडयन्त्रभन्दा केही होईन ।”

    खोटाङको बराहपोखरी गाउँपालिका, जन्तेढुंगा गाउँपालिका, खोटेहाङ गाउँपालिका र तथा भोजपुरका केही स्थानीयलाई पुर्वी शहरसँग जोड्ने पुल २०७४ भदौ ३१ गते तत्कालिन प्रधानमन्त्री एबं कांग्रेस सभापति शेरबहादुर देउवाले शिलान्यास गरेका थिए । ठेकेदारले त्यसबेला निर्वाचन आचारसंहिता नै लत्याउँदै हेलीकोप्टर चार्टर गरेर देउवा लगायतका अतिथिलाई धाप्लाङघाट पुर्‍याएका थिए ।

    धाप्लाङघाटमा खोटाङ र उदयपुरतर्फ वर्षौँअघि कच्ची सडक बनिसकेको भएपनि हालसम्म पुल नहुँदा झोलुंगे पुल प्रयोग हुँदैआएको छ । पुलको ठेक्का लिनेमध्ये पप्पु कन्ट्रक्सन नेपाल सरकारको कालोसूचीमा समावेस निर्माण कम्पनी हो ।

    पुल अलपत्र पार्ने ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही प्रकृया अघि बढाउनुपर्नेमा मिलेमतोमा छुट दिइएको खोटाङका प्रदेशसभा सांसद भूपेन्द्र राई बताउँछन् । “डिजाइन चेञ्च गर्छु भन्दा पनि सडक विभाग ल–ल भनेर बसिरहेको छ । अनि पुल बन्छ भनेर बिश्वास गर्ने ?,” राईले भने, “अव डिजाईनको कुरा नगर, हामी कालोसुचीमा राख्नतिर जाँदैछु भन्नु पर्ने होईन ?”

    तराईसँग जोड्ने छोटो र सिधा बाटोमा पर्ने पुल निर्माणको काममा ढिलाइ हुँदा स्थानीय आक्रोशित छन् । पुलको अलपत्र कामलाई गति दिनका लागि ठेकेदारलाई पटक–पटक ताकेता गर्दा पनि सुनुवाई भएको छैन । धाप्लाङघाटमा मोटरेबल पुल नहुँदा सबैभन्दा बढी कृषि तथा नगदे बाली निर्यातका क्रममा लोडअनलोड गर्दा किसानले थप व्यायभार खेपिरहेको बराहपोखरी गाउँपालिकाका अध्यक्ष शालिकराम बञ्जरा बताउँछन् ।

    सम्बन्धित समाचार