शनिवार, कार्तिक ११ २०८०
दमन राई
खोटाङ, ११ कात्तिक । खोटाङमा मादक पदार्थ सेवन गरेर लट्ठ परेका ४३ वर्षीय पुरुषले कात्तिक १० गते दिउँसो घरमा बसिरहेकी १३ वर्षीय बालिकालाई बलात्कार प्रयास गरे ।
आफ्नै दिदिले देखेर हो–हल्ला गरेपछि बालिका बलात्कृत हुनबाट जोगिइन् । अभियुक्तलाई तत्काल प्रहरीचौकी दोर्पाचिउरीडाँडाले नियन्त्रणमा लिएको छ ।
मादक पदार्थले होस् गुमाएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माको लालीखर्कस्थित फलाँटेका दावा शेर्पाले चिर्पटले हान्दा कात्तिक ९ गते ३६ वर्षीय श्रीमती लाक्पा डिकु शेर्पाको मृत्यु भयो ।
सामान्य वादबिवादका क्रममा दावाले दाउराको चिर्पट प्रहार गर्दा श्रीमती लाक्पा डिकुले ज्यान गुमाएकी हुन् । घटनास्थलमा प्रहरी पुग्दा लाक्पा डिकुको शव घरभन्दा करिब दुई सय मिटर टाढा रहेको गोरेटो बाटोमा फेला परेको थियो ।
दावाले श्रीमतीलाई खेदी खेदी चिर्पट हानेको खुलेको प्रहरीले जनाएको छ । यी घटनाहरु दशैंको आसपासमा अधिक मादक पदार्थ प्रयोग तथा सेवनका कारण घटेका केही उदाहरण हुन् ।
अधिक मापद पदार्थको प्रयोग तथा सेवनका कारण जिल्लामा कात्तिक ७ गतेदेखि कात्तिक १० गतेको अवधिमा मात्रै नौ वटा अप्रिय घटना घटेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्का बताउँछन् ।
दशैंको नवमी र टिकाको दिनसम्म शान्त रहेको जिल्लामा त्यसपछि झै–झगडा र कुटपिटका घटना घटेको प्रहरीले जनाएको छ । दशैं आसपासमा भएको घटनाले आउँदै गरेको तिहारमा सुरक्षा चुनौती थपेको छ ।
“टिकाको भोलीपल्टदेखि यही विषयमा एनालाइसिस गरिरहेका छौँ । टिकाको अघिल्लो दिन र पछाडिको दिनहरु एकदमै फरक छन् । नवमीसम्म सुनसान थियो । टिका लगाउनु अगाडिसम्म पनि शान्त थियो,” डिएसपी खड्काले भने, “अहिले त यस्तो अवस्था भयो की घटना नघटेको ठाउँ नै छैन । यो प्रकृतिको घटना होला भनेर अपेक्षा गरिएकै थिएन । अव तिहारलाई शान्तिपूर्ण बनाउन कानून कार्यान्वयन गर्ने र सँगै चेतना फैलाउने अभियान सञ्चालन गर्ने सोच बनाएका छौँ ।”
दशैं तिहारमा विशेषगरी जनजाती समुदायमा संस्कारकै नाममा मादक पदार्थको अधिक प्रयोग हुन्छ । पछिल्लो समय गैर–जनजाती समुदायमा पनि मादक पदार्थले स्थान लिन थालेको छ ।
जनजाती समुदायमा कोसेलीपातमै घरेलु तथा विदेसी ब्राण्डको पेय पदार्थ लैजाने गरिन्छ । चाडवाडको नाममा आफन्तलाई मादक पदार्थ सेवन गर्ने/गराउने गरिन्छ । आफु पिउन र पाहुनालाई खुवाउनका लागि किनेरै भए पनि घरमा मादक पदार्थको जोहो गर्ने चलन छ ।
संस्कारको नाममा अनियन्त्रित तरिकाले प्रयोग हुने मापद पदार्थले समाजलाई भने एकोहोरो क्षती गरिरहेको छ । मादक पदार्थबाट हुने हानी नोक्सानीबाट बच्न र बचाउन यसको प्रयोगमा न्युनीकरण गर्नु सबैको दायित्व भएको डिएसपी खड्का बताउँछन् ।
प्रहरीका अनुसार कात्तिक ८ गते छोरीको घर हिँडेका जन्तेढुंगा गाउँपालिका–५ चिसापानी खुटाका रिखिराज राई मृत फेला परेका छन् । उनी घरभन्दा एक किलोमिटर पुर्व बाटोको डिलबाट तीन मिटर तल लडेको अवस्थामा मृत फेला परेका थिए ।
यस्तै, कात्तिक ९ गते दिप्रुङ चुईचुम्मा गाउँपालिका–५ सछितापोखरी खुदुर्केका प्रदिप भुजेलले नशाको सुरमा घङ्गारुको लाठीले हान्दा काका निरम भुजेलको बायाँ कान र गाला काटियो । घाईतेलाई पञ्चमीबजारस्थित मेडिकलमा उपचार गरियो ।
लाठी हान्ने भुजेललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मापसे गरेका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्क भैरमपुरका सुरेश पुर्कुटीले कात्तिक ८ गते जगले प्रहार गर्दा सोही ठाउँका चन्द्रबहादुर सार्की घाईते भए । बादबिवादका क्रममा जगले हानेर घाईते बनाएपछि फरार भएका पुर्कुटीलाई प्रहरीले खुर्कोटबाट कात्तिक ९ गते पक्राउ गरेको छ ।
कात्तिक ८ गते साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडा डाँडागाउँका तुफान राईले मापसे गरी आफ्नै घरका भैंसीको पाडीलाई बन्चरोले हानेर मारे । उनले आफ्नै स्कुटर पनि फुटाएको प्रहरीले जनाएको छ ।
यस्तै कात्तिक ८ गते हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ कात्तिकेका इन्द्रबहादुर बिकले मापसे गरेको अवस्थामा जंगलमा चरिरहेको छिमेकीको बाख्रालाई ढुंगा हानेर मारिदिएको प्रहरीले जनाएको छ ।