आइतवार, कार्तिक १२ २०८०
नेपाल वाइड
खोटाङ, १२ कात्तिक । खोटाङमा बचत अपचलनका कारण डुबेको लालुपाते बहुउद्धेश्यीय सहकारी संस्थाको सञ्चालक समितिका पदाधिकारी सहित पाँच जना पक्राउ परेका छन् ।
सयौं बचतकर्ताको लगानी डुबेको विषयमा सहकारीको सञ्चालक समितिका उपाध्यक्ष अर्जुन चौलागाईँ, सचिव मनोज राई, कोषाध्यक्ष रमा शाक्य, लेखा समिति संयोजक प्रितम श्रेष्ठ र लेखापाल सुमना राईलाई प्रहरीले आइतबार पक्राउ गरेको हो ।
प्रहरीले पाँच जनालाई सहकारीमा भएको आर्थिक अनियमितताका विषयमा छलफलका लागि भन्दै बोलाएर नियन्त्रणमा लिएको हो । पाँच जना बिरुद्ध जिल्ला अदालतबाट एक दिनको म्याद थप गरेर अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ । सोमबार पुनः म्याद थप गरेर कारबाहीको प्रक्रिया अगाडि बढाउने प्रहरीको तयारी छ ।
यसअघि प्रहरीले सहकारीका सञ्चालक समितिका तत्कालीन अध्यक्ष अनिल जोशीका भाइ सुनिल जोशी र सुनिलकी श्रीमती रविना श्रेष्ठ (जोशी)लाई गत असोज १३ गते तथा तत्कालिन प्रबन्धक रुकु जोशीलाई असोज १७ गते काठमाडौँबाट पक्राउ गरिसकेको छ ।
आफ्नो बचत डुबाइदिएको भन्दै बचतकर्ताले २०७९ फागुन २ गते सञ्चालक समितिका तत्कालीन अध्यक्ष जोशीको परिवारका पाँच सदस्यसहित आठ जना बिरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा जाहेरी दिएका थिए ।
सहकारीमा भएको आर्थिक अनियमितताका विषयमा अनुसन्धानका लागि थप पाँच जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।
२०७२ मंसिर १० गतेदेखि दिक्तेलबजारमा कारोबार सुरु गरेको सहकारीका तत्कालिन अध्यक्ष जोशी र व्यवस्थापक जोशीले बचत अपचलन गरेका कारण लगानी डुबेको भन्दै बचतकर्ता चरणवद्ध आन्दोलनमा छन् ।
डुबेको सावाँ र व्याज फिर्ता लिनका लागि बचतकर्ताले पदमकुमारी सैंजूको संयोजकत्वमा संघर्ष समिति बनाएर चरणबद्ध आन्दोलन गर्दैआएका छन् ।
सहकारीको नाममा खरिद गरिएको जग्गा तत्कालिन अध्यक्ष जोशीको परिवार तथा आफन्तको नाममा राखेको पाइएको सहकारीको आर्थिक वर्ष २०७७/०७८ को लेखा परीक्षण प्रतिबेदनमा उल्लेख छ ।
यस्तै, अध्यक्ष जोशीको परिवारका सदस्यले मात्रै डेढ करोड ऋण चलाएको देखिएको बचतकर्ताको दाबी छ । तत्कालिन व्यवस्थापक जोशीको नाममा हलेसी र बाम्राङमा राखिएको केही कित्ता जग्गा सहकारीको नाममा ल्याइसकिएको सहकारी सञ्चालक समितिका सदस्य तुलसीराम आचार्यले बताए ।
सहकारीको बचत अपचलन भएको विषय भने अध्यक्ष जोशीको निधनपछि मात्र खुलेको हो । जोशीको कोभिड–१९ को संक्रमणका कारण २०७८ बैसाख १५ गते पोखरामा निधन भएको थियो ।
उनको निधनपछि निक्षेपकर्ताहरु निक्षेप रकम फिर्ता माग्न आउँदा सञ्चालक समितिका पदाधिकारी तथा सरोकारवालाले सहकारीको कारोवार तथा हिसाव हेर्नेक्रममा निक्षेप फिर्ता गर्ने मौज्दात रकम नै नदेखिएपछि खोजी गर्नेक्रममा बचत अपचलन भएको विषय बाहिरिएको हो ।
जोशीको निधनपछि २०७८ बैसाख १६ गतेदेखि सहकारीको कारोबार ठप्प छ । सहकारीबाट भएको आर्थिक कारोबारका विषयमा भने स्यवं सञ्चालक समिति तथा कर्मचारी नै बेखबर छन् ।
सहकारी संकटग्रस्त अवस्थामा पुगेपछि कतिपय पदाधिकारी तथा सदस्य ‘आफु सञ्चालक समितिमा नभएको’ भन्दै पन्छिने गरेका छन् । सहकारीमा जिल्लाका ४५०० बचतकर्ताको लगानी छ । एकैजनाले ४५ लाखसम्म बचत गरेका छन् । सहकारीको ७४ जना ऋणी छन् ।
उनीहरुले न्यूनतम ३० हजारदेखि ७५ लाखसम्म ऋण लगेको देखिन्छ । सहकारीको जग्गा बाहेक सावा व्याजसहित करिब १० करोड ऋण लगानी छ । बचतकर्तालाई सावाव्याज सहित करिब ७ करोड फिर्ता दिनुपर्ने हिसाव छ ।
तर अध्यक्ष जोशीको मृत्युका कारण ऋण उठाउन कठिन भइरहेको सहकारी सञ्चालक समितिका सदस्य आचार्यले बताए । कतिपय ऋणीले पटक–पटक भाका राख्ने, अध्यक्ष जोशीलाई दिइसकेको भन्दै पन्छिने र कतिपयले ‘अदालत जान’ भनेर घुक्र्याउने गरेका छन् । बचतकर्ताले घेर्न थालेपछि अप्ठ्यारोमा परेको सञ्चालक समितिले ऋण असुल गर्दै बचत फिर्ता गर्ने प्रयास सुरु गरेको जनाएको छ ।