सोमवार, कार्तिक १३ २०८०
नेपाल वाइड
खोटाङ, १३ कात्तिक । खोटाङमा बेपत्ता वृद्धा ६ दिनपछि सकुशल फेला परेका छन् । कात्तिक ७ गतेदेखि बेपत्ता बनेकी दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१५ बिजयखर्क बसेरीका ६८ वर्षीय जैसीमायाँ ढुंगाना सोमबार सकुशल फेला परेकी हुन् ।
स्थानीयले दिएको सुचनाको आधारमा बेपत्ता बृद्धालाई दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङको दिखुवा खोलाको पुलभन्दा माथि भीरमा फेला पारिएको नाती सुनिल ढुंगानाले जानकारी दिए ।
टिकाको दिन आफन्तको घरमा टिका लगाएर आफ्नो घर फर्कने क्रममा बेपत्ता बनेकी बृद्धा गाउँबाट करिब दुई तीन घण्टा टाढा फेला परेकी हुन् । वृद्धा चोली र पेटीकोट मात्र लगाएको अवस्थामा भेटिएकी छन् ।
भीरमा बृद्धा फेला परेपछि सर्जमिन मुचुल्का उठाउनका लागि प्रहरी घट्नास्थल पुगेको छ । आफन्तलाई चिनेर बोलचाल गरेकी वृद्धाले ‘आफु कसरी भीरमा पुगेको’ भन्ने बारेमा केही बताएकी छैनन् ।
चार दिनसम्म नभेटिएपछि कात्तिक ११ गते प्रदेश प्रहरी कार्यालय के–नाइन शाखाबाट अनुुसन्धान गर्ने दुई वटा कुकुर ल्याएर वेपत्ताको खोजी सुरु गरिएको थियो तर बेपत्ता फेला नपरेपछि तालिम प्राप्त कुकुरलाई आइतबार फिर्ता पठाइसकिएको छ ।
श्रीमान शिवप्रसाद ढुंगानासँग आफन्तको घरमा टिका लगाएर फर्कने क्रममा जैसीमायाँ बेपत्ता भएकी थिईन् । घरभन्दा करिब दुई/तीन मिनेटमाथि डाँडाबाट श्रीमान अघि लागेर घर झरेको तर केही पछि छाडिएकी जैसीमायाँ बेपत्ता भएकी थिईन् ।