Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    दशैं बिदा सकिए पनि नियमित पठन–पाठन सुचारु नगर्ने विद्यालयलाई नगरको स्पष्टीकरण

    दशैं बिदा सकिए पनि नियमित पठन–पाठन सुचारु नगर्ने विद्यालयलाई नगरको स्पष्टीकरण


    • मंगलवार, कार्तिक १४ २०८०

    • नेपाल वाइड


    दशैं बिदा सकिए पनि नियमित पठन–पाठन सुचारु नगर्ने विद्यालयलाई नगरको स्पष्टीकरण
    हलेसी तुवाचुङ नगरपालिका खोटाङ ।

    खोटाङ, १४ कात्तिक । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले दशैं बिदा सकिए पनि नियमित पठन–पाठन सुचारु नगर्ने तीन विद्यालयलाई स्पष्टीकरण सोधेको छ ।

    कात्तिक ११ गते दशैं बिदा सकिए पनि कात्तिक १२ गतेदेखि नियमित पठन–पाठन सुचारु नगरेको पाइएपछि च्यास्मीटार माबि च्यास्मीटार, मालिकादेबी माबि कदुवा र दुधकोसी आधारभुत बिद्यालय, बाहुनीडाँडा, जयरामलाई स्पष्टीकरण सोधेको हो ।

    हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राई, सामाजिक विकास शाखा संयोजक रुद्र राई लगायतको टोलीले कात्तिक १२ गते स्थलगत अनुगमन गर्दा नियमित पठन–पाठन सुचारु नभएको पाएपछि विद्यालयलाई लिखित स्पष्टीकरण सोधिएको हो ।

    कार्यालय समयमा अनुगमन गर्दा दुधकोसी आधारभुत बिद्यालयमा एक जना शिक्षक र दुई विद्यार्थी मात्र भेटिएका थिए । तर हाजिरी पुस्तिका हेर्दा १५ विद्यार्थीको उपस्थिति देखिएको मेयर राईले बताइन् ।

    अनुगमनमा पुग्दा मालिकादेबी माबिको गेट नै लगाइसकिएको थियो । च्यास्मीटार माबिमा कार्यालय सहयोगी मात्र भेटिएका थिए । अनुगमनपछि नगरपालिकाले विद्यालयमा नियमित पठन–पाठन सुचारु नहुनुको कारण तथा कात्तिक १२ र १३ गतेको सम्पूर्ण शिक्षकको उपस्थिति, काज विदा तथा अनुपस्थितिको विवरण तीन दिनभित्र पठाउन पत्राचार गरेको छ ।

    यस्तै, कात्तिक १२ र १३ गतेको सम्पूर्ण शिक्षकको उपस्थिति, काज विदा तथा अनुपस्थितिको विवरण उपलव्ध गराउन सबै वडाका सबै विद्यालयलाई पत्राचार गरिएको नगरपालिकाले जनाएको छ ।

    बिना जानकारी अनुपस्थित हुने शिक्षकको तलव कट्टा गर्ने नगरपालिकाले जनाएको छ । दशैं तिहार जस्ता चाडवाड आसपासमा बिदा सकिए पनि जिल्लाका अधिकांश बिद्यालयमा पठन–पाठन सुचारु हुन सकेको छैन । तराईका कतिपय शिक्षक छठपछि मात्र विद्यालयमा हाजिर हुन्छन् । कतिपय गाउँकै शिक्षक पनि चाडवाड आसपासमा नियमित उपस्थित नहुने समस्या पाइएको मेयर राईले बताईन् ।

    नियमित पठन–पाठन नहुने भएपछि दशैं तिहार आसपासमा विद्यार्थी समेत कम उपस्थित हुने गरेका छन् । “दशैं तिहार बिदा सकिए पनि समयमा पठन–पाठन सुचारु नहुनु थिति जस्तै भइसकेको छ,” मेयर राईले भनिन्, “अव कुनै पनि बाहनामा पठन–पाठनलाई प्रभावित पार्न पाइन्न । ठीक मितिबाट विद्यालयको पठन–पाठन सुचारु हुनुपर्छ । कसैलाई छुट छैन ।”

    सम्बन्धित समाचार