खोटाङ, १६ कात्तिक । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको गणेशटारमा बोसे–आराखा अन्तर वडा स्तरिय फुटबल प्रतियोगीताको तयारी गरिएको छ । स्थानीय किरात युवा समाज, गणेशटारको आयोजनामा आगामी कात्तिक २२ गतेदेखि बोसे–आराखा अन्तर वडा स्तरिय फुटबल प्रतियोगीता गर्न लागिएको हो ।
गणेशटारमा निर्माण गरिएको दिलबहादुर–इन्द्र राई रंगशालामा पहिचानजनित बोसे–आराखा अन्तर वडा स्तरिय फुटबल प्रतियोगीता गर्न लागिएको खेल संयोजक शुभलाल राई (आदेस)ले जानकारी दिए ।
चाम्लिङ भाषामा बोसे भनेको सुँगुर र आराखा भनेको रक्सी हो । प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने टिमले २० हजार मूल्य पर्ने एउटा बोसे र दुई कठुवा आराखा, दोश्रो स्थान प्राप्त गर्ने टिमले १५ हजार बराबरको एउटा बोसे र दुई कठुवा आराखा तथा तेश्रो हुने टिमले नगद ५ हजार र दुई कठुवा आराखा पाउने छन् । खेल एन्फाको नियम अनुसार खेलाइने समाजले जनाएको छ ।
प्रतियोगीताका लागि हालसम्म युवा उद्यमी सुरेश राईले १० हजार, व्यवसायी टुरिष्ट राईले ५ हजार, युवा नेता राजुबिक्रम चाम्ल्ङिले ५ हजार, युवा उद्यमी माधव राईले ५ हजार, अभिभावक चाल्सडेनी राईले ५ हजार र युवा व्यवसायी बिजय राईले ५ हजार सहयोग गरेको संयोजक राईले जानकारी दिए ।