Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    जसले बनाएको जाँतो गाउँभरी प्रयोग भइरहेको छ

    जसले बनाएको जाँतो गाउँभरी प्रयोग भइरहेको छ


    • शनिवार, कार्तिक १८ २०८०

    • दमन राई


    जसले बनाएको जाँतो गाउँभरी प्रयोग भइरहेको छ
    जाँतो बनाएरै बुढेसकाल लागेका ऐमसेर राई । तस्बीरः दमन राई

    खोटाङ, १८ कात्तिक । हिजोआज अन्न पिस्ने आधुनिक मिलहरु पुगेका ठाउँमा जाँतोको प्रयोग कम हुँदैगएको छ । तर मिल नपुगेका ठाउँमा अझै पनि जाँतोको महत्व अझै घटेको छैन ।

    गाउँघरमा मकै, कोदो, गहुँ, फापर, दाल लगायत पिस्न जाँतोकै प्रयोग भइरहेको छ । मिल बिस्तार हुनुअघि अझ ग्रामिन जनजीवनमा जाँतो बनाउने पेशाको बिशेष महत्व थियो, अरुभन्दा व्यस्त थियो त्यो व्यवसाय ।

    अहिले पनि जाँतो नचिन्ने र जाँतोमा पिसेको अन्न नखाने कमै छन् । अन्न पिसेर खाने त्यो जमनामा जाँतो बनाउने पेशा अपनाउनेमध्ये एक हुन् खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार, दाल्फु (फिर्कु)का ऐमसेर राई (८१) । अन्न पिस्ने एक मात्र साधन जाँतो भएको समयमा ऐमसेरले जाँतो बनाएरै जीवनको उर्बर समय कटाए, आम्दानीको श्रोत बनाएर परिवार चलाए ।

    बिक्रम संवत १९९९ सालमा जन्मिएका ऐमसेर हाल बुढेसकालले छोएर थलिएका छन् । खानापिना ओछ्यानमै गराउनुपर्ने अवस्थामा पुगेका छन् । आँखाको ज्योती धमिलिदा र श्रवण शक्ति कमजोर हुँदा गाउँकै भाई भतिजालाई मुस्किलले चिन्छन् ।

    तर परम्परागत घरेलु सामग्री जाँतो बनाएर गाउँमा कहलिएका नाम हुन् उनी । उनले बनाएको जाँतो हालसम्मै च्यास्मीटारको दाल्फु, खानीगाउँ, बाङमा लगायतका टोल–टोलमा प्रयोग भइरहेको छ ।

    उनले कुँदेको जाँतो छिमेकी वडा बाहुनीडाँडाको मैतुङ, बयाक्ता, बेता, बडहरेको हात्तीवन, घोपाटार, खोक्सेली, दुर्छिमको सोराचुङ लगायतका ठाउँमा पुगेको छ । उनले अनगिन्ती जाँतो बनाए । त्यही कारण उनको नामै ‘जाँते बुढा’ रहन पुग्यो ।

    222.jpg

    ऐमसेर राई । 

    जाँतो जुनसुकै ढुंगाको बन्दैन । दल्सिङ ढुंगा र कालो ढुंगा मिसिएर बनेको विशेष प्रकारको ढुंगा कुँदेर जाँतो तयार पारिन्छ । ऐमसेर बैसमा जाँतो बनाउनका लागि झोलामा हम्मर, झम्पाल, साबेल, कुन्जो बोकेर उपयुक्त ढुंगा खोज्दै हिँड्थे । उनले गाउँभन्दा तलको नाम्नाखु खोलाको फेदीमा महिनौंसम्म जाँतो बनाउने काम चलाए ।

    त्यसपछि छिमेकी वडा बाहुनीडाँडाको दौंते खोला र राँगाकाटे पुगेर जाँतो बनाउने काम गरे । धेरैजसो समय दौंते खोलामा फेला परेको खानीमा बिताए । त्यो बेला दौंते खोलामा बसेर तयार पारेको १५/२० जोर जाँतो एउटा ठेकेदारले खरिद गरेर बिक्रीका लागि सिन्धुली लगेको राई बताउँछन् । त्यस समय एक सेट जाँतो पाँच–छ सयमा बिक्री गर्थे ।

    खानीबाट फोडेर निकालेको ढुंगालाई जाँतोको रुप दिन हप्ता दिनसम्म समय लाग्थ्यो । तिखो चुच्चो भएको हथौडा (कुन्जी)ले टिक–टिक ठुँगेर जाँतोलाई आकार दिन्थे । हतासो र मानी अड्याउने प्वाल बनाउँथे, जाँतोको धार निकाल्थे । धेरैजसो स्थानीय जाँतो लिन घरैमा आइपुग्थे ।

    केहीले भने घरैमा ल्याइमाग्थे, घरमा पुर्‍याउँदा जाँतोको मूल्यसहित ज्याला पाउँथे । त्यही आम्दानीले घरको गर्जो टार्दै आए ।
    ऐमसेरले विगत १०/११ वर्षसम्म अघिसम्म जाँतो बनाउने काम गरे ।

    बुढेसकाल लागेपछि हम्मर, झम्पाल, साबेल र कुन्जो बिसाएका हुन् । तर गाउँमा उनको नामसँगै जाँतोको सम्झना आउँछ, जाँतोसँगै उसको प्रशंग आउँछ । जीवनभर ढुंगा खोपेर बसेकाले बुढेसकालमा कमजोर भएको श्रीमती जिमिनसरा राई बताउँछिन् ।

    “उहाँले बनाएको जाँतो घरलौरी छ, कति बनाए–बनाए, गनेर साध्य थिएन,” राईले भनिन्, “धेरै वर्ष जाँतो बनाउने काम गरेकै कारण अहिले बुढेसकालमा खँजाहा हुनुपरेको छ । दिसापिसाव नै ओछ्यानमा हुन थालेको छ ।”

    जाँतोमा पिसेको अन्नलाई बिशेष मानेर महत्व दिने गरिन्छ । गाउँघरमा अहिले पनि बिहान झिसमिसमा जाँतोमा अन्न पिसेको आवाज सुनिन्छ । दाल्फुमा युवा केसीराज राईले विद्युतबाट चल्ने मिल सुरु गरेका छन् । मिलले ऐमसेरले बनाएको जाँतोको प्रयोगलाई केही कम गरेको छ ।

    सम्बन्धित समाचार