शनिवार, कार्तिक १८ २०८०
नेपाल वाइड
खोटाङ, १८ कात्तिक । नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले ठूला–ठूला भ्रष्टाचार काण्डमा गठबन्धनका नेताहरुको संलग्नता रहेको दाबी गरेका छन् । पुष्पलाल मध्यपहाडी लोकमार्ग केन्द्रित मेची–महाकाली बिशेष अभियानको तयारीमा नेकपा एमाले खोटाङले शनिबार दिक्तेलमा आयोजना गरेको बैठकलाई सम्बोधन गर्दै उपमहासचिव ज्ञवालीले आफ्नो नेताको नाम जोडिने वित्तिकै गठबन्धन सरकारले भ्रष्टाचारको छानविन नै बन्द गर्नेगरेको दावी गरे ।
उपमहासचिव ज्ञवालीले ललिता निवासमा माधव नेपाल र बाबुराम भट्टराई तथा नक्कली भुटानी शरणार्थी काण्डमा आरजु देउवाको नाम जोडिने वित्तिकै छानविन टुंग्याएको उल्लेख गरे ।
“भ्रष्टाचार यती डरलाग्दोगरी बढेको छ, बाहिर सरकारले भ्रष्टाचार बिरोधी ठूलठूला कुरा गर्छ तर भ्रष्टाचारको मामिलामा सवभन्दा बढी संलग्नता यही गठबन्धनको छ,” ज्ञवालीले भने, “छानबिनको नाटक देखाउँछ तर ललिता निवासमा जव माधव नेपाल र बाबुराम भट्टराईको नाम जोडिन्छ, छानबिन त्यही टुंग्याएर खरदार सुव्वाहरुलाई थुनेर छोडिदिन्छ । सुनकाण्डमा आफ्नो नेताको नाम आए भनेपछि छानबिननै बन्द गर्छ । भुटानी शरणार्थी काण्डमा आरजुको नाम आयो भन्ने वित्तिकै छानविन गर्न लागेका प्रहरीकै सरुवा गरिदिन्छ ।”
उपमहासचिव ज्ञवालीले गठबन्धन सरकारको कारण मुलुक भू–राजनितिक द्धन्द्धको चपेटामा पर्न लागेको औंल्याए । खास खालका विदेशी शक्तिहरुलाई रिझाउने र खास खालका शक्तिहरुलाई चिढाउने काम भएकाले राष्ट्रियता जोखिममा परेको उल्लेख गरे ।
“अहिले मुलुक धेरै हिसावले संकटको भुमरीबाट गुज्रिरहेको छ । राष्ट्रियता जोखिममा छ,” ज्ञवालीले भने, “सरकारले आफ्नो सत्ता टिकाउनका निम्ति खास खालका विदेशी शक्तिहरुलाई रिझाउने र खास खालका शक्तिहरुलाई चिढाउने काम गरिरहेको छ । त्यसले हामी नजानिदो गरी भू–राजनितिक द्धन्द्धको चपेटामा पर्न लागेका छौँ ।”
ज्ञवालीले मुलुकको अर्थतन्त्र डामाडोल बनेको चर्चा गरेका छन् । “महंगीले जनताको जीवन असाध्यै कष्टकर बनेको छ । व्यवसायहरु डुबिरहेका छन् । आर्थिक वर्षको पहिलो महिनाबाट सरकारले आन्तरिक ऋण उठाएर सरकारी कर्मचारीको तलव भत्ता खुवाइरहेको छ । सरकारले समानान्तर अर्थतन्त्र चलाइरहेको छ जसले गर्दा राज्यको ढुकुटीमा पैसा आइरहेको छैन,” उनले भने, “विकासका काम ठप्प छन् । हामीले सुरु गरेको हस्पिटल जहाँकोतहीँ छ । हामीले शिलान्यास गरेको बाटो जहाँकोतहीँ छ । पैसा छैन । काम गरेको ठाउँमा ठेकेदारले भुक्तानी पाइरहेका छैनन् । प्रधानमन्त्री स्वयं नै सामाजिक सद्भाव खलबल्याउने काममा लागिरहेका छन् ।”
अर्को प्रशंगमा उपमहासचिव ज्ञवालीले पहाडको बिकास नभएसम्म देशको बिकास हुने बताएका छन् । “पहाड बिकास नभएसम्म देशको बिकास हुँदैन, पहाड बलियो नभएसम नेपाल बलियो हुँदैन, पहाड समृद्ध नभएसम्म नेपाल समृद्ध हुँदैन । यही सोच अनुसार पहाडको रुपान्तरण गर्ने अभियान अन्तरगत मध्यपहाडी लोकमार्ग अघि बढायौं । लोकमार्गको विभिन्न १० स्थानमा शहर निर्माण गर्ने कुरा गरियो, पहाडलाई केन्द्रित गरेर असाध्यै ठूला विकासका योजनाहरु अगाडि बढेका छन्,” ज्ञवालीले भने, “तर बिरोधाभास निम्तिरहेको छ । विकास पहाड पुगेको छ, मान्छेचैं पहाडबाट विस्थापित भइरहेका छन् । गाउँबाट शहरतिर बसाइ सराई तिब्र भएको छ । त्यसो हो भने पहाडलाई बलियो बनाउन, पहाडको विकास र समृद्धिलाई अगाढि बढाउन ठोस योजना आवश्यक छ ।”
विकास, सामाजिक एकता र राजनीतिक सन्देशका लागि एमालेले मध्यपहाडी लोकमार्ग केन्द्रित मेची–महाकाली अभियानको तयारी बैठक आयोजना गरेको हो । यस क्रममा पहाडका जनतासँग प्रत्यक्ष साक्षात्कार गर्ने, पहाडमा भएका विकास अवलोकन गर्ने, विकासको बाधाहरु पहिचान गर्ने र पहाडको विकासको सन्दर्भमा योजना निर्माण गरिने ज्ञवालीले जानकारी दिए । जिल्ला समन्वय समितिको सभाहलमा भएको कार्यक्रममा कोशी प्रदेश कमिटिका नव निर्वाचित पदाधिकारी र सदस्यहरुलाई बधाई तथा शुभकामना प्रदान गरिएको छ ।