सोमवार, कार्तिक २० २०८०
नेपाल वाइड
खोटाङ, २० कात्तिक । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाले जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका भूकम्प पिडितको नाममा राहत रकम पठाएको छ । गत कात्तिक १७ गते राती गएको भूकम्पबाट आफन्त गुमाएका, घाइते तथा विस्थापित भएका पिडितको पुःर्नवासको व्यवस्थापनका लागि नगरपालिकाले ११ लाख ५१ हजार एक सय रुपैयाँ पठाइदिएको हो ।
नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी र शिक्षक गरी ७०४ जनाको दुई दिनको तलव तथा सेवासुविधा कट्टा गरी आइतबार भूकम्प पिडितको नाममा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको हलेसी तुवाचुङ नगरपालिकाका मेयर बिमला राईले बताईन् ।
आइतबारको बसेको नगर कार्यपालिकाको बैठकले नगरपालिकाका वडासदस्य, वडाध्यक्ष, उपमेयर र मेयर गरी ६० जना जनप्रतिनिधिले मासिक रुपमा पाउने सेवासुविधाबाट दुई दिनको सेवासुविधा कट्टा गरेर भूकम्प पिडितको नाममा पठाउने निर्णय गरेको थियो ।
यस्तै, नगरका कर्मचारी र शिक्षकको पनि दुई/दुई दिनको तलव कट्टा गरेर भूकम्प पिडितको नाममा पठाइएको नगरपालिकाले जनाएको छ । विपत्तीको सामना गरिरहेको राज्यसँग हातेमालो गर्ने प्रयास स्वरुप भूकम्प पिडितले पाउनेगरी राहत रकम पठाइएको मेयर राईले बताईन् ।
“हामी आफै पनि जिम्मेवार स्थानीय सरकार हो । अर्को चैं राज्य कोषलाई मात्रै हेरेर हुन्न । सानो–सानो गरेर धेरै हुने हो । यस खालको हातेमालो गर्यौं भने धेरैकुरा गर्न सकिन्छ । राज्यको ढुकुटी जोगिन्छ । आर्थिक लोड पनि हुन्न,” मेयर राईले भनिन्, “विपत्ती निम्तिएको बेला आपसमा साथ सहयोग हुनुपर्छ । यहाँ त सुदुरपश्चिम र सुदुरपुर्वको कुरा आयो । एउटा त भेगीय समस्यालाई सम्बोधन गर्ने प्रयास पनि गरेका हौँ ।”
नगरपालिकाले भूकम्पका कारण आफन्त गुमाएका पिडितप्रति समबेदना प्रकट गर्दै खोज, उद्धार र राहतमा क्रियाशील सरकारी निकाय तथा गैर–सरकारी संघ–सस्थालाई धन्यवाद ज्ञापन गरेको छ । जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रबिन्दु भएर ६.४ म्याग्निच्युडको भूकम्प जाँदा १५३ जनाको मृत्यु भएको छ ।