मंगलवार, कार्तिक २१ २०८०
नेपाल वाइड
खोटाङ, २१ कात्तिक । घरेलु हिंसा गरेको आरोपमा शिक्षा विकास तथा समन्वय इकाइ खोटाङका प्रमुख शैलेन्द्र थापालाई प्रहरीले नियन्त्रणमा लिएको छ । शारीरिक र मानसिक यातना दिएको भन्दै आफ्नै श्रीमतीले दिएको मौखिक उजुरीका आधारमा थापालाई सोमबार राती प्रहरीले नियन्त्रणमा लिएको हो ।
पारिवारिक समस्याका कारण पक्राउ परेका थापा र उनको परिवारलाई राखेर छलफल गराउने तयारी भइरहेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए ।
पारिवारिक हिंसामा परेको भन्दै श्रीमती काठमाडौंबाट दिक्तेल पुगेर कारबाहीका लागि श्रीमानलाई पक्राउ गरिदिन आग्रह गर्दै जिल्ला प्रहरी कार्यालय पुगेको प्रहरीले जनाएको छ ।
“परिवारले घरेलु हिंसा भयो, यातना भयो, टर्चर भयो । यतातिर श्रीमानको सम्वन्ध राम्रो देखिएन भन्ने तरिकाले मौखिक उजुरी दिएको आधारमा नियन्त्रणमा लिएका हौँ,” डिएसपी खड्काले भने,
“हाकिम साव अलि त्यस्तै त्यस्तै पर्नुभएछ । परिवारसँग राखेर छलफल गराउँछौँ । पिडितले के भन्छ त्यसैको आधारमा कारबाही अघि बढ्छ ।” शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख थापाले भने घरेलु हिंसामा नभै सामान्य ‘केस’मा प्रहरीले पक्राउ गरेको बताए । “सामान्य केस थियो, भइसक्यो, छुटिसकेँ,” थापाले भने, “अरु नै केसमा हो । पछि नै भनौंला । म मिटिङमा छु ।”