बिहिवार, कार्तिक २३ २०८०
नेपाल वाइड
खोटाङ, २३ कात्तिक । नेकपा माओवादी केन्द्रले खोटाङको ऐसेलुखर्क गाउँपालिकामा आधारभुत तहको पालिका स्तरिय पार्टी स्कुल सञ्चालन गरेको छ ।
नेता तथा कार्यकर्तालाई प्रशिक्षित गर्दै सैद्धान्तिक, वैचारिक र संगठनात्मक स्तर उकास्ने लक्ष्यका साथ माओवादी केन्द्र गाउँपालिका कमिटिले मंगलबार महेश्वरीस्थित घिनुडाँडामा आधारभुत तहको पालिका स्तरिय पार्टी स्कुल सञ्चालन गरेको हो ।
पार्टीको अगुवा कार्यकर्ताको सहभागिता रहेको कार्यक्रममा पार्टीको राजनीतिक र वैचारिक कार्यदिशाका बारेमा केन्द्रिय सदस्य ङिमा तेण्डुप शेर्पा, पार्टीको संगठनात्मक कार्यदिशाका बारेमा प्रदेश सदस्य होमकाजी आचार्य ‘विनोद’, स्थानीय तहमा हुने गतिविधी र कानुनी व्यवस्थाका बारेमा प्रदेश सदस्य विकास राई, माक्र्सवादी दर्शनका विषयमा टंक थापा र राजनीतिमा सूचना, सञ्चार र सामाजिक सञ्जालको विषयमा प्रेस सेन्टर नेपालका केन्द्रिय लेखा आयोग सदस्य भिम राईले प्रशिक्षण दिएका थिए ।
पार्टी स्कुल कार्यक्रममा ऐसेलुखर्क गाउँपालिकाका सात वटै वडाका अगुवा कार्यकर्तालाई सहभागीता गराइएको कार्यक्रम संयोजक बलभद्र राईले बताए । पालिका स्तरिय पार्टी स्कुल नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’को प्रमुख आथित्यतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा नेकपा माओवादी केन्द्रका जिल्ला इन्चार्ज चम्पा कार्की ‘आशा’ लगायतको उपस्थिति रहेको थियो । गत जेठमा मावि तहको पार्टी स्कुल सुरु गरेको नेकपा माओवादी केन्द्रले जिल्लाका विभिन्न स्थानीय तहमा पालिका स्तरिय पार्टी स्कुल सञ्चालन गरिरहेको छ ।