शुक्रवार, कार्तिक २४ २०८०
दमन राई
खोटाङ, २३ कात्तिक । खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१४ बुईपाका वडासदस्य छत्रकुमार श्रेष्ठ रोजगारीका सिलसिलामा जापान पुगेका छन् । एमालेबाट वडा सदस्यमा निर्वाचित भएका श्रेष्ठ करिब ७ महिनाअघि स्टुडेन्ट भिसामा जापान पुगेका हुन् ।
उनी २०७९ बैसाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा ९९८ मत पाएर प्रतिपक्षी दलका उम्मेदवारलाई पछि पार्दै वडा सदस्यमा निर्वाचित भएका थिए ।
छोटो समयका लागि भ्रमण गर्न जाने भन्दै हिँडेका श्रेष्ठ जापानमा सेटल भइसकेको जानकारी आएको बुइपाका वडाध्यक्ष दिनेश राई बताउँछन् ।
“गाउँका थुत्रै जापानमा सेटल भएर बसेका छन् । उहाँ पनि केही समयका लागि भ्रमणमा जान्छु भनेर जापान जानु भएको थियो । अहिले बुझ्दा उतै सेटल भइसकेको खबर छ,” वडाध्यक्ष राईले भने, “जापान गए पनि उहाँले वडा कार्यालयलाई लिखित जानकारी दिनुभएको छैन । तर उहाँको बारेमा वडासचिवले नगरपालिकालाई मौखिक रुपमा जानकारी गराइसकेका छन् ।”
यस्तै, केपिलासगढी गाउँपालिकाका कार्यपालिका सदस्य फुर्ते शेर्पा कोरिया पुगेका छन् । बैदेसिक रोजगारीमा जाने निश्चित भएपछि जनता समाजवादी पार्टीका शेर्पाले गत असार १० गते पदबाट राजीनामा दिएका थिए । असार २० गतेको कार्यपालिका बैठकले शेर्पाको राजीनामा स्वीकृत गरेको केपिलासगढी गाउँपालिकाका अध्यक्ष समिर राई बताउँछन् । शेर्पा केपिलासगढी गाउँपालिका–२ खार्ताम्छा निवासी हुन् ।
उल्लेखित दुई उदाहरणले बेरोजगारको मारमा सामान्य युवा मात्र नभएर निर्वाचित युवा जनप्रतिनिधि समेत प्रताडित छन् भन्ने देखाउँछ । रोजगार खोज्दै बिदेसिने युवाको भीडमा जनप्रतिनिधि समेत छन् ।
चुनावताका ‘गाउँमै सम्भावना खोजौंला र रोजगारीको अवसर सिर्जना गरौंला’ भन्दै भोट माग्दै हिँडेका कतिपय जनप्रतिनिधि आफै ‘चिल गाडी’ चढ्न बाध्य छन् । युवावस्थाका कतिपय वडासदस्यहरु राजनीति छाडेर बैदेसिक रोजगारीका लागि खुट्टा उचालेर बसिरहेका छन् । बेरोजगारको समस्याका बीच युवा जनप्रतिनिधि आफ्नो भविष्य खोज्दै बिदेसिनु स्वभाविक ठान्छन् केपिलासगढी गाउँपालिका अध्यक्ष राई ।
स्थानीय तहको निर्वाचनमा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–८ दोर्पाचिउरीडाँडाको चुनावी भिडन्त अरुभन्दा रोचक थियो । एमालेको उम्मेदवारहरु एकातिर र गठबन्धनको उम्मेदवारहरु एकातिर । आफ्नो जितका लागि दुबैपक्षले सकेसम्म साम, दाम, दण्डभेदको प्रयोग गरे ।
‘मारामार’काबीचमा वडाध्यक्ष र चार वडा सदस्यमा एमालेका उम्मेदवारहरु बिजयी भए । चार वडा सदस्यमध्ये एक थिए हरिकुमार खत्री । २३ वर्षकै उमेरमा वडा सदस्य चुनिएका खत्री अहिले बिदेश जाने तरखबरमा छन् । वडाध्यक्ष लिलाकुमार चौहानका अनुसार चनावमा युवा साथीभाईलाई अगाडि–पछाडि लगाएर चुनावी मैदानमा उत्रिएका खत्री दुई तीन महिनादेखि वडा कार्यालयमा उपस्थित भएका छैनन् ।
यस्तै, हलेसी तुवाचुङ नगरपालिका–१० अर्खौलेका वडा सदस्य यादन राई सम्पर्क विहिन बनेको वर्ष दिन पुग्न लाग्यो । २०७९ मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनसम्म वडा कार्यालयमा उपस्थिति देखाएका वडा सदस्य राई त्यस यता सम्पर्क बिहिन बनेको अर्खौलेका वडाअध्यक्ष अर्जुन पुरी बताउँछन् । राई नेकपा माओवादी केन्द्रकातर्फबाट वडासदस्य निर्वाचित भएका थिए ।
“वडा कार्यालयमा हामीले प्रतिनिधिसभा सदस्यमा निर्वाचित रामकुमार राईलाई बधाई तथा शुभकामना दिने कार्यक्रम गर्दासम्म उहाँ हुनुहुन्थ्यो,” वडाध्यक्ष पुरीले भने, “त्यसपछि उहाँ सम्पर्क विहिन बन्नुभयो । फोन लाग्दैन । काठ्माडौं हुनुहुन्छ भन्ने सुनिन्छ । पहिला कोरिया बसेर आएकाले फेरी त्यही जाने प्रोसेसमा हुनुहुन्छ भन्ने सुनेको छु ।”
बेरोजगारी समस्या न्यूनीकरण हुनुको सट्टा झन् बिकराल बन्दैछ । अधिकांश युवाको मष्तिष्कमा ‘स्वदेशमा केही छैन’ भन्ने भाष्यले घर गरेको छ । आफ्नो ठाउँमा सम्भावना देख्नै छाडे । अधिकांश युवाले बैदेसिक रोजगारको विकल्प देख्न छाडेका छन् । हुँदाहुँदा स्थानीय तहमा रोजगारीको अवसर सिर्जना गर्नुपर्ने दायित्व बोकेका युवा जनप्रतिनिधि नै भविष्य बनाउन भन्दै बिदेसिइरहेका छन् ।
यसको जवाफेदी सम्वन्धित जनप्रतिनिधि र जिम्मेवार टिकट दिने दल हुनुपर्ने दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका मेयर तीर्थराज भट्टराई बताउँछन् । “बिदेश जानु आम युवाको वाध्यता हो । बिदेश जानुपर्ने वाध्यताका व्यक्तिलाई टिकट दिन हुन्नथ्यो वा उठ्नेले टिकट लिन हुन्नथ्यो,” भट्टराईले भने, “जनताले बिश्वास गरेर निर्वाचित गराइसकेपछि दल र जनप्रतिनिधि जिम्मेवार बन्न आवश्यक छ ।”