शनिवार, कार्तिक २५ २०८०
नेपाल वाइड
खोटाङ, २५ कात्तिक । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमको गणेशटारमा आयोजना गरिएको बोसे–आराखा अन्तर वडा स्तरिय फुटबल प्रतियोगीताको प्रथम पुरस्कार पिके अटो मोबाइल सेन्टर हलेसीले जितेको छ ।
स्थानीय किरात युवा समाज, गणेशटारको आयोजनामा शनिबार भएको फाइनल खेलमा साइनो स्पोर्टस् क्लव दुर्छिम (रातमाटे)लाई पछि पार्दै पिके अटो मोबाइल सेन्टरले प्रथम पुरस्कार आफ्नो पोल्टामा पारेको हो ।
पराजयसँगै साइनो स्पोर्टस् क्लवले दोश्रो पुरस्कार हात पारेको छ । गणेशटारमा निर्माण गरिएको दिलबहादुर–इन्द्र राई रंगशालामा आयोजना गरिएको प्रतियागीतामा साकेला सिली फुटबल क्लव दुर्छिम र मायाराजाहोँछा कोटगैरी सेमिफाइनलिष्ट बनेको खेल संयोजक शुभलाल राई (आदेस)ले जानकारी दिए ।

प्रतियोगीतामा प्रथम स्थान प्राप्त गर्ने टिमलाई २० हजार मूल्य पर्ने एउटा बोसे र दुई कठुवा आराखा, दोश्रो स्थान प्राप्त गर्ने टिमलाई १५ हजार बराबरको एउटा बोसे र दुई कठुवा आराखा तथा सेमिफाइनलिष्ट टिमलाई नगद ६ हजार र दुई कठुवा आराखा प्रदान गरिएको छ ।
पहिचानलाई जोडेर आयोजना गरिएको प्रतियोगीतामा खोटाङ र उदयपुरका गरी २२ टिमले प्रतिष्पर्धा गरेका थिए । कात्तिक २२ गते स्थानीय पुर्खा मिरासरी राईको उपस्थितिमा उद्घाटन गरिएको प्रतियोगीता प्रतिनिधिसभा सदस्य रामकुमार राई ‘पासाङ’को उपस्थितिमा समापन गरिएको छ ।
चाम्लिङ भाषामा बोसे भनेको सुँगुर र आराखा भनेको रक्सी हो । पहिचानलाई खेलकुदलाई जोडेर पहिचानको मुद्धालाई बलशाली बनाउन बोसे–आराखा अन्तर वडा स्तरिय फुटबल प्रतियोगीता आयोजना गरिएको खेल संयोजक राईले बताए । प्रतियोगीताका लागि विभिन्न स्थानीय युवा नेता तथा युवा व्यवसायीले आर्थिक सहयोग गरेका थिए । प्रतियोगीताका बिजेता टिम बोसे तान्दै फर्किएका छन् ।