खोटाङ, २६ कात्तिक । विद्युत सर्ट भएर आगलागी हुँदा खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ बुलागैरीका भीमबहादुर कट्वालको घर जलेको छ । लक्ष्मी पुजा मनाइरहँदा आइतबार राती मिटर बक्सबाट विद्युत सर्ट भएर घरमा आगलागी हुँदा कट्वालको अन्दाजी २५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ ।
मिटरबक्स नजिकै बलिरहेको बत्ती एक्कासी पड्किएर लाइन सर्ट हुँदा कट्वालको जस्तापाताले छाएको बरण्डा सहितको आठ कोठा भएको तीन तले घर तथा घरमा भएका धनमाल जलेको छिमेकी गणेश कार्कीले जानकारी दिए ।
आगलागीमा कट्वालको नगद दुई लाख, साँढे चार तोला सुन, पाँच तोला चाँदी, ११ वटा खाट, चार थान टेबल, एक थान टिभी, एक थान डिसहोम, चार थान बेञ्च, २० वाटको सोलार जलेको छ ।
यस्तै, तामाको चार वटा गाग्री, तीन वटा खलकुडा, छ थान कासे थाल, छ थान कासे आमखोरा, छ थान कासे बटुका, १७ थान स्टीलको थाल, ३६ थान स्टीलको बटुका, तीन थान सिल्भरको झेँगा, सिल्भरको दुई थान आरी, काठको दुई थान बाकस, ११ मुरी मकै, छ मुरी बदाम, ९० केजी चामल लगायत जलेर नष्ट भएको छ । तिहार मनाउने तरखर गरिरहँदा आगलागीमा घर जलेर खण्डहर बनेपछि कट्वालको ७ जनाको परिवार पूर्णरुपमा विस्थापित भएका छन् ।