खोटाङ, २७ कात्तिक । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटार दाल्फुका युवा केशीराज राईले विद्युतीय मिल सञ्चालनमा ल्याएपछि अन्न कुटानी पिसानी गर्न सहज भएको छ ।
अन्न पिस्न सदियौंदेखि जाँतो प्रयोग भइरहेको गाउँमा राईले विद्युतबाट चल्ने आधुनिक मिल सञ्चालनमा ल्याएका छन् । मिल सञ्चालनमा आएपछि स्थानीयलाई मकै, कोदो र धान पिस्न सहज भएको छ ।
मिलका कारण जाँतोमा लाग्ने श्रम र समयको बचत भएको स्थानीय भगसेर राईले बताए । दशैं तिहार जस्ता चाडवाडका कारण हिजोआज मिल दिनभर व्यस्त बनेको छ । चाडवाडका बेला मिलमा अन्न पिस्नेको भीड लाग्ने गरेको छ ।
गाउँमा विद्युत विस्तार भएसँगै राईले ८० हजारको खर्चमा मिल सञ्चालनमा ल्याएका हुन् । मिलमा प्रतिकेजी तीन रुपैयाँका दरले मकै, धान र कोदो पिस्ने गरिएको छ । मैदा (पिठो) प्रतिकेजी सात रुपैयाँका दरले पिस्ने गरिएको छ ।
बिशेषगरी बिहान र बेलुका जाँतो चलाउन बाध्य महिला मिलका कारण लाभान्वित भएका छन् । मिलमा गाउँका बाहेक हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाको मैतुङका स्थानीयले अन्न पिस्ने ल्याउने गरेको राईले बताए ।
रोजगारीका सिलसिलामा एक दशक बिदेश बसेर फर्किएका राईले दुई वर्षअघि उदयपुरको कटारीबाट मिलको उपकरण ल्याएर जडान गरेका हुन् । ढिँडो र रोटीका लागि स्थानीय मिलमा कोदो पिस्न जाने गरेका छन् ।
सिस्नु र लोकल कुखुराको मासुसँग खानका लागि मकैको च्याख्ला पिस्ने गरिएको छ । मिलका कारण परम्परागत रुपमा प्रयोग हुँदै आएको जाँतोको प्रयोगमा कमी हुँदैगएको छ । प्रायः गाउँघरमा हरेक घरमा जाँतोको प्रयोग हुँदैआएको छ ।