सोमवार, कार्तिक २७ २०८०
नेपाल वाइड
खोटाङ, २७ कात्तिक । आगलागीबाट बिस्थापित भएका खोटाङको हलेसी तुवाचुङ नगरपालिका–८ धितुङ बुलागैरीका भीमबहादुर कट्वाललाई जिल्ला प्रशासन कार्यालय र नेपाल रेडक्रस सोसाइटीले राहत प्रदान गरेको छ ।
आइतबार राती विद्यूत सट हुँदा सल्किएको आगोले घर जल्दा बिस्थापित भएका कट्वाल परिवारलाई जिल्ला प्रशासन कार्यालयले विपद व्यवस्थापन कोषबाट १५ हजार र रेडक्रसले बन्दोबस्तीका सामान प्रदान गरेको हो ।
सोमबार घट्नास्थलमै पुगेर प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले अग्नी पिडितलाई विपद व्यवस्थापन कोषको रकम हस्तान्तरण गरेका छन् ।
यस्तै, रेडक्रसकातर्फबाट एक थान त्रिपाल, तीन थान कम्बल, दुई थान म्याट्रेस, दुई थान बाल्टी, एक सेट भाँडाकुडा, दुई मुठा डोरी, दुई थान पेन्ट कपडा, दुई थान प्रिन्ट कपडा, दुई थान सादा कपडा, दुई पिस साडी र एक थान झुल प्रदान गरिएको नेपाल रेडक्रस सोसाइटी खोटाङका मन्त्री छत्रकुमार बजिमयले बताए ।
विद्युत सर्ट भएर घरमा आगलागी हुँदा कट्वालको अन्दाजी २५ लाख बराबरको धनमाल जलेर नष्ट भएको छ । मिटरबक्स नजिकै बलिरहेको बत्ती एक्कासी पड्किएर लाइन सर्ट हुँदा कट्वालको जस्तापाताले छाएको बरण्डा सहितको आठ कोठा भएको तीन तले घर तथा घरमा भएका धनमाल जलेको छिमेकी गणेश कार्कीले जानकारी दिए । तिहार मनाउने तरखर गरिरहँदा आगलागीमा घर जलेर खण्डहर बनेपछि कट्वालको ७ जनाको परिवार पूर्णरुपमा विस्थापित भएका छन् ।