शनिवार, मंसिर २ २०८०
नेपाल वाइड
खोटाङ, २ मंसिर । खोटाङमा ट्याक्टर दुर्घटनामा परी पूर्ण अपांग भएका युवालाई आर्थिक सहयोग जुटाइएको छ । २०७८ मंसिर १६ गते भएको ट्याक्टर दुर्घटनामा परी ओछ्यानमा थलिएका दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–२ सोल्माका निसन परियारलाई आफन्त तथा छिमेकीले चन्दा उठाएर १९ हजार १५५ सहयोग गरेका हुन् । दिसापिसाव नै ओछ्यानमा गर्नुपर्ने अवस्थामा पुगेका परियारको सहयोगका लागि दिक्तेल बहुमुखी क्याम्पस आसपासका आफन्त तथा छिमेकीले आर्थिक सहयोग संकलन गरेका थिए ।
संकलित रकम शुक्रबार स्थानीय ज्येष्ठ नागरिक ईश्वरमान राई र लाखधन राईले निसनकी आमा पिपला दर्जीलाई हस्तान्तरण गरेका छन् । दुर्घटनाका कारण हल न चल भएर ओछ्यानमा लडिरहेका परियारको सहज जीवनयापनका लागि सहयोग संकलन गरेर प्रदान गरिएको स्थानीय एबं रावाबेँसी गाउँपालिकाका उपाध्यक्ष कौशिला गुरुङले जानकारी दिनुभयो ।
परियार ट्याक्टरमा सहचालकको रुपमा काम गर्दैआएका थिए । दुर्घटनापछि उनको कम्मरमुनिको भाग नचल्ने अवस्थामा पुगेको छ । अस्पतालमा ६ महिनासम्म उपचार गर्दा पनि निको नभएपछि उनलाई घरमा फर्काएर राखिएको हो ।