Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    खोटाङमा बेपत्ता वृद्धको शव सडिसकेको अवस्थामा फेला

    खोटाङमा बेपत्ता वृद्धको शव सडिसकेको अवस्थामा फेला


    • आइतवार, मंसिर ३ २०८०

    • नेपाल वाइड


    खोटाङमा बेपत्ता वृद्धको शव सडिसकेको अवस्थामा फेला
    मृत फेला परेका ९३ वर्षीय वृद्ध बिष्णुबहादुर राई ।

    खोटाङ, ३ मंसिर । खोटाङको हलेसी तुवाचुङ नगरपालिका–९ सल्ले आम्बोटेका ९३ वर्षीय वृद्ध बिष्णुबहादुर राई मृत फेला परेका छन् । हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान हलेसीस्थित नातिनी ज्वाइँको घरमा एक रात पाहुना बसेर सल्ले जानेक्रममा गत कात्तिक १३ गतेदेखि बेपत्ता बनेका बृद्ध आइतबार सल्लेकै चिचिङ्गा जंगलमा मृत फेला परेका हुन् ।

    वृद्धको शव सडेर चिन्न नसकिने अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी पुरुषोत्तम खड्काले बताए । अनुहारबाट चिन्न नसकिने अवस्थामा भेटिएको शवलाई आफन्तले पहिचान गरेको प्रहरीले जनाएको छ ।

    घटनाको विषयमा थप अनुसन्धान तथा कानूनी प्रकृयाको लागि इलाका प्रहरी कार्यालय हलेसीबाट प्रहरी निरिक्षक दिनेश अधिकारीको कमाण्डमा प्रहरीको टोली खटाइएको डिएसपी खड्काले जानकारी दिए । हाल उदयपुरको त्रियुगा नगरपालिका–१३ गाईघाट असारी बस्दैआएका बृद्ध गत कात्तिक १२ गते नातिनी ज्वाइँको घरमा पाहुना बसेर भोलीपल्ट सल्ले जानेक्रममा बेपत्ता बनेका थिए ।

    सल्ले जानेक्रममा गैरीगुठ हुँदै बिहान ११ बजे अँधेरी खोलासम्म पुगेको जानकारी आएको तर त्यसपछि वृद्ध बेपत्ता बनेका थिए । बृद्ध राई महिनामा दुई तीन पटक गाईघाटबाट सल्ले आउने जाने गर्दैआएका थिए । यसअघि नातिनी ज्वाइँले हलेसीबाट बाईक वा अटोमा सल्ले पु¥याइदिने गरेकामा यसपल्ट भने वृद्ध ‘आफै जान्छु’ भन्दै हिँडेका थिए ।

    सम्बन्धित समाचार