सोमवार, मंसिर ४ २०८०
दमन राई
खोटाङ, ४ मंसिर । राई समुदायमा चाडवाडका समयमा आफन्तकहाँ पाहुना जाँदा कोसेली स्वरुप जाँडरक्सी, भुटेको मासु, सेल रोटी, अचार, केरा लगायत लैजाने प्रचलन छ । कोसेलीपातमध्ये जाँड रक्सी अनिवार्य प्रयोग हुन्छ ।
तर, समयक्रमसँगै कोसेली संस्कृति फेरिँदो छ । खोटाङको हलेसी तुवाचुङ नगरपालिकाको च्यास्मीटार, बाहुनीडाँडा, डिकुवा, बडहरे, दुर्छिम लगायतका स्थानमा पछिल्लो समय कोसेलीपातमा जाँड रक्सीसँगै ड्यु, कोक, स्प्राईट, चाउचाउ, विस्कुट, चकलेट लगायतका जङ्कफुडको अधिक प्रयोग हुन थालेको छ ।
पहिला अर्गानिक कोसेली प्रयोग हुने गरेकोमा हाल कोसेलीमा जंकफुडको प्रयोग बढेको हलेसी तुवाचुङ नगरपालिका–३ च्यास्मीटारका पुर्ववडाध्यक्ष भलाराज राई बताउँछन् । “पहिलाको कोसेली लोकल हुन्थ्यो, अर्गानिक थियो भने अहिले जंकफुड प्रयोग भइरहेको छ । रेडीमेड छ,” राईले भने, “अहिले सबैले लोकल उत्पादन बोक्न छाड्यो । रेडिमेडले गर्दा स्वास्थ्यमा नकरात्मक असर परिरहेको छ ।”
दशैं तिहार, साकेला लगायतका चाडवाडका बेला भेटघाटमा आएका चेलीबेटी तथा पाहुनापाछाले झोलामा केही बोत्तल ड्यू, कोक, स्प्राईटका साथमा बिस्कुट, चाउचाउ, मिठाई, चकलेट ल्याउने/लैजाने गरेका छन् ।
सहजरुपमा जताततै पाइने र जाँडरक्सी नखानेका लागि भन्दै ड्यू, कोक लगायतका कोसेली अधिक मात्रामा प्रचलनमा आएको हो । भर्खरै बिदाइ भएको दशैंमा टिका थाप्नका लागि आउने पाहुना तथा तिहारमा भाइटिका लगाइदिने चेलीबेटीले विदेसी रक्सीसँगै ड्यू, कोक, बिस्कुट, चाउचाउ लगायत कोसेली ल्याएको हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडाका वडाध्यक्ष रुद्र राई बताउँछन् ।

तिहारकोबेला एक जना चेलीले कम्तीमा पाँच/छ हजारको पेय पदार्थ र प्लाष्टिकमा प्याक गरिएका खाद्य पदार्थ किन्ने गरेका छन् । जसका कारण कोसेलीपातका लागि एउटै टोलमा लाखौंको ड्यू, कोक स्प्राईट खरिद हुने गरेको छ ।
सडकको सहज पहुँच विस्तारसँगै पहाडी क्षेत्रका बजार तथा पसलमा ड्यू, कोक, बिस्कुट, चाउचाउ पाउन थालेपछि यसलाई कोसेलीका रुपमा पनि प्रयोग गर्न थालिएको हो । रम, बियर जस्ता पेय पदार्थ उत्तिकै प्रयोग भइरहेको छ ।
“पहिला कोसेलीमा भाती जाँड वा मकैको जाँड भए पनि हुन्थ्यो । आफ्नै घरमा तीन/चार पाने रक्सी बनाएर लैजाने चलन थियो । तिहारको बेला एक फ्यांगा केरा, रोटी, रक्सी आउथ्यो । अहिले त एकैचोटी ड्यु ल्याउँछन्, कोकहरु ल्याउँछन् । किसमिस जस्ता प्याकेजिङका खानेकुराहरु ल्याउँछन्,” वडाध्यक्ष राईले भने, “एक काटन बियर ल्यायो भने त्यहीअनुसार दक्षिणा दिनुपर्ने हुन्छ ।
घरगाउँको उत्पादन घटेर आयो । सामान्य एक जना चेलीले एउटा तिहारमा चार/पाँच हजार खर्च गर्छन् । धेरै पैसा भएर विदेशलाई सुम्पिए जस्तो भो । एक खालको बिकृति आएको छ । यसलाई समाजबाट हटाउन सोच्नुपर्ने स्थिति आएको छ ।”
चाडवाडमा कोसेलीका रुपमा मात्र नभएर अन्य बेला पनि घरमा आउने पाहुना तथा नातागोतालाई खुवाउनका लागि समेत कोल्ड ड्रिंक्सका साथमा जंकफुड ल्याएर राख्ने प्रचलन बढेको छ ।
घुमडुल गर्दै एक गाउँबाट अर्को गाउँमा पुग्दा कोल्ड ड्रिंक्सकै प्रयोग भइरहेको पाइन्छ । हलेसी तुवाचुङ नगरपालिका लगायतका पालिकामा करिब एक/दुई दशकदेखि कोसेलीका रुपमा ड्यू, कोक, बिस्कुट, चाउचाउ प्रयोगमा आएको अनुमान छ ।
विगतका समय पेय पदार्थ बोक्नका लागि शिशाको बोत्तल प्रयोग गर्ने गरिएकामा हाल ड्यू, कोकको बोत्तल समेत प्रयोग हुन थालेको छ । गाउँघरमा ड्यूका जम्बो बोत्तलमा पानी समेत ओसार्ने गरिएको देख्न सकिन्छ ।
हलेसी तुवाचुङ नगरपालिकाका अधिकांश वडालाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरिएको छ । नगरका अधिकांश क्षेत्रका पशलमा टनाटन ड्यू र कोक पाइँदा पिउने पानी पाउन मुस्किल छ । सोही कारण पिउने पानी माग्ने बटुवालाई ‘डयू पिउन’ आग्रह गर्ने गरिएको छ ।