Logo
  • बिहिवार, कार्तिक १३ २०८३Oct 29 2026

  • images
    images

    आगलागीमा ज्यान जोगाउन भाग्नेक्रममा लडेर घाइते भएकी बालिकाको उपचार गाउँपालिकाले गरिदिने

    आगलागीमा ज्यान जोगाउन भाग्नेक्रममा लडेर घाइते भएकी बालिकाको उपचार गाउँपालिकाले गरिदिने


    • सोमवार, मंसिर ४ २०८०

    • नेपाल वाइड


    आगलागीमा ज्यान जोगाउन भाग्नेक्रममा लडेर घाइते भएकी बालिकाको उपचार गाउँपालिकाले गरिदिने
    घरमा आगलागी सुरु भएपछि भाग्ने क्रममा गम्भीर घाइते भएकी सरिता तामाङ ।

    खोटाङ, ४ मंसिर । खोटाङको केपिलासगढी गाउँपालिकाले आगलागीका बेला ज्यान जोगाउन भाग्नेक्रममा लडेर गम्भीर घाइते भएकी बालिकाको उपचार गरिदिने भएको छ ।

    मंसिर ३ गते राती मावली घर केपिलासगढी गाउँपालिका–४ बाक्सिलाका किशोर राईको घरमा आगलागी सुरु भएपछि भाग्ने क्रममा दुई तलामाथिबाट हाम फाल्दा घाइते भएकी १५ वर्षकी सरिता तामाङको उपचार गरिदिने भएको हो ।

    घटना लगत्तै टिचिङ अस्पताल काठमाडौंमा पुर्‍याइएकी बालिकाको उपचारका क्रममा आर्थिक समस्या भएपछि केपिलासगढी गाउँपालिकाका अध्यक्ष समिर राईले उपचारमा लाग्ने सम्पूर्ण खर्च गाउँपालिकाकातर्फबाट बेहोर्ने जानकारी दिएका छन् ।

    सुतिरहेको अवस्थामा आगलागी सुरु भएपछि ज्यान जोगाउन भाग्ने क्रममा लडेकी सरिताको बायाँ हात र तीन वटा दाँत भाँचिएको छ । एक्स–रे गर्दा दाहिने खुट्टाको घुँडामुनिको हाड चोइटिएको देखिएको हाल टिचिङ अस्पतालमा रहेका स्थानीय प्रताप राईले जानकारी दिए ।

    बालिकाको मुखमा लागेको चोटमा १८ टाँका हालिएको छ । परिवारमा अर्मपर्म गरेर गुजारा चलाउनुपर्ने अवस्था भएका कारण घाइते किशोरीको उपचारकालागि आफन्त तथा शुभेच्छुकले सहयोग संकलन गर्न अभियान सुरु गरिसकेका थिए ।

    घाइते किशोरीलाई स्थानीय क्लिनिकमा सामान्य उपचार गरेर काठमाडौं पठाइएको थियो । घाइते बालिका पृथ्बी माबि बाक्सिलामा कक्षा ९ मा अध्ययनरत छिन् ।

    आगलागीमा राईको तीन तले घर सँगै घरमा राखिएको दुई तोला सुन, चार तोला चाँदी, ब्रोइलर कुखुराको १५ वटा चल्ला, अन्नपात, भाँडावर्तन, काठपात, लत्ताकपडा लगायत जल्दा १५ लाख बराबरको क्षती भएको प्रहरीले जनाएको छ ।

    सम्बन्धित समाचार